बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्मला हत्यामा संलग्न भनिएका रावल ग्यारेजबाट समातिए, छुटे अनि फेरि समातिए !

आइतबार, २३ मङ्सिर २०७५, १६ : ५०
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– निर्माला पन्तको हत्यामा संलग्न भनिएका भीमदत्तनगर–१८ का प्रदीप रावल अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् । सार्वजनिक अपराध मुद्दामा अल्झाएर केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले उनीसँग बयान लिइरहेका छन् । 

मङ्सिर १७ गते काठमाडौंबाट पक्राउ परेका रावल नै ‘वास्तविक हत्यारा हुन्, कि होइनन्’ भन्नेबारे सर्वत्र चासो छ । लागू औषध प्रयोकर्ता (ड्रगिस्ट) समेत रहेका १८ वर्षीय प्रदीपले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई सुरुवाती दिनमा सकारात्मक बयान दिएको कुरा केन्द्रीय अनुसन्धान ब्युरोबाटै लिक भएको थियो । 

तर तिनै प्रदीप हुन् जसलाई निर्मला हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले  चार महिनाअघि पक्राउ गरेर लामो अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी हवल्दारलाई स्थानीयले एउटा खबर सुनाउँछन्, ‘प्रदीप रावल भन्ने केटाले, हिजो झ्याप्प हुनेगरी धेरै खाइएछ, साथीहरूले के–के गरे बबाल भयो’ भन्दै हिँडेको थियो । 

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका अनुसन्धान अधिकृतहरू साउन १४–१५ गते प्रदीपलाई खोज्दै उसको घरमा पुग्छन् । तर प्रदीप घरमा हुँदैन । छिमेकीले भन्छन्, ‘ए, केही दिन भयो उसलाई देखेको छैन ।’ 

अनुसन्धानकर्मीहरूको शङ्का झन् बढ्न थाल्छ, मानौँ निर्मलाको हत्यारा प्रदीप बाहेक अरू हुनै सक्दैन । 

घर छाडेर कञ्चनपुरको एक मोटर ग्यारेजमा काम गर्दै गरेका प्रदीप साउन २० गते प्रहरीले मोटर ग्यारेजबाटै उठाएको थियो । 

बढी नै केयर गरेर नियन्त्रणमा लिइएका प्रदीपले प्रारम्भीक बयानमा आफू भारतस्थित बनबासस्थित मामाघर गएको बताए । निर्मलाको हत्याबारे सोधपुछ गर्दा उनले ‘झ्याप भएको थिएँ, घट्नासम्बन्धी केही थाहा छैन’ भनेका थिए । तर अनुसन्धान अधिकृतहरूले उनीसँग लामो इन्ट्रोगेसन गरेका थिए । 

‘उसले घाँटी थिचेर मार्न सक्छ जस्तो लागेन, किनकि त्यो खाले स्ट्रेन्थ उसमा पाएनौँ’ अनुसन्धामा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि हामीलै दैनिक तारेखमा छाडेका थियौँ, ऊ दैनिक जिल्ला प्रहरी कार्यालयमा आएर हजिर गरेर फर्कन्थ्यो ।’  

प्रदीपको बाबु ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । एउटी दिदी कञ्चनपुरमा बस्छिन्, अर्की काठमाडौंमा । सामान्य परिवारका प्रदीप प्रोफेसनल मान्छे नभएकाले प्रहरीले ‘अब आउनुपर्दैन्’ नभनेसम्म तारेख धाउने थिएन । 

दिलिपसिंह विष्ट पक्राउ परेपछि प्रदीपले बल्ल कञ्चनपुर छाडेका थिए । तर पछिल्लो समय प्रदीपलाई नै हत्यारा करार गर्न खोजिएपछि धेरैले पुनः निर्मलाको हत्यारा पत्ता लाग्नेमा आशङ्का गर्न थालेका छन् । 
चक्रदेवी बडुभन्दा पहिले पक्राउ परेका रावल त्यतिबेला घटनाम संलग्न भएको पुष्टि नभएपछि छुटे । 

त्यतिबेला उनको डीएनए परीक्षण गरिएको थिएन्, अहिले सार्वजनिक अपराधमा अल्झाएर उनको डीएनए स्याम्पल लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनको डीएनएको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ । 

तर केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाहीले रातोपाटीसँग कुरा गर्दै रिपोर्ट आएपछि कञ्चनपुरमा पठाएर जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा मात्र खोलिने दाबी गरे । 
रावलको बयान, ‘झ्याप भएको हुँ, घटना थाहा छैन’ 

कञ्चनपुरमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँग प्रदीपले आफूले गाँजा खाने गरेको स्वीकार गरेका थिए । निर्मलाबारे सोध्दा प्रदीपले भनेका थिए, ‘खाएर झ्याप भएको हो, घट्नासम्बन्धी केही थाहा छैन ।’ 

निर्मला हत्या प्रकरणमा एक पटक ‘क्लिनचिट’ पाएपछि भदौ ५–७ गतेतिर प्रदीप काठमाडौं आएका थिए । पछिल्लो समय अनुसन्धान अधिकारीहरूले आरोप लगएजस्तो उनी भागेका थिएनन् । किनभने, दिलिपसिंह विष्टलाई समातिसकेका थिए,  आफूले क्लिन चिट पाइसकेको हुनाले उनलाई  के डर थियो र ? 

नसाको सुरमा प्रदीपले (साउन २१ गते) एक पटक ‘अँ हामीेले सल मुखमा कोचेर मारेको हो’ भनेका  थिए । तर निर्मलाले सल नलगाएको हुनाले अनुसन्धान अधिकृतहरूले उनको कुरालाई विश्वास गरेनन् । 

प्रदीप जस्ता लागू औषध युजरहरूले नसाको सुरमा बलात्कार–हत्या गर्न सक्ने भए पनि दिनकै खुरु–खुरु तारेख धाए पनि डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले उनलाई ‘क्लिन चिट’ दिएको थियो । 

त्यसो त त्यतिबेला प्रहरीले अनुसन्धान गरेका जीवन घर्ती मगरले पनि ‘निर्मलालाई खुकुरी हानेर मारेको’ बयान दिएका थिए । तर अपत्यारिलो बयान अनुसन्धान अधिकृतहरूले पत्याएनन् ।

अब प्रदीपको वर्तमान सवाल, केन्द्रीय अनुसन्धान ब्युरोले ६ दिनदेखि सोधपुछ गरिरहेका प्रदीपले पहिलो ‘मत झ्याप थिएँ, मलाई त थाहा नै छैन’ भनेका छन् । 

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन्’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ । 

प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशालाई हिरासतमा राखिएको छैन ।

प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ । 

‘ब्लड स्याम्पल पठाउने क्रम जारी छ’, नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी भन्छन्, ‘निर्मला पन्त घटनामा अहिले बाहिर भन्नेगरी प्रगति भइसकेको छैन, अनुसन्धान जारी छ ।’ 

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप