शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकताबारे अन्तर पार्टी महिला सञ्जालको ६ सुझाव

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : २९
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– अन्तरपार्टी महिला सञ्जालले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे ६ वटा सुझाव दिएको छ । सञ्जालले यी सुझाव विभिन्न पार्टीका सचेतकहरुलाई बुझाउदै आएको छ । हाल यो विधेयक संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ । 

मंगलबार सञ्जालले आफ्नो सुझाव राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बुझाएको छ । सुझावमा बाबुसरह आमाका नामबाट समेत सन्तानले नागरिकता लिनसक्ने व्यवस्था गर्न माग गरिएको छ । 
संसदमा यो विधेयक प्रस्तुत भएदेखि नै ध्यान केन्द्रीत भएको छ ।

सञ्जालले संविधानको धारा ११ उपधारा (२) खण्ड ख मा व्यवस्था भएको ‘कुनै व्यक्ति जन्म हुदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति’ वंशजको आधारमा नागरिक बन्ने जो व्यवस्था भएको छ यसलाई कसरी सहजता पूर्वक कार्यान्वयन गर्ने ? भनेर प्रश्न गरेको छ । त्यस्तै नेपाल नागरिकता ऐन २०६३ लाई कसरी लैङ्गिक तटस्थ वा लैङ्गिक मैत्री पूर्ण बनाउने ? भन्दै ६ सुझाव समेटेको छ ।

 सुझावहरु 
  १. संविधानको धारा ११ (२) ख मा व्यवस्था भए अनुरुप नेपाली नागरिक महिलाका सन्तानले आमाको नामबाट सहजता पूर्वक नागरिकता लिन सक्ने व्यवस्था गरियोस् । 

 २.विदेशी नागरिकसग वैवाहिक सम्बन्ध कायम गरेका नेपाली नागरिक पुरुषका सन्तान वंशजको नागरिक हुने र महिलाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित हुने वा प्राप्त गरिहाले पनि अंगिकृत   नागरिक हुने विभेदकारी व्यवस्थाको अन्त्य गरियोस् । 

३. ऐनमा “बाबुको पहिचान खुल्न नसकेको” जस्ता अपमान जनक भाषाको प्रयोग नगरियोस् । 

 ४.नेपाली नागरिक महिलाबाट जन्मिएको व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न नेपालमा नै जन्मिएको हुनु पर्ने बाध्यकारी व्यवस्था ऐनबाट हटाईयोस् । 


 ५.नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध राख्ने विदेशी नागरिक पुरुष र महिलालाई नेपालको वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न समान प्रावधानको व्यवस्था गरियोस् । 

 ६.हालसम्म नागरिकता प्राप्त गर्न नसकेका एकल वृद्ध महिलाहरुलाई सहजतापूर्वक नागरिकता प्राप्त गर्ने व्यवस्था गरियोस् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप