शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्काको केराबाली फँडानी गर्नेलाई उन्मुक्ति ?

सोमबार, २४ मङ्सिर २०७५, १२ : ५८
सोमबार, २४ मङ्सिर २०७५

बुटवल–बर्षेनी मानवअधिकार दिवस मनाइन्छ । सबैका लागि न्यायको कुरा गरिन्छ । तर, अझै पनि  गाउँ समाजमा राजनैतिक पहुँच भएकाहरुलाई अरुको मानवअधिकारबारे कुनै मतलव हुने गरेको छैन । 
यसको पछिल्लो उदाहरण हो, गुल्मीको एक घटना ।

जिल्लाको सत्यवती गाउँपालिका वडानम्वर १, रुद्रवेणीका बिष्णु श्रेष्ठले छिमेकी राजकुमार श्रेष्ठको ब्यवसायीक केराबालीमा खुकुरी नचाउँदै डेढ लाख मुल्य बराबरको केरा फँडानी गरेको झण्डै एक महिना हुन लाग्यो । तर पीडित श्रेष्ठले प्रहरी र सोही वडा कार्यालय र पालिकाको न्यायीक समितिमा पुग्दा समेत न्याय पाएका छैनन् ।

घट्नाविवरण अनुसार गत कार्तिक २९ गते श्रेष्ठले मदिरा सेवन गरी सुरुमा राजकुमार श्रेष्ठलाई बाटैमा रोकेर लछार पछार गरे । त्यसलगत्तै उनको केराबालीमा पुगेर पाक्न लागेको ३२ वटा केरा छपाछप  काटे ।

राजकुमारले लगाएको केराले आफ्नो घरलाई असर गरेको भन्दै विष्णुले केरा फाँडेको स्वीकार गरेका छन् । ‘ठुलो खालको केरा लगाएर मेरो घरलाई असर ग¥यो, ओस पस्यो, सर्पले समेत क्षति गर्ने सम्भावना भयो त्यसैले मैले पटक पटक केरा ढाल्न सुझाव दिँदा पनि नमाने पछि आफै गएर ढालिदिएको हुँ’, श्रेष्ठले भने, ‘गल्ती स्वीकार गर्छु, तर क्षतिपुर्ति तिर्दिनँ ।’

तर, राजकुमार भने आफ्नो क्षति भएपनि न्याय नपाएको बताउँछन् । ‘कानुनी राज्य नभएको महशुस भएको छ । गाउँपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म पुग्दा पनि अहिले सम्म न्याय पाएनौं’ उनले दुखेसो पोखे ।
उनले न्याय माग्न जिल्ला प्रहरी कार्यालय र वडा कार्यालय पुग्दा समेत वेवास्ता भएको बताए । उता, वडाध्यक्ष भिमलाल पाण्डेले श्रेष्ठले गल्ती स्वीकार गरेकाले गाउँपालिकाको न्यायिक समितिमा पठाएको बताए ।
न्यायिक समितिकी संयोजक गाउँपालिका उपाध्यक्ष सुवर्ण शाहीले पनि पहिलो छलफलमा श्रेष्ठले गल्ती स्वीकार गरेको तर क्षतिपुर्ति दिन नमानेका बताईन् । गाउँपालिका प्रमुख पारिश्वर ढकाललले न्यायिक समितिले छलफल गरेर समस्या समाधान गर्ने बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले त्यस घटनाबारे आफुले जानकारी पाएकोले त्यस गाउँपालिका संग सहजीकरण गर्ने बताए ।

उक्त घटना प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पनि नजिकबाट नियाल्दै आएको बताए ।  प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन मातहतको प्रहरीलाई निर्देशन दिई सकेको बताए ।

‘अहिलेसम्म गाउँपालिकामै छलफल गराईएको रहेछ , अब जिल्लामै गराईन्छ र पीडितलाई न्याय दिलाईन्छ’ एसपी बस्नेतले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप