शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा कर्णाली प्रदेशको पहिलो बैठकः एक महिने अभियान चलाउने निर्णय

शनिबार, २२ मङ्सिर २०७५, २१ : २६
शनिबार, २२ मङ्सिर २०७५

सुर्खेत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक गर्ने पहिलो प्रदेशसमेत बनेको छ ।
बैठकले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 
एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान वडा तहसम्म पुग्ने छ । बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्ताव तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुबै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी  दल एकीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले साविक एमाले र साविक माओवादी केन्द्रका संगठित सदस्यहरुको ब्यवस्थित अभिलेखीकरण गर्ने, चलअचल सम्पत्तिको एकीकृत ब्यवस्थापन गर्ने, प्रदेश कार्यालय स्थापना र ब्यवस्थापन गर्ने तथा बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले जानकारी दिए । 
 बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो भने उनीहरुलाई बधाइ पनि ज्ञापन गरिएको थियो । सदस्यहरुले परिचय आदानप्रदान पनि गरेका थिए ।
बैठकले बिशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपांगको उपचारका लागि ब्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 त्यस्तै प्रदेश स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदप्रति पनि बैठकले उच्च सम्मान प्रकट गरेको छ । 
बैठकले अन्य प्रदेशलाई उछिन्दै प्रदेशको नामाकरण र राजधानी तयलगायतका महत्वपूर्ण निर्णय गर्न सफल बनेकोमा प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
पार्टीका प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज प्रभाकरले एकताको भावना पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिए । 

 कर्णाली हेर्दा कठिन तर सम्भावनै सम्भावनाले भरिएको प्रदेश भएकाले चुनौतिसँग जुध्दै संभावनालाई यथार्थमा बदल्न सम्पूर्ण पार्टी पंक्ति नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने उनले बताए । 
बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले गरेका गतिबिधि प्रस्तुत गरे । 
उनले  प्रदेशको नाम र राजधानी, योजना आयोग गठन, पर्यटन बर्ष घोषणा, अर्गानिक प्रदेशको आधार तयार पार्नेलगायतका निर्णय गरी प्रदेशलाई नयाँ गतिमा अघि लगिएको बताए । 
केन्द्रमा सचिवालयका नेताहरु बीचकै विवादले बैठक अवरुद्ध भएको बेला कर्णालीमा भने भव्यताका साथ बैठक सम्पन्न भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप