शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेपालसँग एकीकरण गर्न फोरम नेपालले बनायो वार्ता समिति

शनिबार, २२ मङ्सिर २०७५, २० : ०३
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । 

राजधानीमा आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो ।

राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसअघि पनि एकीकरणका लागि छलफल भएको हो । 

दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक–पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरु भएपछि अहिले वार्ता र छलफल हाल स्थगित रहेको छ । 

उता, भारतको चाहना पनि राजपा नेपाल र फोरम नेपालबीच एकीकरण होस् भन्ने नै रहेको छ । मधेशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्नका लागि भारतले दुई दलबीच एकीकरण गराउन चाहेको स्रोतले जनाएको छ । 

भदौ २४ गते भारतबाट फर्केका उपेन्द्र यादव असोज १६ गते यसबारे महन्थ ठाकुरकै निवासमा गएर छलफल गरेका थिए । सो भेटमा ‘आफू एकीकरणका लागि तयार रहेको र तपाईंहरु पनि आफ्नो पार्टीमा कुरा गर्नुस्,’ भनेर यादवले ठाकुरलाई भनेका थिए । 

राजपा नेपाल गठन हुनुभन्दा पहिला तत्कालिन सद्भावना र तमलोपासँग पनि फोरम नेपालको एकीकरणको प्रयास भएको थियो । 

पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनि राजनीतिक समितिबाट केन्द्रीय समितिमा प्रस्ताव आएको हो । यद्यपी राजपा नेपालसँग मात्र होइन, मुद्दा र विचार मिल्ने अन्य दलहरुसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए । 

उनले भने, ‘मुद्दा र विचार मिल्ने जो कोहीसँग एकीकरण हुनसक्छ । त्यसैका लागि वार्ता समिति गठन गरेको हौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप