बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वास्थ्य मन्त्रालय’ मा गिरीराजमणिको मोह

बुधबार, ११ साउन २०७४, ११ : ००
बुधबार, ११ साउन २०७४

काठमाडौं– चुनावको समीक्षा गर्न साउन २ देखि ६ गतेसम्म नेकपा माओवादी केन्द्रको ‘सेक्रेटरियट’ बैठक बस्यो । बैठकमा पार्टीका नेताहरुको सत्तामोहको विषयमा  नेता अमिक शेरचन कडा रुपमा प्रस्तुत भए । शान्ति प्रक्रियामा आएयता माओवादीभित्रका केही सिमित मात्र पटक पटक शक्तिमा पुगेकोमा उनले आक्रोश व्यक्त गरेका थिए ।  


सेक्रेटरियट बैठकको अन्तिमतिर धारणा राख्दै पार्टीका जेष्ठ सदस्य समेत रहेका अमिक शेरचनले पार्टीबाट एउटै व्यक्तिलाई पटक–पटक मन्त्री दोहोर्याउन नहुनेमा जोड दिएका थिए । 


पार्टीभित्र एक समूहले स्वास्थ्य मन्त्रालयमा बार्गेनिङ गरिरहेको संकेत गर्दै शेरचनले स्वास्थ्यको विकृत पक्षको नालीबेली खोतल्दै बैठकमा यसरी सुनाएका थिए, ‘म पनि एक पटक स्वास्थ्यमन्त्री भएँ । मन्त्रालय सामान्य हो भन्ने लागेको थियो । जनताको सेवा गर्ने मन्त्रालय भन्ने पनि लागेको थियो । तर स्वास्थ्य सबैभन्दा घुस्याहाहरुको अखडा रैछ । मैले त बेस्सरी हप्काएँ । अर्बौंअर्बौंको भ्रष्टाचार हुनेरहेछ । त्यहाँ जान साथीहरु किन मरिहत्ते गर्छन् ?’


यसरी बैठकमा शेरचनले मन्त्रालयमा पटक–पटक एउटै व्यक्तिले किन मरिहत्ते गर्छन् भन्दै प्रश्न गरेपछि आफ्नो बोल्ने पालोमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जनताको सेवा गर्ने उद्देश्यमात्रै मन्त्रीको हुनुपर्ने बताएको एक नेताले बताए ।  उनले भनेका थिए, ‘राम्रो छबी भएकाहरु  पटक–पटक  गएपनि केहि फरक पर्दैन ।  मन्त्री दोहोरयाउँदा आकाशै खस्दैन ।’


यसरी आफ्नो खेमाबाट गिरीराजमणि पोखरेलको नाम स्वास्थ्यमा लबिङ भइरहेको बेला बैठकमा अमिक शेरचनले  गरेको विरोधको  नारायणकाजीले बचाउ गरेका हुन् । 


विरोधका बीच यीनै पोखरेललाई अहिले माओवादीले स्वास्थयमन्त्री बनाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको माओवादी हेडक्वार्टर बैठकले गिरीराजमणिलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय गरेको हो ।  स्वास्थयमा पोखरेलको यो तेस्रो यात्रा हो भने मन्त्री बनेको चौथो पटक हो ।


२०६२–०६३ को जनआन्दोलनपछि माओवादी शाति प्रक्रियामा आएपछि ०६४ बैशाखमा बनेको तत्कालिन काँग्रेस सभापति गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका थिए । यस्तै ०६५ भदौमा प्रचण्ड प्रम हुँदा पुनः स्वास्थ्यमन्त्री नै बनेका उनी ०७२ असोजमा  केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए भने अहिले (०७४ साउन) फेरि स्वास्थयमन्त्री नै बन्न लागेका हुन् ।


अमिक शेरचनले भनेजस्तै अर्बौंअर्बौंको भ्रष्टाचार हुने भनिएको मन्त्रालयमा किन पोखरेलको चासो रहँदै आएको छ ? माओवादीभित्र यो सवाल अहिले खोज्न थालिएको छ ।  


मधेसी जनअघिकार फोरमका नेता विजयकुमार गच्छदार जस्तै माओवादीभित्र पनि पदको लागि मरिहत्ते गर्नेहरु देखिन थालिएको माओवादीका एक नेताले असन्तुष्टि पोखे ।


'माओवादीभित्र कृष्णबहादुर महरा ५ पटक आकर्षक मन्त्रालयसहितका मन्त्री बने । अहिले फेरि महराकै हाराहारीमा  गिरीराजमणि पोखरेल आकर्षक मन्त्रालयसहित ४ पटक मन्त्री बनेका छन्’, उनले भने, ‘माओवादीभित्र पनि गच्छदारकरण भयो । यो कम्युनिष्टहरुको सकारात्मक पक्ष होइन ।’


माओवादीभित्र पद र शक्तिका लागि धेरै लाभ लिनेहरुले गर्दा इमान्दार नेता कार्यकर्तामा निराशा छाएको समेत ति नेताले भने ।  महराले गच्छदारको पदचाप पछ्याउँदै सत्तावरिपरी रहने गरेको तितो यथार्थ रहेकै अवस्थामा फेरि गिरीराजमणि पनि सोहि बाटोमा अग्रसर रहँदा माओवादीभित्र तीब्र आक्रोश र असन्तुष्टि पैदा हुनलाई स्वाभाविक नै हो ।


माओवादीभित्र मन्त्री बन्न लायक धेरै अनुहार हुँदाहुँदै पनि महरालाई जस्तै गिरीराजमणि पोखरेललाई पनि मन्त्रीमा दोहोर्याइनु बनाइनु गलत भएको अर्को माओवादी नेताको भनाई छ ।


नेतृत्वले स्वास्थ्यमन्त्री रामनाराण विडारीलाई बनाउने गरी छलफल थाल्दा उनले असन्तुष्टि जनाएको प्रचण्ड निकट स्रोत बताउँछ ।


नारायणकाजी समूहमै असन्तुष्टि
नारायणकाजी श्रेष्ठ समूह निकट मानिने पोखरेल पुनः मन्त्री बनेपछि सो समूहमा नै पनि असन्तुष्टि बढेको छ । सो समूहका एक असन्तुष्ट नेताले भने, ‘मन्त्री हुन लायक  पोखरेलमात्रै थिएनन्, एकै व्यक्ति पटक–पटक मन्त्री हुनु राम्रो भएन ।’  स्वास्थ्यमन्त्रीमा चर्चामा रहेको नाम रामनारायण विडारी पनि श्रेष्ठ निकटकै मानिन्छन् । 

य सो त स्वास्थ्यसँगै   गिरीराजमणिले थप आकर्षक मानिने भौतिक  योजना मन्त्रालयसमेत  मागेको बताइन्छ ।  पोखरेलको पटक पटक मन्त्री बन्ने रहस्य जान्न रातोपाटीले सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप