ईपीएल टी–ट्वान्टी क्रिकेट: भैरहवा ग्लाडियटर्सको विजयी सुरुवात
काठमाडौं– भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आईतबार भएको रोमाञ्चक खेलमा काइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै भैरहवाले सुःखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान रबि इन्द्रर सिंहले शतकीय इनिङ्स खेलेपछि पोखराले दिएको २१६ रनको फराकिलो लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भैरहवाको जितमा रविले अविजित १२५ रन जोडे । ४७ बलमा शतक पुरा गरेका रविले ६० बलमा १० छक्का ८ चौका प्रहार गरे । यस्तै भैरहवाका लागि आरिफ शेखले २३ रन जोड्दा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, बिक्रम सोब र पल कोगलिङले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २१५ रन जोडेको थियो । जारी ईपीएलको यो सर्वाधिक ठुलो स्कोर हो । पोखराको उच्च स्कोरमा दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । यस्तै केली जेम्स कोट्जरले ४७ रन जोड्दा सुनिल धमलाले ३८ रन जोडे । भैरहवाका कृष्ण कार्की, रायन टेन, अविनास बोहोरा र पुनित मेहेराले एक–एक विकेट लिए । जितसँगै भैरहवाले २ अंक जोडेको छ । भैरहवा साबिकको उपविजेता समेत हो । पोखराले भने हारबाट लिगको सुरुवात गरेको छ ।
आजै भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ । पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले हराएर ललितपुरले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४४ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभरमा ८ विकेट गुमाएर मात्र १३२ रन जोड्न सक्यो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडे । ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाएको थियो । ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए । यस्तै सन्दिप जोरा ८ बलमा २५ रन जोडेर अविजित रहे । त्यस्तै गौरव तामोरले ३० रन जोड्दा जयकिशन कोल्शावालाले २० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट हुँदा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए ।
जितसँगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको थियो । चितवनले भने हारबाट लिगको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान