शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा आदित्यनाथ : ड्रोनको गस्तीदेखि ५ हजार सुरक्षाकर्मी परिचालन

मङ्गलबार, २५ मङ्सिर २०७५, १० : १०
मङ्गलबार, २५ मङ्सिर २०७५

जनकपुर । सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट औपचारिकरुपमा जन्ती घोडा, रथ, उटसहितमा सवार भई आइसकेका छन् भने अझै पनि धर्मावलम्बीहरु आउने क्रम जारी नै छ ।

विवाह पञ्चमीको अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मुख्यमन्त्री आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर भोलि बुधबार आउने छन् ।

यसपालि विवाह पञ्चमी महोत्सवमा १० लाख भन्दा बढी संख्यामा श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ । अत्याधिक भीडभाड हुने र विभिन्न किसिमको घटना घट्न सक्ने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराको प्रयोग गरिने भएको छ भने  अत्याधुनिक ¥यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी सोहि माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको छ । 

त्यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए ।

सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबारदेखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् । 

महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् ।

सवारी साधनको चाप बढेपछि मंगलबारदेखि नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइने भएको छ । जनकपुर नगरक्षेत्रमा प्रवेश गर्ने चार वटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने तयारी गरिएको छ ।

त्यस्तै यसपालि विवाहपञ्चमी महोत्सवको लागि प्रदेश नम्बर २ को ८ वटै जिल्लाबाट करिब ५ हजारभन्दा बढी सुरक्षानिकायको परिचालन गरिएको छ । त्यस्तै, सादा पोसाकका प्रहरी तथा अनुसन्धानकर्मीहरु पनि भारी मात्रामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मुख्यमन्त्री आदित्यनाथका लागि भारतबाट बुलेटप्रुफ गाडी जनकपुर आइसकेको छ । यस बाहकेक विशेष सुरक्षामा ज्यामर सहित सातवटा अन्य गाडी भित्र्याइएको छ ।

अहिले जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको विशेष सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षाको टोली पनि आइसकेको डिआईजी पालले जानकारी दिए ।

मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय गरिएको छ । 

पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन जाने कार्यक्रम तालिका रहेको जनाइएको छ ।

दिवाभोज समापन पछि मुख्यमन्त्री आदित्यनाथ रंगभुमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयम्वरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अहिले जनकपुरमा श्रद्धालु भक्तजनको चाप अत्यधिकरुपमा बढ्दै गएको छ ।

हिजो अबेर साँझसम्म अयोध्याबाट जन्ती आएकाहरु यसपालि धनुषाको जटही हुँदै जनकपुर प्रवेश गरेका छन् । 

प्रत्येक वर्ष जन्ती भिठामोड, जलेश्वर र जनकपुर मार्ग हुदैँ आउने गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप