शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगी आदित्यनाथको दर्शनपछि मात्र राजपाको बैठक बस्ने, उपेन्द्रले आदित्यनाथलाई नभेट्ने

मङ्गलबार, २५ मङ्सिर २०७५, १३ : २२
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र देखिएको आन्तरिक विवादका कारण पार्टीको बैठक झनै अन्योल बनेको छ ।  मंसिर ४ गते बसेको सचिवालयको बैठकले अध्यक्षमण्डल संयोजक फेरिएपछि उत्पन्न विवादले पुनः अर्को बैठक बस्न सकेको छैन । पटक–पटक स्थगित भएको राजपा नेपालको बैठक अब विवाह पञ्चमीपछि मात्र बस्ने भनिएको छ । 

मंसिर २६ गते जनकपुरमा हुने विवाह पञ्चमीमा जन्तीको रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् । योगी आदित्यनाथसँग भेटघाट तथा विवाह महोत्सवमा सहभागीका लागि प्रदेश २ सरकारले राजपा नेपालका अध्यक्षमण्डलाई निमन्त्रणा पठाएका छन् । 

सो निमन्त्रणालाई स्वीकार गर्दै उनीहरु सबैजना जनकपुर जाने भएपछि बैठक विवाह पञ्चमीपछि बस्ने भएको छ । विवाह पञ्चमीपछि पनि बस्नेकि नबस्ने निश्चित भएको छैन ।  अध्यक्षमण्डलको संयोजकत्वमा राजेन्द्र महतो आएपछि उनले मंसिर १० गतेका लागि अध्यक्षमण्डलको बैठक बोलाएका थिए । सो बैठकमा महन्थ ठाकुरले स्वास्थ्यका कारण अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो । त्यसको भोलिपल्ट बस्ने बैठकमा पनि ठाकुर उपस्थित नहुने भएपछि सो बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 

बैठक अनिश्चित भएपछि अध्यक्षमण्डलका संयोजक महतो महन्थ ठाकुरलाई फकाउन सानोठिमीस्थित उनको निवास पुगेका थिए । अध्यक्षमण्डलको बैठक नबस्दा गलत सन्देश गइरहेको छ, बैठक नबसेपनि एकचोटी पार्टी कार्यालय गइ दिएपनि हुने भन्दै उनलाई फकाएर पार्टी कार्यालयसम्म ल्याएका थिए ।

ठाकुर पार्टी कार्यालय आएपछि अध्यक्षमण्डलका संयोजक महतोसहित महेन्द्र राय यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी उनकै कार्यकक्षमा गएका थिए । ठाकुरले आफू उपचारका लागि दिल्ली गइरहेको उताबाट फर्केपछि मात्र बैठक बस्छ, त्यो अवधिमा तपाईहरुले बैठकको एजेण्डा र विषयवस्तुको तयारी गर्नुस् भनि कार्यालयबाट निस्केका थिए । 

मंसिर १६ गते दिल्ली पुगेका ठाकुर २२ गते उपचार गराएर फर्केका थिए । उनी दिल्लीबाट फर्केको आज चार दिन भइसक्यो तर यो बीचमा बैठक बसाउने कुनै सुरसार भएन । महन्थ ठाकुर दिल्लीमा हुँदा यता काठमाडौंमा कुनै तयारी बैठक पनि बसेन । 

महन्थ ठाकुर दिल्ली गएको बेला अध्यक्षमण्डलका अन्य नेताहरु बरु मधेश झरे । कोही आफ्नो गृह जिल्ला गए भने कोही अन्य कार्यक्रममा सहभागी भए ।  अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बैठक बस्ने तयारी भइरहेको छ, विवाह पञ्चमीपछि अर्को बैठक बस्ने बताए । नेताहरु यो बीचमा आ–आफ्नो क्षेत्रमा व्यस्त भएका कारण बैठक बस्न नसकेको हो, विवाह पञ्चमीपछि बस्ने उनले बताए ।

मुख्यमन्त्री राउतले योगी आदित्यनाथलाई मधेश भवनमा दिएको दिवा भोजमा अध्यक्षमण्डलका नेताहरुसँग भेटघाटको समय छुट्याएका छन् । २६ गते आउने योगी आदित्यनाथ जानकी मन्दिरमा पुजा गरेर मधेश भवनमा प्रदेश २ का मुुख्यमन्त्रीले आयोजना गर्ने दिवा भोजमा भोजनका लागि जानेछन् । 

त्यहाँ भोजनसँगै विभिन्न नेताहरुसँग भेटघाटको पनि कार्यक्रम राखिएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि सो कार्यक्रमका लागि निमन्त्रणा गरिएको छ । तर, स्वास्थ्य सम्बन्धी एक अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी आजै भारतको दिल्ली जान लागेका हुनाले त्यसमा सहभागी नहुने निश्चित भएको छ । 

मधेश आन्दोलनको समयमा उपेन्द्र यादव अर्धभूमिगत हुँदा योगी आदित्यनाथसँग उनको राम्रो दोस्ती थियो । भारतको गोरखपुर गएर आदित्यनाथलाई उनले पटक–पटक भेटेर मधेशसँग सम्बन्धित विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी गराएका थिए । त्यसबेला यी दुईको सम्बन्धलाई लिएर नेपालमा निकै चर्चा भएको थियो ।

अहिले आदित्यनाथ नेपाल आउन लाग्दा भने उनी दिल्ली जान लागेका हुन् । यद्यपि, उपेन्द्र यादवको यो दिल्ली जाने कार्यक्रम पहिलानै तय भएको थियो । 
  
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप