शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोरम–राजपा एकता : उपेन्द्रले सरकार छाड्नुपर्ने सर्त

आइतबार, २३ मङ्सिर २०७५, १४ : ०२
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरणका लागि वार्ता समिति गठन गरेसँगै राजपा नेपालले त्यसको स्वागत गरेको छ । 

राजपा नेपालले समितिको स्वागत गरेपनि वार्ताका लागि फोरम सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ ।  राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् । 

उनले भने, ‘फोरम नेपालले वार्ताका लागि समिति गठन गर्नु स्वागतयोग्य हो तर फोरम नेपाल सरकारमा रहुन्जेल न वार्ता हुन्छ न एकीकरण हुन्छ, पार्टी एकीकरणका लागि फोरम नेपालले पहिला सरकार छाड्नुपर्छ अनि वार्ता प्रकृया अगाडि बढ्छ ।’

महतोले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँगको भेटमा समेत स्पष्ट रुपमा यो सर्त राखेका छन् । पार्टी एकीकरणकै विषयमा दुई नेताबीच केही दिन पहिले भएको वार्तामा संयोजक महतोले यस्तो सर्त अघि सारेको राजपा स्रोतले जनाएको छ । 

जवाफमा अध्यक्ष यादवले तत्काल सरकारबाट फिर्ता हुने विषयमा पार्टीले नसोचेको जवाफ दिएका थिए । 

‘सरकारले मधेशको पक्षमा काम गरेन भने त्यहाँ बसिरहने छैनौँ, अवश्य फर्किन्छौं बरु तपाईँहरु पनि सरकारमा आउनुस्,’ मन्त्री यादवले संयोजक महतोलाई भनेका थिए, ‘तपाईँहरु पनि सरकारमा भएपछि अली दवाव बढ्छ, आउनुस् सरकारमा ।’

तर यादवको प्रस्तावलाई अस्वीकार गर्दै महतोले फोरमनै सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेका हुन् । 

फोरमको शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले  सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो । वार्ता समितिको सदस्यमा राजनीतिक समितिका सदस्यमा पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, महसचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहम्मद इस्तियाक राइन, राजनीतिक समिति सदस्य महेन्द्र थापामगर रहेका छन् । 

केन्द्रीय समितिबाट सो निर्णयलाई आधिकारिकता दिइएपछि समितिले वार्ता र छलफललाई तीब्रता दिने बताइएको छ । 
 

शक्तिशाली समिति
त्यसैगरी फोरम नेपालले एक शक्तिशाली राज्य व्यवस्था समिति गठन गर्ने भएको छ ।

सरकार र सरकारको नेतृत्व गरिरहेका दलसँग वार्ता, समन्वय र सहकार्य गर्न तथा विकास निर्माण सम्बन्धी योजना,  विभिन्न संवैधानिक आयोग नियुक्तिका साथै संघीय सरकार र प्रदेश सरकार बीच समन्वय समेतका लागि आवश्यक कार्य गर्न फोरम नेपालले अध्यक्ष एवं मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा सो समिति गठन गर्न लागेको हो ।

समिति गठनसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पुगेको छ । 

समितिमा वरिष्ठ नेता अशोक राइ, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष रेणु कुमारी यादव र महासचिव रामसहाय यादव सदस्य रहने प्रस्ताव गरिएको छ। 

यसअघि उपेन्द्र यादवले एक्लै वा अरु कसैलाई साथमा लिएर यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता र संवाद गर्दै आएका थिए । अब केन्द्रीय समितिबाट एउटा समिति नै बनाइएपछि वार्ता र संवाद गर्न सजिलो हुने बताइएको छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप