शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ती महिला जसका कारण अमेरिका–चीनमा भारी तनाव

आइतबार, २३ मङ्सिर २०७५, ०९ : १६
आइतबार, २३ मङ्सिर २०७५

बीबीसी /करिश्मा वासवानी

चीनको चर्चित कम्पनी ह्वावेकी सिफओ (चीफ फाइनेन्सियल अफिसर) मेंग वांग्जो पक्राउ परेकी छिन् । वांग्जोमाथि इरानमाथि लगाएको अमेरिकी प्रतिबन्धको शर्त उल्लंघन गरेको आरोप छ ।

वांग्जो ह्वावे कम्पनीका संस्थापककी छोरी पनि हुन् । यस्तोमा उनको गिरफ्तारीको महत्व र त्यसबाट पाइने संकेतलाई बढाईचढाई पेश गर्नु मुश्किल छ । यसमा कुनै शंका छैन कि ह्वावे चीनीयाँ प्रविधीको ताजमा लागेको हिराजस्तो हो र वांग्जो यसकी राजकुमारी ।

डिसेम्बर एक तरिखमा एकातर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जी–२० समिटमा चीनियाँ राष्ट्रपति शी जिनपिंगसँग मिलेर व्यापार युद्धलाई कम गर्नेबारे विचार गरिरहेका थिए भने अर्कोतर्फ मेंग वांग्जोलाई क्यानडामा पक्राउ गरिएको थियो । अब वांग्जोलाई अमेरिकामा बुझाउने तयारी भइरहेको छ ।

यद्यपी, वांग्जोमाथि वास्तवमा के आरोप छ त्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन । तर इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको शर्तको उल्लंघन मामलामा उनीमाथि अनुसन्धान चलिरहेको छ । यो एक महिलाको गिरफ्तारी वा एक कम्पनीको मामला होइन ।

यो गिरफ्तारी अमेरिका र चीनबीचको त्यो सम्बन्धलाई क्षती पुर्याउन सक्छ जुन पहिले नै नाजुक छ । विशेषगरी जब दुई देशबीचको सम्बन्धको लामो र कटु इतिहार रहेको छ ।

सिल्क रोड रिसर्चको विनेश मोटवानी भन्छन्, ‘यी दुई देशबीच योभन्दा खराब समय अरु हुन सक्दैन । गिरफ्तारीपछि अब दुई देशबीच भइरहेको कुराकानी थप मुश्किल भएको छ । जी–२० सम्मेलनका लागि मानिसहरु यत्तिकै आशंकित भइरहेका बेला अब  स्थिती पहिलोको तुलनामा थप आशंकापूर्ण हुनेछ । ’

अमेरिका र चीनबीचको तनाव लगातार बढिरहेको छ र यसको कारण व्यापार युद्ध मात्र होइन । तर ब्यूनस आयर्समा चलिरहेको जी–२० शिखरवार्ताका बीच यस्तो लागेको थियो कि कम्तीमा दुबै पक्षले कुरा गर्ने निर्णय त गरेका छन् । यस्तो पनि लागिरहेको थियो कि दुबै देश मिलेर ९० दिनभित्र कुनै सहमतीमा पुग्न सक्छन् ।

कटु सम्बन्ध र व्यापारयुद्धको केन्द्रमा प्रविधीसँग जोडिएका मामला पनि छन् । ब्यूनस आयर्समा मतभेद सुल्झाउनका लागि चीन र अमेरिका कति स्तरसम्म एकजुट भएका थिए भन्ने त स्पष्ट भएको थिएन तर यो साँचो हो कि यसलाई वैश्विक अर्थव्यवस्थाका लागि सकारात्मक मानिएको थियो  ।

ह्वावेमाथि लामो समयदेखि निगरानी राख्ने पत्रकार एलियट ज्यागमनका अनुसार चीन यो गिरफ्तारीलाई ‘हमला र बन्धक’ को रुपमा हेर्छ ।

एलियट भन्छन्, ‘चीनलाई सम्झौता गर्ने तर त्यसको पालना नगर्ने देशको रुपमा हेरिन्छ । एउटा कुरा यस्तो पनि भनिँदैछ कि यो गिरफ्तारीले अमेरिकाको व्यापार युद्धको मोर्चामा चीनलाई घेर्ने मौका मिल्न सक्छ ।’

चीनियाँ पत्रिका ग्लोबल टाइम्सका चीनियाँ र अंग्रेजी संस्करणका सम्पादक हु शिजिनका अनुसार अमेरिकाले चीनमाथि हमला गर्ने एउटा तरिका खोजिरहेको छ । ग्लोबल टाइम्सलाई चीनियाँ सरकारको मुखपत्रको रुपमा हेरिन्छ ।

हु शिजिन भन्छन्, ‘यो ह्वावेलाई निच देखाउने कोसिस हो । त्यसकारण अमेरिकाले आफ्ना सहयोगी देशमाथि ह्वावेको उत्पादन प्रयोग नगर्न दबाब दिएका छन् । यो ह्वावेको प्रतिष्ठा नष्ट गर्ने कोसिस हो ।’

हालै अष्ट्रेलिया, न्यूजिल्याण्ड र ब्रिटेनसमेत अमेरिकाका विभिन्न सहयोगी देशले ह्वावेको फोन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपी, ब्रिटेनमा भने यसको एन्टिना र अन्य उत्पादनको प्रयोगमा रोक लगाउने अहिले कुनै योजना छैन ।

ह्वावेले जासुसी गरेको र चीनियाँ जनताको निजी डेटा चोरेको अहिलेसम्म प्रमाण फेला परेको छैन ।

यति हुँदा हुँदै पनि अमेरिकी सरकार र पश्चिमी मिडियाले ह्वावेलाई गलत तरिकाले पेश गर्दा कम्पनीका ठूला अधिकारी निकै निराश र रुष्ट छन् ।

कम्पनीका सूत्रको भनाई अनुसार ह्वावेले कानूनको पालना गर्ने भएकाले यसलाई एक आधुनिक र वैश्विक कम्पनीको रुपमा हेरिनुपर्छ । कम्पनीका अधिकारीका अनुसार यसका लागि अमेरिकाको धारणा गलत र निराधार छ ।

ह्वावेका संस्थापक एवं वांग्जोका पिता रेन जेन्फेई चीनियाँ सेनाका अधिकारी पनि थिए । यसै कारण एलियट जेगमनले हालैको लेखमा लेखेका थिए, ‘कम्पनीको चाइनीज पिपल्स लिबरेशन आर्मीको सम्बन्ध चिन्ता र अष्पस्टताको एक कारण हो ।’

यसै कारण अमेरिकाजस्तो देश ह्वावेजस्तो कम्पनीको विषयमा सशंकित रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप