बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो

शनिबार, २२ मङ्सिर २०७५, १३ : १४
शनिबार, २२ मङ्सिर २०७५

‘मैले कमाएको एक–एक युरो भविष्यमा नेपालकै लागि खर्चिनेछु,’ नायिका आशिका तामाङले सुनाइन्, ‘जर्मनीमै रहे पनि भविष्य नेपालमै खोज्ने हो ।’ सन् २०११ देखि जर्मनीमा स्टाफ नर्सको भूमिका निर्वाह गर्दै आएकी नायिका तामाङले अहिलेसम्म त्यहाँको रातो पासपोर्ट लिएकी छैनन् । त्यतिमात्रै होइन, जर्मनीको नागरिकतासमेत नलिएको उनको भनाइ छ । समाजसेवीसमेत रहेकी उनले जर्मनीको रातो पासपोर्ट नलिएकोमा साथीहरू अचम्मित छन् । धेरैका लागि जर्मनी सपनाको देश हो । आफूलाई त्यस्तो लाग्दैन भन्ने चलचित्र ‘सुश्री’ की नायिका तथा निर्मातासमेत रहेकी आशिका तामाङसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
नेपालमा रहँदा दालभात, तरकारी नै खान्छु । नेपाली खाना असाध्यै मन पर्छ । नेपालीले बिहान बेलुका नै खाना खाने गर्छौं । जर्मनीमा त्यस्तो खाइँदैन । जर्मनीमा सातामा एकपटकमात्रै खाना खाने गरिन्छ । जर्मनीमा रहँदा चिकेन सिजलर खाइरहन्छु । जुन असाध्यै मन पर्छ । 
जर्मनीमा शनिबार र आइतबार बिदा हुन्छ । म आइतबार खानकै लागि रेष्टुरेन्ट पुग्छु । जर्मनीमा रगतसहित ‘हाफ बोयल’ गरेको मासु खाने चलन छ । तर, मलाईचाहिँ त्यो मन पर्दैन । मलाई घिरौंला र फर्सीको तरकारी पनि मन पर्दैन  । 
 

मेरो पाेसाक
समाजले पचाउने फेसन गर्न मन पर्छ । अरूले लगाइरहेकोभन्दा फरकखालको कपडा लगाउन मन पराउँछु । त्यस्तो कपडा लगाउँदा मासिक पाँच सय युरो खर्च हुन्छ । कपडामा नुडमोह छँदै छ । प्रायः रेडिमेड कपडा लगाउने गर्छु । म कपडाको ‘क्वालिटी’ मा विश्वास गर्छु ।

मेरो फिटनेस
स्टाफ नर्स भएकाले स्वास्थ्यमा ध्यान दिएकी छु । म बेलुका पाँचदेखि आठ बजेसम्म जिम्न्यास्टिक गर्छु । जिम्न्यास्टिक गर्न अल्छी लागे स्वीमिङ जान्छु । त्यतिमात्रै होइन, दैनिक १० किलोमिटर हिँड्न अल्छी गर्दिनँ । 

मेरो अध्ययन
पेसाले स्टाफ नर्स भए पनि चलचित्रसम्बन्धी गहिरो रुचि छ । त्यही भएर सोही विषयका किताब अध्ययन गर्न जाँगर चलेको छ । त्यसो भन्दैमा अन्य विधाका किताब पढ्दै नपढ्ने भन्ने होइन ।  

मेरो घुमफिर
घुमफिर गर्न कसलाई मन नपर्ला । मन पराउनेमध्ये म पनि एक हुँ । घुमफिरमा असाध्यै रुचि भएकाले सातामा एकपटक जर्मनीबाट घुम्न टाढै निस्कन्छु । अस्ट्रिया, फ्रान्स, स्वीट्जरल्यान्ड र भारत घुमेकी छु । घुमेकामध्ये मलाई स्वीट्जरल्यान्ड असाध्यै मन परेको थियो । नेपालको पोखरा पनि त्यत्तिकै मन पर्ने ठाउँ हो । जीवनमा एकपटक मनाङ, मुस्ताङ र इटाली पुगिछाड्ने रहर छ । जर्मनीमा वर्ष दिनमा दुई महिना बिदा हुन्छ । त्यतिबेला मज्जाले घुम्दै आएकी छु ।

मेरो फुर्सद
मानिसलाई फुर्सद कहिल्यै हुँदैन । जोकोहीलाई सोधे पनि यही उत्तर दिने गर्छन् । फुर्सद नभए पनि निकाल्नुपर्छ । व्यस्तताले मानिसलाई मिहिनेती बनाउँछ । सकारात्मकमात्रै सोच्ने बनाउँछ । नेपाली उखान छ नि, ‘अति भयो भने खती हुन्छ ।’ त्यसलाई समेत ध्यान दिनुपर्छ । 

मेरो खेलकुद
साबिक गजुरी–२ मलेखु धादिङ हो मेरो घर । मैले १० कक्षा पढ्दासम्म डन्डिबियो, घ्वाइँ, भलिबल खेलेकी थिएँ । तर, फुटबलचाहिँ हेर्न रमाइलो लाग्छ । फुटबल नखेले पनि हेरेर मनोरञ्जन लिने गरेकी छु । म क्रिस्टियाना रोनाल्डोकी ‘फ्यान’ हुन् । 

मेरो मोबाइल 
जर्मनीमा बसोबास गर्ने मानिसले कुन ब्रान्डको मोबाइल बोक्लान् ? उनले सोनी एक्सपारिया जेड देखाइन् । पाँच वर्षदेखि प्रयोग गर्ने मोबाइलको सात सय युरो परेको थियो । 

मेरो चलचित्र
जर्मनीको फ्राइबग (फ्राइबग सिटीको अलि भित्रीगाउँ) मा बसोबास गर्ने उनले नेपाल आउँदा नेपाली चलचित्र हेर्न छाड्दिनन् । नेपाली चलचित्र ‘सुश्री’ की नायिका आशिका तामाङ नेपाल आउँदा धितमरुन्जेल नेपाली चलचित्र नै हेर्ने गर्छिन् । जर्मनीका मानिस चलचित्रभन्दा थिएटरमा रमाउँछन्  

मेरो स्वास्थ्य
आजका मितिसम्म पूर्ण स्वस्थ छु । दैनिकजसो शारीरिक अभ्यास गर्छु । ‘गेट (मुख) सफा भए पेट सफा हुन्छ भन्ने भनाइसँग सहमत छु । खानेकुरामा विशेष ध्यान दिन्छु । महिनैपिच्छे ‘होलबडी चेकअप’ गराउँदै आएकी छु । सकारात्मक सोच्नु भनेको स्वस्थ रहनु पनि हो । खुसीभन्दा ठूलो सम्पत्ति अरू हुँदैहुँदैन । संसारको सबैभन्दा खुसी मानिस मै हुँ जस्तो लाग्छ । 

मेरो संगीत
नेपाली गीत–संगीत सुनेर नरमाउने नेपाली को होलान् र ? गीत–संगीत सुनेर रमाउनेको बाहुल्य छ । जर्मनीमा रहे पनि म नेपाली गीत–संगीतसमेत सुनिरहेकी हुन्छु । मलाई नेपाली र अंग्रेजी गीत सुन्न मन पर्छ । अञ्जु पन्त, मेलिना राई र प्रमोद खरेलका आवाज कर्णप्रिय लाग्छ । 

मेरो भूल
जान–अञ्जानमा भूल गर्नु मानवीय स्वभाव नै हो । म पनि कमजोरीसहितको मानिस हुँ । लाग्छ– संसारमा सबैभन्दा धेरै गल्ती गर्ने मानिस मै हुँ । मैले गल्ती गरें भने बुवा (धर्मबुवा) लाई सुनाउँछु । मैले गल्ती गर्नसाथ सुनाउँदा उहाँ (बुवा) ले तैंले भूल गरें भन्छेस् त्योभन्दा दोब्बर मैले गरेको छु भनिदिनुहुन्छ । 
कक्षा १० को परीक्षा चलिरहेको थियो । म गणित विषयमा कमजोर थिएँ । कमजोर भएकाले गणितको चिट सारिरहेकी थिएँ । सरले देख्नुभएपछि मलाई बाहिर निकालिएको क्षण आजसम्म बिर्सन सकेको छैन । 
मेरो सौन्दर्य
युरोपमा कपाल ‘कलरिङ’ गर्ने फेसन नै चलेको छ । मैले पनि गर्छु । केही वर्षअघि कपाल ‘ब्लु’ गरेकी थिएँ । कपाल कालो भएकाले देखिएन । 
सातामा एकपटक ओयल मसास र फेसियल गर्ने बानी छ । घरबाहिर निस्कनअघि सनब्लक प्रयोग गर्छु । मेकअपसमेत गर्छु । सातामा एकपटक घरमै अनुहारको स्टीम लिन बिर्सन्न ।

मेरो प्रेम
सत्य बोल्न साहस चाहिन्छ भन्ने गरिन्छ । ममा त्यो साहस छ । म कसैसँग दुई वर्ष ‘रिलेसनसिप’ मा रहें । त्यसपछि हाम्रो सम्बन्ध टुट्यो । म अलि स्वतन्त्रखालकी छु । उन 
(चिकित्सक) लाई त्यस्तो मन पर्दैनथ्यो । उनको चाहना हुन्थ्यो– म कोहीसँग नबोलोस्, नहिँडोस् । जुन सम्भव थिएन । त्यसो भएकाले हामी अलग्गियौं । हामी अलग्गिए पनि हिजोआज साथी–साथी छौं ।

मेरो सपना
नेपाललाई नेपालजस्तै बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । नेपालजस्तै नेपालका प्रत्येक वडामा सुविधायुक्त स्वास्थ्यचौकी भइदेओस् । प्रत्येक वडामा १२ कक्षासम्म पढ्न पाइने विद्यालय होस् । बिहानदेखि बेलुकासम्म काम गर्दा कम्तीमा दुईछाक खान पुगोस् । घामपानीबाट ओतिन प्रत्येक नेपालीको घर होस् । त्यति भए कति जाती हुन्थ्यो होला । मैले परिकल्पना गरेको नेपाल त्यतिमात्रै भइदिए लाख हुने थियो । 

म सन् २०११ मा जर्मनी पुगेकी हुँ । सुविधासम्पन्न देशमा रहे पनि भविष्य नेपालमै खोज्ने प्रण गरेकी छु । त्यो प्रण व्यवहारमा उतार्न हतारिएकी छु । विदेशमा ‘सेटल’ हुने योजना त के सपनासम्म देखेकी छैन ।

मेरो मृत्यु 
जन्मेपछि मर्नुपर्छ । अजम्बरी कोही हुँदैनन् । यो ध्रुवसत्य हो । मृत्यु सहज होस् । अरूलाई दुःख नदिई मर्न पाइयोस् । मेरो मृत्युपछि आशिका तामाङ असाध्यै जाती थिई भन्दिने होऊन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप