शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुमा भ्रष्टाचारविरुद्ध आइतबार जनमतसङ्ग्रह हुँदै

आइतबार, २३ मङ्सिर २०७५, १६ : ३८
आइतबार, २३ मङ्सिर २०७५

लीमा– पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पुर्याउन सक्नेछ । 

जनमतसङ्ग्रहमा केही प्रश्नहरु सोधिएका छन्: भ्रष्टाचारमा दोषी देखिएका व्यक्तिहरु संसद सदस्यमा पुनः उम्मेदवार हुन नपाउने, चुनावी अभियानमा कडा आर्थिक नियमहरुको निर्माण र परिपालना गर्ने तथा न्यायाधीशको छनौटमा बदनामी कमाएको परिषदमा सुधार । 

विश्लेषकहरुका अनुसार, दशकौंदेखि पेरुमा व्याप्त अनियमितता र भ्रष्टाचार जनमतसङ्ग्रह मार्फत मात्र सुधार भइहाल्छ भनी अनुमान गर्न कठिन छ । 

‘यो जनमतसङ्ग्रहले सरकार र सम्भवतः राजनीतिक प्रणालीलाई केही भएपनि श्वास फेर्ने अवसर दिनेछ,’ हार्भर्ड विश्वविद्यालयका राजनीतिशास्त्री स्टीभ लेभिट्स्कीले बताए । ‘झिनो भएपनि सरकारको आत्मविश्वास र जनताको विश्वास आर्जन गर्न यसले मद्दत गर्नेछ ।’ 

हालैका वर्षहरुमा पेरुमा ओडेबे्रक्ट भ्रष्टाचार काण्ड मच्चिएको छ । यो भ्रष्टाचार काण्डमा दक्षिण अमेरिकाका उच्च तहका राजनीतिज्ञहरु पनि मुछिएका छन् । ब्राजिलको यस निर्माण कम्पनीले ठेक्काहरु हत्याउन दक्षिण अमेरिकी राष्ट्रका अधिकारीहरुलाई ८० करोड अमेरिकी डलर घुस दिएको स्वीकार गरिेसकेको छ । 

पेरुमा यो काण्डले सबैजसो पूर्व राष्ट्रपतिहरु बदनाम भइसकेका छन् । ओडेब्रेक्टसँगको साँठगाँठको आरोपमा पेरुका चारजना पूर्व राष्ट्रपतिहरुमाथि छानबिन भइरहेको छ । 

राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले ओडेब्रेक्ट र उनको परामर्शदाता कम्पनीबीच सम्बन्ध रहेको विषयमा पूर्व जानकारी नगराएको सांसदहरुले आरोपपछि गत मार्चमा राजीनामा दिए । सरकारी अधिकारीहरुले पूर्व नेता अलान गार्सियाका बारेमा पनि अनुसन्धान शुरु गरेका छन् ।

उनीमाथि लीमाको मेट्रो निर्माणका क्रममा घुस लिएको आरोप छ । केही समय जेलमा समेत परेका ओल्लान्टा हुमाला र अलेजान्द्रो टोलेडोमाथि पनि गैरकानुनी रुपमा रकम बुझेको आरोपमा छानबिन भइरहेको छ । 

यहीबीच, पूर्व राष्ट्रपतिकी छोरी केइकी फुजीमोरी पनि हाल जेलमा रहेकी छन् । दुईपटक राष्ट्रपतिको उम्मेदवार भइसकेकी विपक्षी नेतृमाथि सन् २०११ को चुनावमा ओड्रेब्रेक्टबाट गैरकानुनी रुपमा चुनावका लागि रकम लिएको आरोप छ । 

गोप्य विवरणहरुले देशका न्यायाधीश र वकिलहरुले पनि विचाराधीन मुद्दाको सौदाबाजी गर्ने गरेको देखाएका छन् । बालिका बलात्कृत भएका मुद्दामा समेत न्यायाधीश र वकिलहरुले घुस लिएको पाइएको छ । यसबाट आम जनतामा चरम नैराश्य छ । 

ल्याटिनोब्यारोमेट्रोले हालै गरेको सर्वेक्षणमा पेरुका केबल ८ प्रतिशतले मात्र संसदमाथि विश्वास गरेको देखाएको छ । दक्षिण अमेरिकामै यो सबैभन्दा कमजोर अवस्था हो । ‘पूरै प्रणाली सडेको छ,’ ४० वर्षीय गेरार्डो पोलोले बताए । उनी आइतबार मतदान गर्न व्यग्र रहेका छन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप