शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’

सोमबार, २४ मङ्सिर २०७५, ११ : ३८
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस गत मङ्सिर १३ गतेदेखि सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफलमा जुटेको छ । नेताहरू कसरी विषयमा प्रस्तुत भइरहेका छन् ? अब महासमितिपछि काँग्रेसमा कस्तो गतिका साथ जनता माझ आउँछ ? सरकारका काम कारवाहीलाई कुन तरिकाले हरिरहेको छ, यिनै विषयमा काँग्रेसका युवा नेता धनराज गुरुङसँग रातोपाटीका लागि लोकेन्द्र भट्टले गरेको अन्तरवार्ता :

काँग्रेसको केन्द्रीय कार्यसमितिमा करिब एक हप्तादेखि संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफल चलिरहेको छ । बैठकले संशोधित विधानलाई पार्टी नीति अनुकूल बन्छ कि नेताअनुकूल ? 

यस पटकको बैठक बिलकुल फरक छ । पहिले नेताहरूले एउटा फेद समातेर अनुहार हेरेर केन्द्रीय समितिमा बोल्ने परम्परा थियो । त्यो परम्परा ध्वस्त भएको पाएको छु मैले । जारी बैठकमा पक्ष विपक्ष छैन अहिले । आफूलाई मन लागेको कुरा एकदमै स्वतन्त्र रूपमा सबै नेताहरूले बोलिरहनु भएको छ । सबैले काँग्रेसको भविष्यबारे चिन्तामा बोलिरहनुभएको छ । 

साथीहरूमा नेताको भन्दा काँग्रेसको भविष्यको चिन्ता झल्किन्छ । विभिन्न विषयमा गहन छलफल भइरहेका छ । अब काँग्रेसको भविष्य कस्तो हुने भन्ने ढङ्गबाट छलफल चलिरहेको छ ।

नेताहरूले गुट विर्सेर बोल्दैछन् या नयाँ गुट निर्माणका लागि ? 

अहिले त्यो दुवै कुरालाई सामान्य मानिएको छ । गुटले थलिएको काँग्रेसलाई कसरी हिँड्ने बनाउने भन्ने सोच देखिएको छ । सबै गुट ध्वस्त कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिइरहनुभएको छ । 

गुटले बिग्रिएको काँग्रेसलाई फेरि पनि बिग्रिन दिनु हुँदैन । पार्टीलाई नयाँ रूप दिन पनि गुट अन्त्यको विकल्प छैन । तपाईंले भनेजस्तो नयाँ गुटका लागि कसरत पनि भएको छैन । 

पछिल्लो समय काँग्रेसमा उमेर हदको बहस चलेको छ । युवा नेताहरूले अहिलेको नेतृत्वबाट पार्टी पुनर्जागरण हुन सक्दैन भनिरहनु भएको छ । बैठकमा उमेरको कुरा कसरी उठिरहेको छ ? 

काँग्रेसको खेतबारी जोत्नै नसक्ने अवस्थामा पुगिसकेका सक्रिय नेतालाई सम्मानका साथ विश्राम लिनुहोस्, आराम गर्नुहोस् भन्ने हो । काँग्रेसको खेतबारी हामी नै जोत्छौं । हामी नै दुःख गर्छौं भन्ने कुरा मात्र हो । बीपी कोइरालाले ३२ वर्षको उमेरमा काँग्रेस स्थापना गरेर हाँक्नु भएको थियो । अहिले नेताहरू ७० वर्ष नागिसक्दासमेत पाइला चाल्न सक्नुहुने हो कि होइन भन्ने अवस्थामा पुग्नुभएको छ । उहाँहरूलाई कति दुःख दिने । अब त हाम्रो चिन्ता छ, उहाँहरूको स्वास्थ्यप्रति । त्यस कारणले काँग्रेसलाई कसरी चुस्त, दुरुस्त, सबल र सशक्त बनाउने कुरा एजेन्डासँगै उमेरको पनि  कुरा आएको छ । रुग्ण मान्छेले धेरै कुरा सोच्न पनि सक्दैन । सिर्जना पनि गर्न सक्दैन । निर्णय दिन पनि सक्दैन । यी कुराहरूलाई विचार राख्दै उमेरको कुरा पनि आएको छ ।

अब युवा नेताहरूले काँग्रेसलाई कुन मोडतिर डोर्याउने सोच बनाउनु भएको छ ?

सबैभन्दा पहिले काँग्रेसको गुट उपगुटमा रमाउने, भागबण्डा लगाएर खाने सोच बनाएकाहरूबाट अलग्याउनु पर्छ । होइन भने ६०–४० को भागबण्डाले काँग्रेस माथि उठ्न सक्दैन, सकेको पनि छैन । पार्टीमा अनुशासनको पनि निकै कमी देखिएको छ । विधि विधानलाई प्रमुख नेताहरू आफूअनकूल व्याख्या विश्लेषण गरिरहेका छन् । एउटा नियम र नीतिभित्र पार्टी चल्न सकेको छैन । 

पहिले त पार्टीलाई व्यवस्थित बनाउनतिर लाग्नु पर्नेछ । अर्को कुरा जनतासँगको दूरी कसरी नजिक्याउन सकिन्छ ? त्यो कुरा पनि सोच्नुपर्ने हुन्छ । देश र विश्वले के कुराको आवश्यकता औँल्याएको छ, त्यसअनुसार  राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुराको ख्याल गर्नुपर्ने देखिन्छ । काँग्रेसका नाममा कलङ्क बनेकाहरूको समयमै ख्याल गर्नुपर्ने बेला भएको छ ।

काँग्रेसजनहरूलाई कसरी पार्टीसँग जोडिराख्न सकिन्छ भन्नेबारेमा धारणा तयार पारिहेका छौँ ।  काँग्रेसले मङ्सिर २८ देखि पुस ३ सम्म हुने महासमितिबाट एउटा छनक दिने छ । बाँकी कुरा १४औँ महाधिवेशनले काँग्रेसमा एउटा नयाँ परस्थितिको सिर्जना गर्छ भन्नेमा हामी विश्वस्त छौँ । 

यसका लागि पार्टी नेतृत्वमा पुग्नुपर्छ होला नि ? १४औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न कस्तो गृहकार्य गरिरहनुभएको छ ? 

सभापति को हुने, महामन्त्री हुने भन्ने कुरा उठेको छैन । यद्यपि एउटा वृद्धको विकल्प अर्को वृद्ध हुन नसक्ने हाम्रो ठम्याइ हो । हाम्रो अर्जुनदृष्टि पनि त्यहीँनिर हो । यस कुरामा हामी सबै सहमत छौं । त्यति भएपछि नेतृत्व परिवर्तनको अवसर आइहाल्छ । 

जारी बैठकमा पनि ७० वर्ष उमेरहदको कुरा उठेको छ । त्यो कुराले महासमितिमा प्रवेश पनाउने र पार्टी विधानमा नै उल्लेख हुने वातावरण बनिरहेको छ ? 

हामीले त्यो प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दैगर्दा अधिकांश सदस्यले समर्थन जनाउनु भएको छ । जे गर्नुभयो ठीक गर्नुभयो भन्नुभयो । 

अधिकार दिँदा जित्न सक्ने, योग्य र सक्षमलाई मात्र टिकट दिनुपर्ने दबाब सभापतिलाई हुन्छ । जिते प्रधानमन्त्री र हारे सभापतिबाट राजीनामा दिनुपर्ने भयले पनि सभापतिले बाध्य भएर राम्रो काम गर्ने अवस्था आउँछ ।

ओली सरकारको ९ महिने काम कारवाहीप्रति तपाईंको धारणा के छ ? 
प्रधानमन्त्रीबाट ९ महिनामा जनताले ९ हजार उखानटुक्का सुन्दै आन्नद लिए । तर जनजीविका प्रत्याभूति हुने काम भने कुनै पनि हुन सकेन । उहाँले न सुशासन कामय गर्न सक्नुभयो न  त जनताको ढाडै सेक्ने महँगी नियन्त्रण गर्न सक्नु भयो । उल्टो गरिब जनतामाथि अनावश्यक करको भार बोकाउने काम भएको छ । राजाले जस्तै राष्ट्रपतिका लागि पनि १८ करोडको गाडीको लावा लस्कारमा सवारीगराउने भनेर निर्णय गरेको छ । यो सरकारले गरिब जनताको रगत र पसिनामाथि होली खेलिरहेको छ, भ्रष्टाचार गरिरहेको छ ।

सरकारमाथि यस्तो आरोप लगाउँदै गर्दा तपाईंको पार्टी प्रतिपक्षको भूमिकामा छ,  खबदारी खै त ? 
हाम्रो पार्टीले पनि जनअपेक्षाअनुसार काम गरिरहेको छ भनेर म दाबी गर्दिनँ । किनेभने नेतृत्वमा यस्ता विषयको कुनै चिन्ता र चासो देखिँदैन । तर प्रधानमन्त्री त सबैका अभिभावक हुन् । उनको जिम्मेवारी बढी हुन्छ । प्रतिपक्षले यस्ता विषय निर्भयताका साथ उठाउन सक्ने सार्मथ्य राखेन भनेर नै हामी युवा नेताहरू बारम्बार पार्टी नेतृत्वसँग जुहारी खेलिरहेका छौँ । एकजना अबोध बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधीको संरक्षण सरकारबाटै भएको छ ।

बलात्कारपछि हत्या गरिएकी नमिता सुनिता काण्डमा पनि पञ्चायती शासकले  अपराधीलाई जसरी संरक्षण गरेका थिए त्यसरी नै यो सरकारले निर्मालाका हत्यारालाई संरक्षण गरेर पञ्चायतको झझल्को दिएको छ । 

निर्मला हत्या, वाइडबडी जस्ता काण्डमा प्रतिपक्ष प्रेस कन्फ्रेन्समा मात्र सीमित भएको छ भन्ने छ नि ? 

हिजोका दिनमा लाउडा काण्ड पनि भएको थियो, जुनसुकै पार्टीको सरकार होस्, घटना भएको त हो नि । आफ्नै पार्टीको सरकार हुँदा भए पनि यो कार्य गलत हो । अहिले वाइडबडी काण्ड घटेको छ । तैपनि प्रतिपक्ष चुपचाप बसेको छ । निर्मला काण्ड र वाडबडी काण्डमा त प्रतिपक्षले केन्द्र र सातै प्रदेशका सरकार ठप्प पार्नुपथ्र्यो । सडक तातिनु पथ्र्यो ।  हिजो लाउडा काण्ड हुँदा अहिलेको सरकारको नेतृत्वकर्ता तत्कालीन प्रतिपक्ष एमालेले कसरी रेलिङ भाँचेको थियो । हाम्रा नेता गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजा चोर देश छोड’, ‘अहिलेको हैजा गिरिजालाई लैजा’ भन्ने नारा लगाएको यही कानले सुनेको हो । 
अहिले त्यति उत्तेजित, उत्ताउलो, घृणित र दरिद्र नारा लगाउनु पर्दैन काँग्रेसले । सम्मानित ढङ्गबाट दबाब सिर्जना गर्नु पर्छ कि पर्दैन ? त्यसैले प्रतिपक्ष पनि अल्मलिएको छ । प्रतिपक्षको नेतृत्व कहीँ न कहीँ अलमलिएको छ । प्रतिपक्षलाई यसरी अलमलिने छुट हुँदैन ।

जनताले प्रतिपक्षका गतिविधि वाच गर्छन् । प्रतिपक्षले वाचडगका रूपमा काम गरेन भने जनताले कसको भर पर्ने । प्रतिपक्षका आजका काम कारवाहीले जनताको भोलिको सरकारमा पठाउने हुन । सरकारलेझैँ उपरखुट्टी हालेर प्रतिपक्षले बस्न मिल्छ ? यसले त जनताको समस्यालाई सम्बोधनका लागि सरकारसँग जुहारीको खेल्नुपर्छ ।

पार्टीमा प्रभुत्व जमाउन युवा नेताहरूको विभिन्न भेला गर्नुहुन्छ तर देश र जनताका लागि रणनीति बनाउनुभएको देखिएन नि ? 
केन्द्रीय कार्यसमितिमा भ्रष्टाचार नियन्त्रणका लागि एउटा अभियान नै चलाउनुपर्छ भनेका छौँ । युवा नेताहरू वा हाम्रो विचार समूहले यो विषयमा एउटा धारणा बनाएको छ । सिङ्गो पार्टीले यो अभियानलाई साथ दिएमा लिएर जाने चाहेका छौँ । नेतृत्वले सक्रियाता देखाएन भने हामीले नयाँ तरिकाले अगाडि बढ्ने पनि सोच बनाएका छाँै । देशलाई समृद्ध बनाउन भ्रष्टाचार नियन्त्रणको विकल्प नदेखेर पछिल्लो समय बसेको हाम्रो विचार समूहले यो निष्कर्ष निकालेको छ । 

अहिले महासमिति बैठकमा केन्द्रित हुनुपर्ने अवस्था आएको छ । महासमिति बैठकपछि हाम्रो विचार समूहले जनजीविकालाई यो अवस्थाबाट माथि उठाउन कार्यक्रम लिएर आउँछौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप