शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाई समितिमा उठ्यो प्रधानमन्त्रीकी सालीको कुरा

आइतबार, २३ मङ्सिर २०७५, १८ : २१
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– संसदीय सुनुवाई समितिमा आइतवार ४ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भएको छ ।  बैठकमा भारतका लागि प्रस्तावित निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि प्रस्तावित अञ्जान शाक्यको बारेमा सुनुवाई भएको हो ।  

बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाई भैरहँदा इजरायलका लागि प्रस्तावित राजदूत अञ्जान शाक्यको विषयमा सांसदहरुले विषय उठान गरेका थिए ।  बैठकको चौथो चरणमा शाक्यको बारेमा सुनुवाई भएको थियो ।  आफ्नो बारेम सुनुवाई सुरु भएलगत्तै शाक्यले आफ्नो कार्ययोजना प्रस्तुत गरिन् । उनले दुइ देशबीचको कुटनीतिक र राजनीतिक सम्बन्ध बलियो बनाउन पहल गर्ने, इजरायलको आधुनिक कृषि प्रणालीलाई नेपालमा भित्र्याउने, नेपालका सातवटै प्रदेशमा इजरायलको कृषि प्रणालीबारे तालिम दिने संस्था खोल्ने लगायतका कार्ययोजना सुनाएकी थिइन् । 

शाक्यले नेपालमा ३५ अर्ब बराबरको खाद्यान्न र तरकारी आयात हुने बताउँदै इजरायलको आधुनिक कृषि प्रणाली भित्र्याएर विकास गर्नेमा जोड दिएकी थिइन् । उनले इजरायलमा रहेका नेपाली कामदार महिलाहरुको हक हितका लागि काम गर्ने प्रतिबद्धता समेत जनाइन् ।  उनको कार्ययोजना सुनेपछि सांसदहरुले उनको प्रस्तुतिकरण धेरै राम्रो भएको प्रतिक्रिया दिएका थिए । सांसदहरुले उनको कार्ययेजनाको प्रशंसा मात्र गरेनन्, प्रधानमन्त्री ओलीसँग जोडिएको उनको नातासम्बन्धको विषयमा समेत विषय उठान गरेका थिए । 

बैठकमा बोल्दै कांग्रेसका सांसद भिमसेनदास प्रधानले प्रश्न गरेका थिए । सांसद प्रधानको प्रश्न थियो, ‘तपाईको प्रधानमन्त्रीसँग नाता जोडिएको हो कि होइन ? तपाई राजदूतका लागि योग्य हुनुहुन्छ, मिडियाले तपाईहरुको नाताको विषय पनि उठाइदिएको छ । यसबारे स्पष्ट पारिदिनुपर्छ ।’ 

त्यस्तै संघीय समाजवादी फोरमका  सांसद राजेन्द्र श्रेष्ठले पनि शाक्य र प्रधानमन्त्रीको नाता सम्बन्धका बारेमा कुरा उठाएका थिए । सांसद श्रेष्ठले भने शाक्य प्रधानमन्त्री ओलीकी साली भन्ने कुरा आएपनि त्यो सही नभएको  बताए । सांसद श्रेष्ठले थर मिल्दैमा साली नहुने बताउँदै भने,  ‘शाक्यको माइती घर र मेरो घर सँगै छ, उहाँको बारेमा धेरै कुरा मलाई थाहा छ । मिडियामा आएको हल्ला सही होइन ।’

सांसद श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पहिले देखिनै अन्तरजातीय विवाह गर्ने चलन भएको र त्यस्तो प्रस्ताव आफुलाई पनि आएको भन्दै ठट्टा गरेका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप