शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब एक जना अध्यक्ष नहुँदा पनि बैठक बस्नुपर्छ : नेता गौतम

शनिबार, २२ मङ्सिर २०७५, १९ : ४६
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको बैठकमा नौलो घटना भएको छ ।

चार जना शीर्ष नेताहरुको बैठक बहिस्कारका बावजुद बैठक सामान्य बहुमतले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

शीर्ष नेताको बहिस्कारबीच २९ गते स्थायी समिति बैठक बोलाउने नेकपाको निर्णय

शनिबार ३ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा शुरु नभएपछि सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठक स्थलबाट उठेर हिँडेका थिए ।

त्यसपछि दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्र बैठकमा बसेका थिए ।

बालुवाटार पुगेका माधव नेपालसहित ४ नेता ओली–प्रचण्डसँग रिसाएर हिँडे

‘हाम्रो बहिस्कारले नयाँ थितिको शुरुवात भयो’

यद्यपि, यस बैठकबाट नयाँ थितिको सकारात्मक शुरुवात भएको नेता बामदेव गौतमले बताएका छन् ।

रातोपाटीसँग कुरा गर्दै नेता गौतमले भने, ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाई गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौँ ।’

‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ,’ नेता गौतमले भने, ‘यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।’

उनका अनुसार यसअघि दुईमध्ये एक जना अध्यक्ष नहुँदा बैठक लामो समय बस्न नसक्ने अवस्था थियो । तर, आज आफूहरुले गरेको विरोधले एउटा नयाँ परम्पराको शुरुवात भएको नेता गौतमले दाबी गरे ।

‘अब एउटा अध्यक्ष भएन भने बैठक हुन्छ । प्रधानमन्त्रीले भ्याउनु भएन भने पनि सामान्य कोरम पुर्याएर अर्को अध्यक्षले पनि बैठक बसाल्न सक्ने हुनुभयो,’ उनले भने, ‘मलाई यो नयाँ परम्पराको थालनी भएपछि खुसी लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप