बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाहिरी चक्रपथको निर्माण कार्य यसकारण रोकियो

बुधबार, ११ साउन २०७४, ०७ : ३०
बुधबार, ११ साउन २०७४

बाहिरी चक्रपथअन्तगर्तको सतुंगल–चोभार सडकखण्डमा जग्गा प्राप्तिको समस्या टुंगो लाग्न नसक्दा निर्माण कार्य अलपत्र परेको छ । आजको नयाँ पत्रिकामा खबर छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्तिका लागि अझै मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सकेको छैन । जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्ले निर्णय नगरुञ्जेलसम्म सो सडकखण्ड निर्माणको काम रोकिने भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी विकास मन्त्रालयकै उदासीनताका कारण बाहिरी चक्रपथअन्तर्गत सतुंगल–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको जनाएको छ । जग्गा प्राप्तिको निर्णय गराइपाऊँ भन्दै प्राधिकरणले एक महिनाअघि नै मन्त्रालयमा निवेदनसहितको फाइल पेस गरेको थियो । तर, पटक–पटकको अनुरोधपछि पनि मन्त्रालयले सो फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्न सकेको छैन । प्राधिकरणका सूचना अधिकृत ध्रुव सापकोटाले जग्गा प्राप्तिसम्बन्धी निर्णय नभएकाले सतुंलग–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको बताए । ‘सतुंगल–चोभार क्षेत्रमा ल्यान्डपुलिङ गर्न आवश्यक छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । चाँडो निर्णय होस् भनेर प्राधिकरणले सबै फाइल मन्त्रालयमा पेस गरिसकेको छ । तर, मन्त्रालयले फाइल अघि बढाउन सकेको देखिएन,’ उनले भने ।

जग्गा प्राप्ति गर्न स्थानीयको स्वीकृति
प्राधिकरणले पहिलो चरणअन्तर्गत सतुंलगलदेखि चोभारसम्मको ६.७ किमि सडक निर्माण गर्ने तयारी गरेको छ । ल्यान्डपुलिङमार्फत जग्गा प्राप्त गरी सडक निर्माण गर्ने प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले सो क्षेत्रका स्थानीयसँग आवश्यक स्वीकृत लिइसकेको छ । स्थानीयबाट कुनै अवरोध नआएपछि प्राधिकरण सडक विस्तार कार्यमा अघि बढेको हो । प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले सडक विस्तार गर्न लागिएको क्षेत्रमा कुनै अवरोध नभएको बताए । ‘पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण गर्ने तयारी छ । यसका लागि १० हजारभन्दा धेरै स्थानीयसँग प्राधिकरणले सुझाब र सल्लाह लिइसकेको छ । कतैबाट पनि अवरोध आएन । तर, जग्गा प्राप्तिको निर्णय हुन नसक्दा काम रोकिन पुगेको छ,’ उनले भने ।

सडकको केन्द्रबाट दायाँ–बायाँ दुई सय ५० मिटर जग्गा लिइने
प्राधिकरणका अनुसार बाहिरी चक्रपथ निर्माणका लागि प्राधिकरणले सडकको केन्द्रबाट दायाँ–बायाँ दुई सय ५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनेछ । सडक भने ५० मिटर चौडाको बनाइने छ । लिइएका जग्गामा प्राधिकरणले आवश्यक सबै भौतिक संरचना निर्माण गर्नेछ । त्यसपछि सो जग्गा सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गरिदिनेछ । यसो गरिँदा सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्नुपर्दैन र अधिग्रहणबापत सरकारले जग्गाधनीलाई मुआब्जाबापतको रकम पनि दिनुपर्दैन । प्राधिकरणका अनुसार बाहिरी चक्रपथको कुल लम्बाइ ७२.६ किमि निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप