बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन भयो भारतीय कम्पनीबिरुद्ध अष्ट्रेलियामा विशाल प्रदर्शन ?

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : १८
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी– जबदेखि भारतको अडाणी समूह अष्ट्रेलियाको खानी व्यवसायमा उत्र्यो, त्यो बेलोदखि नै उसको विरोध भइरहेको छ । अघिल्लो शनिबार अडाणी समूहविरुद्ध अष्ट्रेलियाका विभिन्न सहरहरुमा विरोध प्रदर्शन भयो । यो प्रदर्शनमा विद्यार्थीहरु पनि सामेल रहे । ब्रिटिश पत्रिका गार्डियनका अनुसार अस्ट्रेलियाका प्रमुख सहरहरु मेलबर्न, सिड्नी, ब्रिसबेन र केयर्समा भएका यी विरोध प्रदर्शनहरुमा १५ हजार विद्यार्थीहरुले भाग लिएका थिए । 

छात्र छात्राले हातमा ‘स्टप अडाणी (अडाणीलाई रोक)’ लेखेको प्लेकार्ड लिएर प्रदर्शनमा सहभागी भएका थिए । ब्रिसबेनमा हजारौं मानिसहरुले अडाणी समूहको मुख्यालय बाहिर प्रदर्शन गरे । 

‘अष्ट्रेलियन यूथ क्लाइमेट कोलिसन’ नामको संगठनको भनाईमा मेलर्बनमा मात्रै लगभग पाँच हजार मानिसहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए ।  मध्य क्विन्सल्याण्डको ग्यालिली बेसिनमा रहेको अडाणी समूहको १६.५ अर्ब अमेरिकी डलरको ‘कारमाइकल कोइला खानी’ परियोजनाबिरुद्ध अष्ट्रेलियामा लगातार विरोध प्रदर्शन भइरहेको छ । यो विगत आठ वर्षदेखि नै विवादको घेरा छ । 

प्रदर्शनमा सामेल भएका २४ वर्षिया क्वीन्सल्याण्ड युनिर्सिटीकी छात्रा अप्रिल म्याकेबले ग्यालिली बेसिनस्थित कारमाइकल खानीले गर्दा पर्यावरणमा ठूलो क्षति पुग्ने देखिएपछि युवाहरु विरोधमा उत्रन बाध्य भएको बताए । ‘अहिलेसम्म मानिसहरु यसबारेमा कुरा गरिरहेका थिए, तर अब मानिसहरु यसको विरुद्ध प्रदर्शन पनि गर्न थालेका छन्,’  उनले भने ।

सिड्नीमा भएको प्रदर्शनमा सामेल मानिसहरुले ‘देयर इज नो प्लानेट बी’(हामीहरुसँग बस्नको लागि अर्को ग्रह छैन), ‘म दावाका साथ भन्न सक्छु कि डाइनोसरले पनि आफूहरुसँग समय बाँकी रहेको सोचेका थिए होलान्’ र ‘मौसम बदलिरहेको छ, हामीचाहीँ किन बदलिएका छैनौं ?’ आदि लेखेको ब्यानरहरु बोेकेका थिए । 

एजेन्सीको रिपोर्टअनुसार, पर्यावरणविदहरुले यसबाट ग्रेट ब्यारियर रिफमाथि ठूलो हानी पुग्ने चेतावनी दिएका छन् ।  अडाणीको यो परियोजनाले सन् २०१५ मा तब ठूलो झड्का भोग्यो जब सिड्नीको एक संघीय अदालतले यसलाई दिइएको पर्यावरणीय मन्जूरीलाई फिर्ता लिने फैसला गर्यो । 

कोइला खानी परियोजनाविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुको आलोचना गरेपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनविरुद्ध पनि यही डिसेम्बर ५ मा प्रदर्शन भएको थियो ।  अडाणी समुहको यो कोईला खानी परियोजना चर्चि ‘द ग्रेट ब्यारियर रिफ’ को नजिक रहेको छ । रिफ अष्ट्रेलियाको निक्कै सुन्दर पर्यटन स्थल हो,  जहाँ ६०० भन्दा बढी प्रकारको मुगा (कोरल) पाइन्छ । यहाँ रंगी–बिरंगी माछा, शार्क, डाल्फिन र स्टारफिस पाइन्छ । यो परियोजनाले यी सबै जीवहरुमाथि खराब असर पर्नेछ । 

पर्यावरणविद्हरुका अनुसार खानीबाट कोइला ‘लोड’ गरिएका जहाजहरु ‘द ग्रेट ब्यारियर रिफ’ हुँदै आवतजावत गर्ने भएकाले समुन्द्री जीवको जीवनमा नकारात्मक असर पर्छ ।  अष्ट्रेलियाको एक ठूलो तप्का यस परियोजनाको विरोध गरिरहेका छन् । यसमा अष्ट्रेलियाका पूर्व क्रिकेटर बन्धु इयान र ग्रेग च्यापल पनि समावेश छन् । उनीहरुको भनाईमा यो परियोजना पर्यावरण विरोधी छ । च्यापल दाजुभाईहरुले यो परियोजनाको कारण अष्ट्रेलियामा भारतको छवि पनि खराब हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप