शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड

आइतबार, २३ मङ्सिर २०७५, १० : ४६
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– पछिल्लो समय नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा धेरै नेता कार्यकर्ता सामेल भए पनि काँग्रेसका चारजना नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचारी ठहर नै भइसकेका छन् । त्यस्तै सुडान घोटला काण्ड, लाउडा, चेज र धमिजालगायतका काण्डहरू नेपालका चर्चित भ्रष्टाचार काण्ड भनेर चिनिएका छन् । 

‘नेपालमा भ्रष्टचारको मूल जरो नै राजनीति हो । राजनीतिकै आडमा भ्रष्टाचार मौलाएको छ’, ट्रान्स्परेन्सी इन्टरनेसल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको भनाइ छ । 

अधिवक्ता अर्यालका अनुसार नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको हो । तर, कतिपयले अख्तियारलाई बढी अधिकार नदिएकाले पनि भ्रष्टाचार कम हुन नसकेको बताइरहेका बेला अर्याल भने अख्तियारलाई जतिसुकै शक्तिशाली बनाए पनि भ्रष्टाचार निर्मूल सम्भव नहुने ठोकुवा गर्छन् । 

‘अख्तियारलाई बढी अधिकार दिने होइन, भएको अधिकार प्रयोग गर्ने हो । बरु अख्तियारलाई कुन कुन क्षेत्रमा बढी भ्रष्टचार हुन्छ भन्ने अनुसन्धान गर्न दिनुपर्छ । साथै राष्ट्रिय सतर्कता केन्द्रलाई अधिकार दिएर भ्रष्टचार नियन्त्रणको प्रयास गर्नुपर्छ’, अर्यालको दाबी छ । उनका अनुसार भ्रष्टाचारमा राजनीतिक संरक्षण नहुने हो भने धेरै हदसम्म भ्रष्टाचार कम हुन सक्छ । 

अधिवक्ता अर्यालले भनेझैँ २०४६ सालपछि नेपालमा राजनीतिक दल तथा तिनका नेताहरू नै भ्रष्टाचारमा संलग्न हुने गरेको पाइएको छ । कतिपय ठूला भ्रष्टाचारमा दलका नेताहरू नै संलग्न भएको र त्यही कारण उनीहरूको राजनीतिक जीवन नै समाप्त भएको उदाहरण पनि छ । 

भ्रष्टाचारका कारण राजनीतिक जीवन समाप्त भएका नेताहरू   

१. खुमबहादुर खड्का
तत्कालीन काँग्रेस नेता खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गर्ने फैसला सुनायो । 
पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै सर्वोच्चका तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई दोषी ठहर गरेको थियो । त्यसपछि जेल सजाय भोगेका खड्का जेलमुक्त हुँदा उनका कार्यकर्ताले भव्य स्वागतसहित र्याली निकालेर नगर परिक्रमा नै गराएका थिए । तर पछिल्लो राजनीतिक दलसम्बन्धी कानुनअनुसार खड्का काँग्रेसको पार्टी साधारण सदस्यसमेत बन्नबाट रोकिएका थिए । पटक पटक मन्त्री र सांसद बनेका खड्का भ्रष्टाचारको मुद्दा खेपेपछि काँग्रेसको सक्रिय राजनीतिबाट पछि हट्दै बरु नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भन्ने अभियानमा सक्रिय थिए । यही क्रममा बिरामी परेका खड्काको २०७४ चैत १५ गते ६६ वर्षको उमेरमा निधन भएको थियो । 

२. जयप्रकाशप्रसाद गुप्ता
भ्रष्टाचारमा सजाय पाएर सार्वजनिक राजनीतिक जीवन समाप्त भएका अर्का नेता हुन्  ः जेपी गुप्ता । काँग्रेसका पूर्वनेता तथा हाल तराई मधेस राष्ट्रिय अभियानका संयोजक (जेपी) जयप्रकाशप्रसाद गुप्ता पनि अब कुनै पनि राजनीतिक दलको सदस्यसम्म बन्न अयोग्य भएका छन् । ९ फागुन ०६८ मा सर्वोच्च अदालतले सञ्चारमन्त्री रहेका बेला गुप्तालाई अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर गरेको थियो । अकुत सम्पत्ति कमाएको ठहरसहित सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

३. चिरञ्जीवी वाग्ले
काँग्रेस नेता चिरञ्जीवी वाग्लेलाई पनि २०६७ सालमा सर्वोच्च अदालतले अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनायो । फैसलाअनुसार वाग्लेले सजाय भुक्तान गरिसकेका छन् । हाल उनी सक्रिय राजनीतिबाट टाढै छन् ।

४. गोविन्दराज जोशी 
भ्रष्टाचार काण्डमा परेका अर्का नेता हुन् गोविन्दराज जोशी । २०६९ साउन साउन १० गते विशेष अदालतले पूर्वमन्त्री तथा काँग्रेस नेता जोशीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल सजाय सुनायो । तत्कालीन विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जोशीलाई २ करोड १६ लाख १४ हजार रुपैयाँ बिगो र बिगोबराबरको जरिवाना सुनाएको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम १ वर्ष र सार्वजनिक पद धारणसमेत गरेकाले उनलाई सोही ऐनको दफा २४ बमोजिम थप ६ महिना गरी डेढ वर्ष जेल सजायको फैसला भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू. ३ करोड ९३ लाख ६२ हजार बराबरको सम्पत्ति गैरकानुनी आर्जन गरेको भनी जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०४८ सालदेखि २०५९ जेठको पहिलो सातासम्म जोशीको आय र सम्पत्तिको जाँच गर्दा उनको वैध आय जम्मा ५१ लाख ९४ हजार रुपैयाँ हुनुपर्नेमा २ करोड ६८ लाख ८ हजार रुपैयाँ देखिएको अनुसन्धाले देखाएको थियो । 

जोशीको मुद्दालाई विशेषले भ्रष्टाचार निवारण ऐन, २०४८ बमोजिम पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दायर गर्नुपर्नेमा अवधि नघाएर दायर गरेको कारण देखाउँदै खारेज गरेको थियो । विशेषको सो निर्णयविरुद्ध अख्तियारले २०६३ मङ्सिरमा पुनः सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यही मुद्दा अहिलेसम्म किनारा लाग्न सकेको छैन । यद्यपि उनी पनि सक्रिय राजनीतिबाट टाढै छन् । 

तीन पटक गृहमन्त्री भइसकेका जोशी पहिलो पटक २०४८ साल वैशाखमा तनहुँ क्षेत्र नं. २ बाट सांसद बनेका थिए । त्यसपछिका वर्षहरूमा उनी दुई पटक तनहुँ क्षेत्र नं. १ बाट संसद्मा चुनिएका थिए । शिक्षा, समाज कल्याण, जलस्रोत र स्थानीय विकास मन्त्रालयसमेत सम्हालिसकेका जोशी २०२४ सालदेखि २०३४ सालसम्म विद्यालय शिक्षकका रूपमा कार्यरत थिए ।

चर्चित भ्रष्टाचार काण्डहरू

१. लाउडा काण्ड
२०५७ सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेका थिए । त्यहिबेला चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो । जुन लाउडा काण्डका नामबाट चर्चित छ । यो काण्ड चर्किएर  संसदको तत्कालीन अधिवेशन पूरै अवरुद्धसमेत भएको थियो । चर्चित लाउडा प्रकरणले नेपाल वायुसेवा निगमलाई दुई अर्ब रुपैयाँको नोक्सान गरेको निष्कर्ष निकालिएको थियो । यो काण्डमा काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुछिएका थिए । 

२. धमिजा काण्ड 
२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वायुसेवा निगमको कामकारवाहीमा हस्तक्षेप गरे । निगमले विमान किन्ने तयारी गरेको थियो । यसमा गिरिजाप्रसाद कोइरालाले भारतीय मूलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो व्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपका लागि मुख्य एजेन्ट बनाए । जुन ‘धमिजा काण्ड’को नामले चर्चित छ । यो प्रकरणमा नेपाली वायुसेवा निगमले ३९ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

३. चेज एयर काण्ड
यो काण्ड पनि वायुसेवा निगमसँगै सम्बन्धित छ । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा नेकपा (माले) का यामलाल कँडेल पर्यटनमन्त्री थिए । उनै यमलाल कँडेलले आफ्नो पार्टीका महासचिव बामदेव गौतम निकट हङकङ रानामगरलाई नेपाल वायुसेवा निगम अध्यक्ष बनाए । त्यसपछि जहाज र कार्यालयसमेत नभएको ‘चेज एअर’ नामको कम्पनीबाट बोइङ–७५७ भाडामा ल्याउने सम्झौता गरियो ।
नाम मात्रको सो कम्पनीका सिसिल विन्टर्ससँग सम्झौता गरिएको त्यो प्रकरणबाट निगमले ९ लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी व्यहोर्नु परेको थियो ।

४. चाइना साउथवेस्ट काण्ड 
२०५५ सालमा काँग्रेस–एमालेको संयुक्त सरकारले बी.के. मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेन्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग सम्झौता गरियो । एमाले नेता भीम रावल पर्यटनमन्त्री हँुदाको यो प्रकरणमा वायुुसेवा निगमले २२ करोड रुपैयाँको नोक्सानी व्यहोरेको थियो । नेपाली राजनीतिमा यो काण्ड निकै चर्चित रह्यो । 

५. एयरबस काण्ड
२०६६ सालमा नेपाल वायुसेवा निगमलाई डुबाउने ठूलो प्रयास भयो । एउटा न्यारोबडी र अर्काे वाइडबडी एयरबस विमान खरिदका लागि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना पठाउनुलाई भ्रष्टाचार भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष कंसाकार, नायव महाप्रबन्धकद्वय राजकुमार केसी र गणेश ठाकुर विरुद्ध अदालतमा मुद्दा पर्यो । 

मुद्दा प्रक्रियामा रहँदै एयरबसले २८ माघ २०६७ मा बैनाफिर्ता गरेको कारण थुनामा रहेका अभियुक्तहरूले सफाइ पाएको यो काण्डमा माओवादी पार्टीका शीर्ष नेताहरूकै संलग्नतामा रहेको चर्चा पनि चलेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप