बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! सूर्तिजन्य पदार्थको सेवनले तपाईँको स्वास्थ्यमा पुर्‍याउँछ यस्तो असर

शनिबार, २२ मङ्सिर २०७५, १३ : ५४
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ –सूर्तिजन्य पदार्थ मानव स्वास्थ्यको लागि हानिकारक छ । शरीरमा लाग्ने विभिन्न रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ नै भएको चिकित्सकहरुले बताउँदै आएका छन् । 

तरपनि  नेपालमा सूर्तिजन्य पदार्थ सेवन गर्ने नागरिकको यकिङ तथ्याङ्क  छैन । यद्यपी कूल जनसंख्याको ३० प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने अनुमान गरिएको छ । 

 सूर्तिजन्य पदार्थ सेवन गर्नेमा ग्रामिण क्षेत्रका सर्वसाधरणदेखि शिक्षित व्यक्तिहरु समेत रहेका छन् । वर्षेनी मृत्यूदर बढ्दै जानुमा सूर्तिजन्य पदार्थलाई पनि कारक मानिँदै आएको छ ।  

सूर्तिजन्य पदार्थबाट मानव स्वास्थ्यको लागि गर्ने नकारात्मक असरलगायको विषयमा केन्द्रीय रहेर वरिष्ठ क्यान्सर रोग विशेष डा राजेन्द्र प्रसाद बरालले जानकारी गराएका छन्ः 

 सूर्तिजन्य पदार्थको परिभाषा 
सामान्यतः चुरोट, बिडीजस्ता शब्दको प्रयोग गर्नु गलत हो । शब्द प्रयोग गर्दा सूर्तिजन्य पदार्थ भन्दा राम्रो हुन्छ । सूर्तिको प्रयोग धुवाँबाट पनि हुन्छ, चपाएर खाने चलन पनि छ । 

धुवाँमा खाने सूर्तिजन्य पदार्थमा चुरोट, बिडी, हुक्का आदी हुन् । खैनी, पानपराग, गुट्का पनि सूर्तिजन्य पदार्थ हुन् । मुखको क्यान्सर, फोक्सोको क्यान्सर सूर्तिजन्य पदार्थ सेवन गर्दा हुन्छ भन्ने कुराको बारेमा धेरैलाई जानकारी छ । तर शरीरमा हुने सबै क्यान्सरको प्रमुख कारकतत्व सूर्तिजन्य पदाथ नै हो भन्ने बारेमा भने कमैलाई मात्रै जानकारी छ ।

क्यान्सर बाहेक फोक्सोको रोग, मधुमेह, मुटुरोग लगायत अरु रोगहरुलाई पनि सूर्तिजन्य पदार्थले नकारात्मक असर गर्छ । सानै उमेरमा कान कम सुन्ने, आँखा कम देख्ने, दाँत नराम्रो हुने, श्वासप्रश्वास गन्हाउने, युवा उमेरमै छाला चाउरी पर्ने, हड्डीमा प्वाल पर्ने जस्ता समस्या पनि सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने खतरा हुन्छ । 

क्यान्सर सूर्तिजन्य पदार्थ सेवन नगर्ने व्यक्तिलाई पनि हुन्छ तर हरेक क्यान्सरको प्रमुख कारकतत्व भने सूर्ति नै हो ।

 सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई ७० देखि ८० प्रतिशत क्यान्सर लाग्ने सम्भावना हुन्छ । सेवन नगर्ने व्यक्तिलाई क्यान्सर हुँदैन भन्न खोजेको होइन । तर, धेरै सम्भावना सूर्तिसेवन गर्ने व्यक्तिमा हुन्छ । विश्वका विकसित राष्ट्रहरुमा सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या घट्दै गइरहेको भएपनि नेपालमा न्यूनीकरण हुन सकेको छैन ।

सूर्तिजन्य पदार्थ सेवन गर्नेमा युवा धेरै 
धुम्रपान प्रयोग गर्नेमा युवाहरुको संख्या धेरै रहेको छ । सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले पनि युवाहरुलाई नै लक्षित गर्ने गरेको छ । युवाहरुले सूर्तिजन्य पदार्थ प्रयोग गर्दा व्यवसायीको व्यापार लामो समय सम्म चल्ने हुँदा कम्पनीले पनि युवालाई नै लक्षित गरेको देखिन्छ । 

चुरोटको खिल्लीमा ४ हजार रसाइनिक पदार्थ हुन्छ । ४ हजार मध्ये ६० देखि ७० वटाले मानव स्वास्थ्यमा क्यान्सर गराउन सक्छ । ४ हजार रसाइनिक पदार्थ भनेको सामान्य होइन । यसले शरीरको कुनै पनि भागमा नकारात्मक असर गर्न सक्छ । सूर्तिजन्य पदार्थ तनाव हुँदा फ्रेस हुन खाने भन्नेहरु धेरै छन् तर यसले न तनाव हटाउँछ न त खुसी नै दिन्छ ।

 ‘म महंगो चुरोट खान्छु, सुरक्षित छु’ भन्ने सोचाई राख्नु गलत हो  ।  महंगो होस् या सस्तो, सबैखाले सूर्तिजन्य पदार्थ हानिकारक हुन्छन् । 

अर्काे कुरा सूतिजन्य पदार्थले असर गर्नको लागि आफैँले खानु पर्छ भन्ने पनि छैन । चुरोट खाँदा एकतिहाई खाने व्यक्तिको फोक्सोमा जान्छ भने दुई तिहाई वातावरणमा जान्छ । 

जसले अन्य व्यक्तिलाई असर गर्छ भने त्यसबाट रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ ।  जसलाई सेकेन्ड ह्याण्ड स्मोकिङ अर्थात प्यासिक स्मोकिङ भनिन्छ । प्यासिक स्मोकिङ् अर्थात अरुले खाएको धुम्रपानको असरले पनि विश्वमा वर्षेनी ६ देखि ७ लाख मानिसको मृत्यू भइरहेको छ । 

नेपालमा यतिनै नागरिकले धुम्रपान गर्छन् भन्ने तथ्याङ्क नभएपनि ३० प्रतिशतले धुम्रपान गर्छन् । गाँउघरमा चूरोट तानेन भने तागतनै आउँदैन्, काम गर्न सकिन्न भन्ने भ्रम पनि व्याप्त छ । धुम्रपान–सूर्तिजन्य पदार्थ सेवन खराब हो भन्ने सन्देश ग्रामिण समुदायसम्म पु-याउन जरुरी छ । 

सूर्तिजन्य पदार्थ झन् गर्भवती महिलाले प्रयोग गर्नै हुन्न । सूर्तिजन्य पदार्थले बच्चालाई असर गर्छ । सूर्तिजन्य पदार्थ सेवन गरेको महिलाबाट जन्मिने बच्चामा लुलो, लङ्गडो हुने, तौल कम हुने समस्या हुन सक्छ । ९ महिना नपुग्दै बच्चा जन्मिने समस्या पनि हुन्छ ।  

चुरोटले व्यक्तित्व विकास गर्दैन
  नेपालमा सूर्तिजन्य पदार्थ सेवन गर्नेमा सामान्य मजदुरी गर्ने व्यक्तिदेखि शिक्षित र ठूला घरानियासम्म रहेका छन् । सामान्य व्यक्तिले ज्ञान नभएर सूर्तिजन्य पदार्थ सेवन गरेका छन् भने शिक्षित व्यक्तिहरुले आफ्नो शानको लागि सेवन गर्छन् । 

 उनीहरुमा महंगो चुरोट खाँदा व्यक्तित्व विकास हुन्छ भन्ने भान भएको छ तर यो गलत हो । कुनै पनि धुम्रपानले व्यक्तित्व विकास हुँदैन । सबै सूर्तिजन्य पदार्थ हानिकारक छन् । त्यसैले सकिन्छ तत्काल छाड्नुपर्छ, सकिँदैन बिस्तारै छोड्नुस् ।

तर सूर्तिजन्य पदार्थ छोड्नु अत्यन्त जरुरी छ । गाह्रो हुनेले तलतल लागेको बेलामा प्रशस्त पानी खाने, म्यूजिक सुन्ने गरेर आफूलाई कन्ट्रोल गरेर पनि छोड्न सकिन्छ । तर छोड्छु, भन्ने प्रण सेवन गर्ने व्यक्ति आफैँले गर्नुपर्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप