केन्द्रीय संस्करण
मुक्तदृष्टि

यो कसको सरकार ?

person explore access_timeमंसिर २२, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

१) “सरकारलाई सोधौं भने सिंहदरबारभित्र बस्छ । त्यहाँ पस्न पाइँदैन । सरकार भर्खरै तीन दिन त कालीमाटीको सोल्टी होटलमा पनि बसेछ । त्यहाँ पनि हामीजस्ता सर्वसाधारणले पस्न सकिने कुरा भएन । 

नेपालको यो अहिलेको सरकार कसको सरकार ? कसका लागि बनेको सरकार ? मनमा बिछट्टको खुल्दुली जागेको छ । कसलाई सोधौं ? तपाईँलाई नै सोध्छु । तपाईँ मेरा नानीहरुलाई पढाउने गुरु । तपाईँलाई थाहा छ । भन्नुहोस् त यो सरकार कसको सरकार ?” झ्वास्स हेर्दा किसानजस्ता देखिने एक युवक एक जना शिक्षकसित सोधिरहेका सुनिए । 

यो बागबजारको एउटा चियापसलको कुरा हो । शिक्षक मेरा परिचित मित्र थिए । मतिर हेरेर मुसुक्क हाँसे  अनि  किसान युवकतिर फर्केर प्रतिप्रश्न गरे, “किन र ?”

“मलाईभन्दा बढी तपाईँलाई थाहा छ नि सर” किसान युवकले भन्यो, “सरकार हामी किसानको दुःख देख्दैन, सुन्दैन । हामी जनताको आवश्यकता र चाहनाको वास्ता गर्दैन । 

अन्यायमा परेका नेपालीलाई न्याय दिन सक्दैन, दिँदैन । न्याय माग्न सडकमा निस्केका जनताको टाउको फोर्छ । खुट्टा भाँच्छ । ज्यानै पनि लिन्छ । लिएको छ । मुलुकमा काम नपाएर पचासौं लाख युवायुवती विदेशिनु पर्दा यो  सरकारलाई चिन्ता छैन । मुलुकमा उद्योग इलम खोलेर जनताका छोराछोरीलाई काम दिउँ, मुलुकको उन्नति पनि गरौं भन्दैन । 

जनताको करबाट जुटेको राज्यको ढुकुटी भ्रष्टाचार गरेर सक्छ । भोज, मोज र महँगा गाडीमा  सक्छ । संविधानमा धर्मनिरपेक्षता लेख्छ, व्यवहारमा विदेशी धर्मप्रचारकहरुलाई बोलाएर प्रचारसभा गर्छ ।

 यो सबै देख्दा तपाईँको चित्त दुख्दैन र ? विदेशी धर्मप्रचारमा यो सरकारको कत्रो चासो ? भर्खरै मुन नामकी एउटी कोरियन महिला आएर सिंगो सरकार र तीनका भारदारलाई भेला गराएर तामझाम चाकरीका बीच धर्मप्रचार गरेर गइन् । 

प्रधानमन्त्री लगायत मन्त्री कर्मचारी र नेताहरु उनको खुसीका लागि चार दिनसम्म अहोरात्र खटे । सरकारी ढुकुटीबाट करोडौं खर्च गरे ।

 कम्युनिष्टलाई शैतान भनिहिँड्ने मुन नामकी ती महिलाले ‘म ईश्वरकी छोरी हूँ’ भन्दै कम्युनिष्ट नेता माधवकुमार लगायतका कामरेडहरुलाई समेत रक्सीले अभिषेक गरिन् । 

रक्सी नै पिलाइन् । अझ त्यो रक्सीमा अरु के–के मिलाएको हुन्छ पनि भन्थे । त्यस्तो रक्सी पिलाइन् । लाइनमा राखेर आशीर्वाद दिइन् । धर्मप्रचारको निर्देशन पनि दिइन् । विदेशी धर्मप्रचारिका मुनबाट अभिषेक, आशीर्वाद एवम् छोराको सम्बोधन पाउँदा गजक्क परेर फुस्स फुलेका अनुहारहरु टीभीमा पनि देखिए । 

शायद तिनीहरुले त्यतिवेला आफूलाई महान् बनेको ठाने । गौरव माने । स्वदेशका जनतालाई सजिलै एकछिन समय दिन नसक्ने प्रधानमन्त्रीले मुनको धर्मप्रचार अभियानलाई झण्डै चार दिनसम्म अहोरात्रको समय अर्पण गरको सुनियोे । 

सरकारी मन्चनमा भएको यो डिजाइनदार नाटक देख्दा तापाईँलाई अचम्म लागेन ? यो सरकार कसको सरकार हो ? भनेर झस्कनु भएन ? हामी नेपाली जनताबाट निर्वाचित हाम्रै वामपन्थी सरकार हो भने यतिसम्म लाजमर्नु काम गर्न नपर्नेजस्तो लागेन ? तपाइँ नै भन्नुहास् त सर, के यो सरकार मुनको सरकार हो ? विदेशी धर्मप्रचारकहरुको सरकार हो ?” युवकको आवाजमा आक्रोश थियो ।

शिक्षकले किसान युवालाई सुन्ने क्रममा चिया पिइसकेका थिए । उठ्दै भने, “मलाई अहिले हतार छ । उतै आउनुस् न । कुरा गरौंला ।”

शिक्षक फटाफट काउन्टरतिर लागे । पैसा तिरे । बाहिर निस्के । निस्कँदा मतिर फर्केर ‘गएँ है !’ भन्न पनि भ्याएनन् । उनी किसान युवालाई छल्ने हतारमा थिए ।

किसान युवाले चिया अर्डर गरे । विचारमग्न हुँदै चिया पिउन थाले । लाग्छ, नानीलाई पढाउने सरले हामी अभिभावकको गुनासो सुन्ने र आफूलाई लागेको कुरा भन्ने हिम्मत नगरेकोमा युवा गम्भीर थिए ।

सरकारका क्रियाकलाप देखेर आज नेपालमा युवाहरु अप्रत्यााशित रुपमा गम्भीर छन् ।

२) भर्खरैको भेटमा एक जना मित्रले शङ्का व्यक्त गर्दै भन्नुभयो, “यो सरकारी सहभागिता सहितको विदेशी धर्मप्रचार अभियान नेपालमा अहिले देखिएको कम्युनिष्ट लहरमाथि सुनियोजित डढेलो त होइन ? नत्र सरकारी कम्युनिष्टहरुले मुनका पछाडि लागेर भस्मासुर बनिनुको आवश्यकता नै के थियो र ? यसै त कोही पनि सचेत जन ‘आफूलाई आपैmँ डढाउने भस्मासुर’ बन्न चाहँदैन !”

धर्मप्रचारमा सरकार सरिक हुनु हुँदैन भन्ने आवाज जनस्तरमा नउठेको पनि होइन । अझै त्यो आवाज जन–जनमा व्यापक नै छ । विकास निर्माण र शासन प्रशासनका मामिलामा निर्देशन दिएका भरमा कर्तव्य चुक्ता ठानिआएका हाम्रा प्रधानमन्त्रीले धर्मप्रचारिका डलरवती ‘आमा’ मुनको कार्यक्रममा खटेको सुन्दा आश्चर्य नमान्ने कोही भएनन् । 

सडकजामको तामझामका साथ सरकार पूरै खट्यो । सर्सर्ती हेर्दा यो आश्चर्यजनक घटना नै हो । 

(क) नेपालमा अहिले धर्मनिरपेक्ष संविधान छ । धर्मनिरपेक्षताको तात्पर्य सर्वधर्म समानता पनि होइन । निरपेक्ष भनेपछि राज्यले धर्म सम्प्रदायमा यसरी संलग्न हँुनै मिल्दैन । 

(ख) मुलुकमा कम्युनिष्ट नामधारी सरकार छ । नामको पनि इज्जत हुन्छ । जनताले यसै नामलाई मतदान गरेका हुन् । जनताका मतको अपमान गर्न पाइँदैन । नामको बदनाम गर्ने अधिकार कसैलाई छैन । कि त यो नाम फेरेर धर्म सम्प्रदाय अनुसारकै नाम राखिनुपर्छ । कि त नामअनुसारको आचरण गरिनुपर्छ । होइन र ? 

(ग) कम्युनिष्टविरोधी मुन ! कम्युनिष्टलाई शैतान भन्ने मुनको ‘कम्युनिष्ट’ सरकारकै आयोजनामा यत्रो सम्मान किन ? अब नेकपाको निर्देशक सिद्धान्त पनि मुनवाद नै हुने हो त ? त्यसै हो भने त्यो पनि समयमै जनताले थाहा पाउनु पर्छ । 

साथै यी मुनका धर्मछोरा तथा धर्मछोरी बनेकाहरुलाई कमरेड सम्वोधित भएर हिँड्दा रमाइलो पनि के होला र ? नैतिकताको सवाल पनि छ ।

(घ) मुनसम्मान र सम्मतिको यो क्रियाकलाप नेपाली जनताको धार्मिक सहिष्णुतामाथि टड्कारो व्यङ्ग्य पनि हो । निर्वाचित सरकारले जनताको संस्कृतिमाथि व्यङ्ग्य गर्न मिल्छ ? यसको जवाफ कसले दिने ? 

(ङ)सरकारी खर्च गरेर यस्ता सम्मेलनको आयोजना गर्नु र विदेशी धर्मप्रचारिकाका हातबाट मुलुकका प्रधानमन्त्रीले पुरस्कार थाप्नु राष्ट्रिय लज्जाको विषय हो । यो किटेरै भन्न सकिने कुरा होइन र ?

(च) कुनै व्यक्तिले ‘म ईश्वरकी छोरी हूँ’ भन्नुलाई सरकारीस्तरमै स्वागत सम्मानसहितको मान्यता दिएर उनको अभिषेक थाप्नु, मधुपानमा सरिक हुनु र आशीर्वाद लिनु भयङ्कर अन्धविश्वासलाई प्रश्रय दिनु होइन र ? आजको युगमा सरकारीस्तरमै अन्धविश्वासलाई प्रश्रय दिनु सरासर अर्गेल्याइँ हो  भन्दा अत्युक्ति हुन्छ र ?

(छ) सत्तारुढ दललाई नै वदनाम गर्ने गरी यस्तो यो सम्मेलन कसले भिडायो ? यसको रणनीतिक उद्देश्य के हो ? जो सतहमा देखिए सूत्रधार पनि तिनै हुन् कि, उपियाँ फड्केर जुम्रा घानमा परेका हुन् ? घानमा परेका हुन् भने यसको अनुसन्धान कहिले हुने ? प्रतिवेदन कहिले आउने ? यो पनि आम जनताको लागि चासोको विषय होइन र ?

(ज) एसिया प्यासिफिक सम्मिट नामक यस धर्मप्रचार अभियानमा सरकारले करोडौं धनसाशि खर्च गर्यो भनिन्छ । यस खर्चको हिसाव सरकारले कुन शीर्षक अन्तर्गत कसरी पेश गर्छ र त्यो कसरी वैध ठहरिन्छ त्यो थाहा पाउने अधिकार जनतालाई पनि त होला नि । नत्र यत्रो प्रचारको यो लोकतन्त्र के लोकतन्त्र ? प्रश्न यो पनिछ । छैन र ?

यी जनताका आवाजहरु हुन् । यहाँ लेखकद्वारा बुँदाबद्ध गरिएका हुन् ।  आवाजहरु जायज सुनिएका छन् । ‘खराब काम गर्छ भने मित्रको पनि आलोचना गर्नुपर्छ, असल काम गर्छ भने शत्रुको पनि प्रशंसा गर्नुपर्छ’ भन्ने नेपाली लोकमान्यता पनि रहिआएको पाइन्छ ।

 यद्यपि आजको यो सरकार नेपाली जनताको मित्र रहन सकेको छ कि छैन छुट्टै अनुसन्धानको विषय बनिसकेको छ । ‘यो सरकार कसको सरकार ?’ जनताले यसरी प्रश्न गरेको सुनिनु गम्भीर अवस्थाको बोधक हो । रमाइलो कुरा होइन । यसैले उतर्सिएर काम बन्दैन । सवैले गम्भीर बन्नु आवश्यक छ ।

हाम्रा सत्तासीन कमरेडहरु हिँंग नभए पनि हिँग बाँधेका टाला त अवश्य पनि हुन् । आलोचना र आत्मआलोचना कम्युनिष्टहरुको राजनीतिक संस्कृति पनि हो । 

गल्ती हुनु मानवीय स्वभाव हो । सम्हालिनु विशिष्टता हो । आशा गरौँ हाम्रा सत्तासीन कामरेडहरुले जनसमक्ष आत्मआलोचना गर्नु हुनेछ र कुनै स्वार्थ वा मोहबस यस्ता क्रियाकलापमा लाग्नुभएको रहेछ भने सार्वजनिक रुपमा जनतासित माफी पनि माग्नु हुने छ । 

विनम्रताले होचो भइँदैन बरु उचाइ थपिन सक्छ । नीतिकारले पनि भनेका छन् — 

“क्षमा वलम् अशक्तानाम् शक्तानाम् भूषणम्र क्षमा 

क्षमा वशीकृति र्लोके क्षमया किम् न सिध्यति ?

अर्थात् निर्वलहरुका लागि क्षमा बल हो । बलवानहरुका लागि क्षमा आभूषण हो, गहना हो । क्षमाले कसैलाई पनि पगाल्न सक्छ । क्षमाबाट सच्याउन नसकिने केही पनि छैन ।” 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...