शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घनश्याम भुषालको विश्लेषणः वर्तमान सरकारले पुँजीवादको जुत्ता लगाउँछ, समाजवादको टोपी ओढ्छ

आइतबार, २३ मङ्सिर २०७५, १९ : ३२
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुषालले वर्तमान सरकार जुत्ता दलाल÷पुँजीवादको लगाउने, टोपी समाजवादको ओढ्ने गरेको आरोप लगाएका छन् । राजधानीमा आयोजित ‘आजको वाम, समस्या र समाधान’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै भुषालले लोकतान्त्रिक स्थिरता र राष्ट्रिय पुँजीको विकासपछि मात्रै समाजवाद आउने बताए । 

‘तत्कालिन एमालेभित्र पनि सत्ता राजनीतिको कुरा मात्र भयो, हावी भयो । माओवादीभित्र पनि सैद्धान्तिक अस्थिरता कायम रह्यो । त्यो दुवै कुरा अहिले पनि छँदैछ,’ उनले भने, ‘जुन–जुन पार्टीबाट आएपनि नश्लिय रपमा झन गुटबन्दी मौलाएको छ । यही हिसावले चाहिँ यो विषय कहिँ पनि गएर टुंगिदैन ।’

ओली नेतृत्वको सरकारलाई कटाक्ष गर्दै उनले भने, ‘गीत, फिल्म वा साहित्यमा मात्र कम्युनिष्ट पार्टी सीमित रहने अवस्था आयो । यो पार्टी जनतामा अथवा जनताको घर दैलोमा रहँदैन । यही तरिकाले सरकार सञ्चालन भए कसैले गीत लेख्ला, कसैले फिल्म बनाउला या कसैले साहित्यमा लेख्ला, त्यतातिर मात्र रहनसक्छ ।’ 

पार्टीका लागि अवसरहरुः–
कम्युनिष्ट पार्टीमा ठूलो राजनीतिक उथलपुथलबाट आएका अनुभवि नेता÷कार्यकताहरु रहेको पनि उनले बताए । ‘यसलाई एउटा अवसरको रुपमा लिनुपर्छ,’ उनले भने, ‘राज्य संगठनको जालो बलियो छ । राष्ट्रियस्तरको सबै संगठनहरु पनि बलियो छ । सामाजिक, राजनीतिक, सांस्कृतिका सबै रुपमा संगठनहरु छन् । यी संगठनहरु पनि अवसर हो ।’ 

‘नेपालको सन्दर्भमा नयाँ संविधानले समाजवादको व्यावहारिक कार्यान्वयनको ढोका खोलेको छ । किनभने समाजवाद समाजवाद भनिरहने अनि संविधानमा आउनु भनेको राम्रो विषय हो । भू–राजनीतिक रुपमा पनि अहिले अवसरहरु छन्, यसलाई कसरी लैजाने भन्ने कुरा हो । यो सबै अवसर हो,’ उनले भने ।  

पार्टीका लागि चुनौतीहरुः–
‘पार्टी एकता भएपनि मुल रुपमा सैद्धान्तिक विषयले महत्व पाएन, पाएको छैन । टाकनटुकन मात्र छ । वैचारिक अष्पष्टता पनि छ,’ उनले भने, ‘जस्तै कम्युनिष्ट राष्ट्रपति । टिका लगाउँदाको कुरा, गाडी किन्ने कुरा वैचारिक अष्पष्टता हो । सबैभन्दा ठूलो वैचारिक अष्पष्टता चाहिँ कता उभिने भन्ने छ । सैद्धान्तिक रुपमा कहाँ उभिने भन्ने कुराको ज्ञान अहिलेको नेतृत्वमा छैन ?’

भुषालले अहिलेको नेतृत्व अलोकतान्त्रिक हुँदै गएको बताए । ‘यो अहिलेदेखिको चलन होइन, पहिलादेखि नै अलोकतान्त्रिक छ । जो माथि गयो उसैले एकलौटी निर्णय गरिदिन्छ । तल्लो तहमा छलफल÷भेला भन्ने नै छैन,’ उनले भने । 

भुषाल भन्छन्, ‘समाधानको विषयमा सरकार एउटा वैचारिक क्षेत्रमा क्लियिर हुनपर्यो । स्पष्ट हुनपर्यो । हामी कहाँ उभिने हो ? एकातिर मुलुकी ऐनले चाहिँ एउटा कुरा गर्छ, निर्णय अर्को हुन्छ । नेतृत्व स्पष्ट पार्नुपर्छ । कहाँ उभिने हो भन्ने ।’ 

वर्तमान सरकार विधिले काम गर्न छाडेको उनको विश्लेषण छ । उनी भन्छन्, ‘विधिले काम गर्न छाडेपछि चाकडी । चाकडी पछि विचारको रुपमा आउँछ । त्यो कुराको अन्त्य भएन भने कहिले समस्याको समाधान हुँदैन ।’ 

बैठक बहिष्कार गर्दा पार्टीमा तहल्का मच्चियोः झलनाथ खनाल
त्यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खलालले सचिवालय बैठक बहिष्कार गर्दा पार्टीमा तहल्का मच्चिएको बताए । जमिरहेको पानीमा एउटा ढुंगा फालेजस्तो तरंग ल्याएको समेत उनले बताए । 

उनले भने, ‘जसले गर्दा स्थायी समितिको बैठक बोलाइएको छ । हामीले एउठा ठूलै काम गरेको भन्ने महसुस भएको छ । बैठक नियमित बस्नुपर्ने कुरा आएको छ ।’ 

एक पद एक व्यक्तिको कुरामा पनि खनालले निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् । ‘पहिला संसदीय दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्री एउटै थियो । ठिक ढंगले चलेको थियो,’ उनले भने, ‘जतिखेर त्यो तोडियो, बिग्रियो । अब अहिले व्यक्ति हेरेर हामीले त्यो नीति बनाउनुहुँदैन । निरपेक्ष ढंगले हेर्नुहुँदैन ।’ 

अनौपचारिक बैठकमा खनालले नेतृत्वमा बसेकाहरुले नेकपा पार्टीलाई आफ्नो नीजि राजनीतिक दल जस्तो बनाएको आरोप लगाए । वैचारिक रुपमा स्खलन  चाहिँ पार्टी नेतृत्वबाट नै सुरु भएको उनी बताउँछन् । 

अन्र्तक्रिया कार्यक्रममा झलनाथ खनाल, घनश्याम भुषाल, ठाकुर गैरे, रामकुमार झाँक्रीलगायत नेताहरुको उपस्थिति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप