शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व रेकर्ड बनाउन लगातार १२६ घण्टा नाच्दाको त्यो क्षण

शनिबार, २२ मङ्सिर २०७५, १२ : ५९
शनिबार, २२ मङ्सिर २०७५

नाच्न त सबै नाच्छन् । तर घन्टौँ नाच्नु भनेको चानचुने कुरा होइन । त्यसमा पनि नाचेरै विश्व रेकर्ड बनाउनु भनेको जो कोहीका लागि कल्पना बाहिरको कुरा हो । त्यही कुरा गरेर देखाएकी छन् उनले । उनी, अर्थात बन्दना नेपाल ।

बन्दनाले लगातार १२६ घण्टा नाचेकी हुने । उनको त्यही १२६ घण्टा लामो नाच अहिले गिनिज बुक अब वर्ल्र्ड रेकर्डमा लेखिने प्रक्रियामा छ । 

विश्व रेकर्डका लागि उनले यति समय नाच्नु नै पर्ने थियो । किनकि भारतको केरलाकी एक महिलाले लगातार १२३ घन्टा नाचेर अहिलेसम्मकै सर्वाधिक समय नाच्नेमा आफ्नो नाम लेखाएकी छन् । 

रेकर्डको यो अभियानमा उनी सफल भएकी छन् । उनले लगातार १२६ घन्टा नाचेको भिडियो लगायतका प्रमाण रेकर्डका लागि गिनिस बुकको कार्यालयमा पठाइएको छ । केही दिनमै आफ्नो कीर्तिमानको प्रमाणपत्र आउनेमा बन्दना विश्वस्त छिन् । 

दुखाई भूलेँ
१२६ घन्टा नाच्नु जोखिमपूर्ण काम थियो । यो उनले राम्ररी बुझेकी थिइन् । तर, रिक्स नमोली सफलता प्राप्त गर्न नसकिने बुझेकी उनी नृत्यमा होमिइन् । 

नृत्य सुरु गर्दा उनी पूर्ण रुपमा ‘फिट’ थिइन् । नृत्य सुरु गरेको एक दिन, दुई दिन गरेर समय बढ्दै जाँदा उनले आफू वरिपरिका कुराहरुको कम होस् पाउँदै गइन् । 

एक समय त उनी नाच्दानाच्दै लडिन् पनि । तर पनि उनले नृत्य छोडिनन् । यही लगनशीलताले गर्दा पनि उनी आफ्नो अभियानमा सफल भइछाडिन् ।

नृत्य सकिएपछिका केही दिन उनका लागि नृत्य गर्दाको समय भन्दा झन् कठीन भयो । लगातारको नृत्यका कारण उनको स्वस्थ्य खराब भएको थियो । खुट्टा सुन्निएको थियो । 

‘दुखाइको त कुरै छाडौँ,’ रातोपाटीसँगको संवादमा उनले भनिन् ‘निद्राले समेत धेरै सतायो ।’ तर नृत्य सक्याएपछि चारै तिरबाट पाएको प्रतिक्रियाले दुखाई भुलेको उनी बताउँछिन् ।

यसकारण अठोट गरेँ
सानैदेखि नृत्यमा माहिर थिइन्, उनी । केही गरेर देशको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने सोच पनि थियो । उनी आफूलाई ‘नेपालको सान बढाउने छोरी’ भनेर चिनाउन चाहन्थिन् । ५ वर्षको उमेरदेखि नाच्न थालेकी उनले आफ्नो लक्ष्य प्राप्तिका लागि स्कुलमै केही नृत्य सिक्न थालिन् ।

पछि उनले एसईई दिएपछि एक महिनाको नृत्य प्रशिक्षण पनि लिइन् । प्रशिक्षण पछि आफ्नै कल्चर सेन्टर खोलेर सिकाउन थालिन् । नृत्यको प्रशिक्षण चलिरहेकै थियो । फुर्सदको समयमा उनी फेसवुक र गुगलमा पनि रमाउथिन् ।

यही क्रममा उनले ‘गिनिज वर्ल्ड रेकर्ड’मा नाचेर पनि नाम राख्न सकिने थाहा पाइनन् । भनिन् ‘थाहा पाउने बित्तिकै नाचेर रेकर्ड राख्ने अठोट गरेँ ।’

रियलमा कठीन भयो 
उमेरले भर्खर १७ टेकेकी उनी काठमाडौंको चेल्सी कलेजमा १२ कक्षा पढ्दैछिन् । जतिबेला उनले रेकर्डका लागि नाचिन् । सो समय कलेज केही समयका लागि बिदा थियो । बिदाको समयमा  विश्व रेकर्डका लगि नाच्ने तारतम्य मिलाउनतिर लागिन्, उनी ।

पहिले त उनले आफ्नो रेकर्ड राख्ने चाहनाबारे परिवारका सदस्यलाई भनिन् । पछि साथीभाइलाई पनि सुनाइन् । साथीभाइहरुले हौसला दिए । परिवारले अहिले बेला भएको छैन भनेका थिए । तर अड्डी कसिरहिन् । उनी आफ्नो चाहनाबाट पछि नहट्ने देखेपछि परिवार पनि उनको सहयोगको लागि अघि सर्यो ।

परिवार बाहिरी प्रोसेसमा लागे । उनी प्राक्टिक्समा । पहिला उनले ४० घन्टा प्राक्टिक्स गरिन् । यो समय उनलाई किनै गाह्रो भयो । केही दिनको रेष्ट नै गर्नु पर्यो । फेरि उनले १०० घन्टाको प्राक्टिक्स गरिन् । यो प्राक्टिस उनले अनुमान गरेभन्दा सहज भयो । 

अब उनलाई रेकर्डका लागि १२६ घन्टा नाच्न सक्छु भन्ने लाग्यो । प्राक्टिस गर्दा उनले रेकर्डका नियम समेत फलो गरेकी थिइन् । तर रियलमा भने उनलाई निकै कठिन भयो ।

‘म अचेत भएछु’
नाच्ने दिन नजिकिदै थियो । उनी उत्साहित थिइन् । सजिलै गरिहाल्छु नि भन्ने उनको मनमा थियो । १०० घन्टा त प्राक्टिक्स गरिसकेकी छु भन्ने थियो । सुरु गर्ने दिन नजिक आउँदा उनको धैयताको बाँध फुट्ला जस्तो भइसकेको थियो । कतिबेला सुरु होला भनेर उनी प्रतिक्षामा थिइन् । साथै आफ्नो लक्ष्य नजिक देखेर एकदमै खुसी पनि थिइन् उनी ।

नाच्न सुरु गर्दा बजेको गीत त याद छ उनलाई । भनिन्,‘सकिदासम्म मैले कति र कुन कुन गीतमा नाचेँ त्यो चाहिँ थाहा छैन । केही समय पछि म अनकन्सेस भएछु । तर दिमागमा नाच्नुपर्छ भन्ने चाहिँ पूरै अवधिभर थियो ।’

नाच्ने क्रममा उनलाई हौसला बढाउन को–को आए त्यो हेक्का छैन उनलाई । नृत्य सकिएपछि भिडियो हरेर भने थाहा पाएकी छिन् । 

ब्रेकमा औँलाको इसारा
केही दिन नाचेपछि उनी अर्धचेत भएकी थिइन् । सो समय उनलाई कसैले नाचेर साथ दिए । कसैले चिच्याएर उनलाई होसमा ल्याउने प्रयास गरे । कसैले पानी र आइस छ्यापे । ‘सबैको सहयोगबाट गाह्रो भएपनि नाच्न छोड्नु हुँदैन, पुरा गर्नुपर्छ भन्ने प्रेरणाभित्रि मनबाट मिलिरह्यो’ उनले त्यो पल सम्झिइन् ।

नाच्ने क्रममा उनले घन्टामा ५ मिनेट ब्रेक लिन मिल्थ्यो । उनले भने  ४ घन्टा पछि २० मिनेट लिन्थिन् । ‘रेष्ट चाहिने भनेको बाथरुम जाँदा र खुट्टा दुख्दा हो’ उनले सुनाइन् ‘२० मिनेटमा रेष्ट मिल्थ्यो । ५ मिनेट के गर्नु ?’ खाना भने उनले नाँच्दै खादै गरिन् ।

कार्यक्रमस्थल वरिपररु चारैतिर घडी राखिएका थिए । नाच्दै गर्दा अचानक ब्रेक चाहियो भने उनले औंलाले इसार गर्थिन् ।

‘राम्रो भूमिका पाए चलचित्र खेल्छु’
गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउनु भनेको सजिलो काम होइन । त्यसैले आफ्नो रेकर्ड छिट्टै तोडिएला भन्ने उनलाई लागेको छैन । 

यो रेकर्ड तोडिए पनि, नतोडिए पनि डान्सबाट नै अब अर्काे रेकर्ड राख्ने उनको सोच छ । त्यसको अलवा सामाजिक कार्य गर्ने उनमा सोच छ । सामाजिक कार्यमार्फत नेपालीको मुहार फेर्ने मन छ उनलाई । नेपालीलाई खुसी बनाउन चाहन्छीन् उनी ।

चलचित्र अभिनय उनको अर्काे सपनाको विषय पनि हो । राम्रो व्यानर पाए, भूमिका पाए र नारीलाई कमजोर नदेखाइएको महिला प्रधान चलचित्र पाए अभिनय गर्ने चाहना उनमा छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप