शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : थानेदार

शनिबार, २२ मङ्सिर २०७५, ११ : १५
शनिबार, २२ मङ्सिर २०७५

चिरञ्जीवी कोइराला

कार्यालय प्रवेशद्वारमा मेरा कदम रोकिन पुगे । सेवाग्राहीहरूको भीड थियो । उनीहरूको वरिपरि म घेरिएँ । पछाडिबाट अरूलाई छिचोल्दै एकजना भद्र व्यक्ति मेरासामु आइपुगे र अनुहारभरीको चोट अनि बग्दै गरेको आलो रगत देखाएर आवेश मिश्रित लवजमा भन्न थाले, “घरै अगाडिको मदिरा पसलमा सधैँजसो हुने गरेको झगडा र अश्लील शब्द सहन नसकेर सम्झाउन गएँ, उल्टै मेरो यो हालत भयो हेर्नुस त” ।

उहाँसँग दोहोरो  वार्तालाप हुन नपाउँदै  छेउमै उभिएकी महिलाको रोदनसहितको निवेदनले मलाई आकर्षित गर्यो । नशालु श्रीमानको यातना र दुव्र्यवहारको पीडा पोख्दै थिइन् । शब्दसँगै अश्रुधारा पनि बग्दै थिए आँखाबाट । फेरि व्यापारी सेवाग्राहीले चोरिएको आफ्नो मालसामानको वापसी र चोरलाई कारवाहीको लिखित व्यहोरा पेश गरे । त्यहाँ आउने सबैको आआफ्नो कथा व्यथा थियो । अनि शान्ति सुरक्षा र प्रहरी कारवाहीको अपेक्षा पनि थियो, त्यो पनि सकेसम्म छिटो ।  कार्यालयमा प्रायजसो  देखिइरहने यस्तो दृश्यको क्रम रोकिने लक्षण देखिँदैन । सेवाग्रहीको भीड घट्ने हैन दैनिक बढ्दो छ ।

सेवा र सुरक्षाको अपेक्षामा बेचैन सेवाग्राहीको बढ्दो सङ्ख्या देखेर केही गरी छोड्ने अठोट जागेर आयो । कसरी सुरु गर्ने  र के गर्ने भन्ने निर्णयमा पुग्न पनि सेवग्राहीकै मत लिने रणनीति बनाएँ ।  उहाँहरूको समस्याको तत्काल सुनुवाइ गरिने भरोसा दिलाउँदै सबैलाई कार्यकक्षमा जम्मा गरे । योजनाको सुरुवात मेरो प्रश्नबाट भयो । “तपाईंहरू झ्यालढोका खुल्लै छाडेर चैनले निदाउन चाहानु हुन्छ ?” स्तब्ध भयो वातावरण । न कुनै समर्थन, नकुनै प्रतिक्रिया । प्यासले छटपटिएर तत्काल एक गिलास पानीको याचना गरिरहेको प्यासालाई कालान्तरमा झरना ल्याइदिने आश्वासन बाँडेझैँ असान्दर्भिक भयो मेरो प्रश्न । 

छोटो मौनता तोड्दै तिनै भद्र व्यक्तिले आक्रोश पोखे “झ्याल ढोका बन्द गर्दा त यस्तो अवस्था छ, अझ खुल्लै छोडिदिएर सुत्ने हो भने हालत के होला ? हैन यो के भन्नु भएको थानेदार साब ?” मेरो अघोषित योजना को लक्षमा सहमत गराउन फेरि अघि बढेँ । “हेर्नुस हाम्रो लक्ष र तपाईंहरूको चाहना एउटै हो, अमन चयन । शान्ति सुरक्षा कायम नभई अमनचयन आउँदैन । यसका लागि प्रहरी चिन्तित मात्र छैन, अहोरात्र सक्रिय पनि छ । अपराधीहरू कारर्वाहीमा परिरहेका छन् ।

विभिन्न योजना र कार्यक्रममार्फत तपाईंहरूको सेवामा सङ्गठन लागिरहेकै छ । तर पनि शान्ति र सुरक्षा मृगतृष्णाझैँ बन्दैछ किन होला ? 
“प्रतिक्रियाको पर्खाइमा केहीबेर अडिएँ । मुखामुख गरिरहेका नागरिकलाई नियालिरहेँ । मेरो अनुमान सही सावित हुँदै थियो । केही आशा र केही आवेश शब्दमा व्यक्त भए तिनै पीडित महिला बाट ‘त्यो त तपाईंहरूलाई नै थाहा होला नि, समाजमा निस्फिक्री घुमिरहेका अपराधी र फटाहाहरूलाई तपाईंले चिन्नुभएको छैन र ?” केहीबेरको सवाल जवाफपछि हाम्रो वार्तालाप समान्य र सौहार्द्र हुँदै गयो । यो अवसरलाई गुम्न नदिई मैले अशान्तिको कारण र समाधानको दिगो योजना सुनाउँदा जुन एकाग्रता छायो । यसलाई मैले नागरिकको मप्रति समर्थनको रूपमा बुझेँ । र सुरु भयो नागरिक प्रहरीको सहयात्रा । 

तीव्र गतिमा सहरीकरणतर्फ उन्मुख भइरहेको मेरो कार्यक्षेत्र केही वर्ष अगाडिसम्म मनोरम प्राकृतिक  दृश्यसहितको गाउँ थियो । दैनिक थपिने गरेका कङ्क्रिटका घरहरूको कारण अब त्यो सुन्दरता दन्त्यकथामा परिणत हुँदैछ । गाउँले आत्मीयता र एउटै परिवारजस्तो समुदायको लोभलाग्दो कहानी सुनाउने अग्रजहरू अझ छँदैछन् तर त्यसको अनुभूति भने दुर्लभ हँुदै गएको छ । गाउँलेको मनमा बसेको कर्तव्य, इमानदारिता र स्वाभिमानको अलिखित बोध आजको लिखित कानुन र अधिकारका ठेलीभन्दा कम थिएन, शान्ति सुरक्षाको सवालमा । तर त्यसको ठाउँ सहरी व्यस्तता र एक्लो उपभोक्तावादी जीवनशैलीले लिइसकेको छ । 

गगनचुम्बी महलहरूका  बीचको साँघुरा गल्लीहरूमा तीनजना सवार भएर कोलाहल मच्चाउँदै धुलो उडाउँदै  बेतोडले मोटरसाइकल चलाउँदै हिँडिरहेका युवा जताततै भेटिन्छन् । अश्लील शब्द तिनका मुखैमा झुण्डिएको हुन्छ । लागूऔषधको गन्ध तिनको वरिपरि फैलिरहेको हुन्छ । जताततै खुलेका खाजाघर र रेस्टुरेन्टहरूमा  कामुकता छर्दै अर्धनग्न युवतीहरूभित्र बाहिर गरिरहेका भेटिन्छन् । चर्को आवाजमा वातावरण प्रदूषित हुनेगरी घन्किएका सङ्गतिले आनन्द  कसैलाई दिँदैन तर बजिरहेका हुन्छन् । मदिरा प्रायः घरैपिच्छे पाइन्छ । मानिसहरू सम्पत्ति यौन र मदिराका लागि अनुशासन नैतिकता मात्र हैन पारिवारिक दायित्वसमेत दाउमा राख्न तयार हुन्छन् । अपराधै गर्नुपरे पनि गर्छन् र गरिरहेका पनि छन् । परिणाम स्वरूप घरेलु हिंसा, लागू औषध, गुण्डागर्दीले जरा गाड्दै गरेको महसुसस जो सुकैले पनि गर्न सकिन्छ । 

हामीले गस्ती गरिरहने बस्ती पनि त्यही हो । यो प्रवृत्तिलाई रोकौँ भने  स्थापितझैँ देखिन्छ र समाज यसैमा अभ्यस्त भइसकेको छ । नरोकौँ भने देखादेखि अपराधको भ्रुण तयार हुँदै गरेको यो अवस्था, कसरी हेरिरहनु ? अन्त्यमा कर्तव्य पालनमा सम्झौता नगर्ने अठोट गरियो र थालियो नयाँ सुरक्षा अभियान ।  

कुनै तिलस्मी योजनाले मात्र शान्ति आउँदैन । अब शान्तिमैत्री जीवनशैलीको टोलबासीलाई अभ्यास गराउनु छ । अभ्यासबाट परिश्रम गर्ने, सदाचार अपनाउने र स्वाभिमानी बन्ने स्वभाव बसाल्नु छ । स्वभावले दृष्टिकोण र दृष्टिकोणले परिवर्तन गर्ने अभियानको  थालनी यसरी गरियो । 

प्रत्येक टोलमा तीन तीनवटा पार्क तयार गरियो । पहिलो पार्कको नाम थियो– परिश्रम पार्क । टोलबासीले यो पार्कमा दिनको एक घण्टा बिताउनै पथ्र्यो । फूल रोप्ने, फल रोप्ने चौतारा बनाउने सजाउने सम्भार्ने र सुन्दरता थप्ने काम प्रत्येकले गर्नै पर्ने हुन्थ्यो । पसिनाले भिजेर मात्र त्यहाँबाट बाहिरिनुपर्ने हुन्थ्यो । पार्कमा नआउने र परिश्रम नगर्नेहरूको अभिलेख राखिने गरिन्थ्यो । 

अर्को थियो– प्रेम पार्क । हिंसा, प्रतिशोध, उत्तेजना, अभिमान त्यागेर  पार्कभित्र प्रवेश गर्नै पर्ने,  बाहिरिँदा प्रेम, सदाचार र सरलता ग्रहण गर्नेपर्ने हुन्थ्यो । यो पवित्र पार्कभित्र प्रवेश नगर्नेहरू अभिमानी, कामुक र व्यभिचारीको रूपमा एक्लिनु पर्ने हुन्थ्यो । प्रत्येक टोलबासीले एक घण्टा यो पार्कभित्र विताउनुपर्ने हुन्थ्यो । हिंसा र प्रतिशोध विरुद्ध  सार्वजनिक प्रतिबद्धता व्यक्त गरेर  मात्र बाहिरिनुपर्ने हुन्थ्यो ।
तेस्रो पार्कमा सामाजिक कर्तव्य, मानवीय कर्तव्य र पारिवारिक कर्तव्य निर्वाहका कथाहरू पढ्न पाइन्थ्यो  ।

ऐतिहासिक व्यक्तित्वका गाथाहरूको हेर्न लायक दृश्य सजाइएको थियो । तिनका प्रतिमा र सन्देशले पार्क सजिएको थियो । कर्तव्यको दुनियाँ नै बनेको थियो र कर्तव्यबाट विचलित हुनेहरूलाई त्यहाँको वातावरणले उपहास गरिरहेको हुन्थ्यो । यो पार्कको नाम थियो– कर्तव्य पार्क ।   

समुदायका बासिन्दाले आफ्नो दैनिक कार्यतालिकामा तीनवटै पार्कमा जाने र त्यहाँको अभ्यास गर्नुपर्ने समय निश्चित गर्नुपर्ने हुन्थ्यो । यसको अवज्ञा गर्न नपाइने गरी आचार संहिता बनाइयो र त्यसो गर्नेहरूको अभिलेख राख्न सुरु गरियो । नागरिकले यसको निगरानी र प्रहरीले कावाही गर्ने काम जोडतोडले थालियो । नागरिकहरूको बढ्दो सहभागिताले हाम्रो जोस दुई गुना हुने नै भयो । यो अनिवार्य नियम उल्लङ्घन गर्नेको सङ्ख्या क्रमशः घट्दै गयो । कार्यक्रम जारी रह्यो । 

अवधि लामो भइसकेको थियो । किन हो नागरिकहरू कार्यालयमा आउने क्रम भने अनपेक्षित रूपले घट्दै गइरहेको थियो । कुनै अप्रिय परिस्थिति त सिर्जना हुँदै छैन ? यस्तै आशङ्कामा रुमलिँदै गरेको मनस्थिति लिएर महिनौँपछि पुनः गस्ती गर्न लागियो सोही बस्तीतिर । हामी जति जति त्यो टोलभित्र प्रवेश गर्दै गयौँ, हाम्रो विगतको अनुभूतिमा त्यति नै फरक हुँदै गएको पाइयो । टोल शान्त थियो ।

मानिसहरू हार्दिकतापूर्वक प्रस्तुत भइरहेका थिए । सवारी साधनहरूको व्यवस्थित  पार्किङले सडक र बजारको सुन्दरता  हेर्नलायक थियो । सरसफाइमा उल्लेखनीय प्रगति थियो । फेरि उनै भद्रव्यक्तिसँग साक्षात्कार हुन पुग्यो । अभिवादनपश्चात मैले बोल्नै नपाई भर्खरै गरेको कालोपत्रेसहितको सडक देखाउँदै उनैले प्रश्न सोधिहाले, “यो दुई महिना बीचमै  यो बाटो कसरी कालोपत्रे भयो, थाहा छ  थानेदार साहेब ?” मैले केही कुरो बुझ्नै  पाएको थिएन, उत्तर पनि उनैले दिइहाले, “टोलबासी सबैले मदिरा सेवन त्यागिद्यौ अनि त्यसैको पैसाले यो बाटो कालोपत्रे गर्यौ ।

“युवाहरू आफू मात्र फेरिएको हैन, समाजलाई नै सकारात्मक परिवर्तन गराउन कम्मर कसेर लागिपरेको लामो बेलिविस्तार सुनाइरहे । टोलबासीहरूले पार्कको भावना बमोजिम घरघरमै परिश्रमको, प्रेमको र कर्तव्यको फूलबारी बनाएका रहेछन् । परिश्रम नगर्नेहरू, सदाचार नभएका व्यभिचारीहरू र नागरिक कर्तव्यवाट विचलित भएकाहरू या त सुध्रिइसकेका रहेछन् या त विस्थापित भएसकेका रहेछन् । तर लम्बिँदै गएको भद्र व्यक्तिसँगको  वार्तालापलाई बिट मार्ने गरी  मैले सोधेँ, ‘अब अरु के छ त ?’ उनले पनि निर्णायक लवजमा उत्तर दिए, “थानेदार साहेब आजभोलि टोलबासीहरू झ्याल ढोका खुल्लै छोडेर चैनको निद्रामा निदाउने गर्छन् ।” 

भद्र व्यक्तिको अभिव्यक्तिले म निरुत्तर भएँ । कार्यालयमा सेवाग्राहीहरू घट्नुका कारण पार्कले ल्याएको सकारात्मक जीवनशैली नै हो भन्नेमा म विश्वस्त हुन पुगेँ । कार्यक्रम सफल भएको कुरा कमान्डरमा जाहेर गरेँ ।

धन्यवादसहित मेरो रोकिएको बिदा स्वीकृति भएको जानकारी पनि पाइयो । बिदामा घर जाने र घर पुग्ना साथ प्राप्त हुने श्रीमतीको सामीप्यताको कल्पनाले रोमाञ्चित हुँदै प्रस्थान गर्नैलागेको थिएँ । निद्राबाट झल्यास्स बिउझिन पुगेँ । बिहानको ७ बजिसकेको रहेछ ।  मोबाइललगातार बजिरहेको  थियो । फोन रिसिभ गर्नासाथ ड्युटी अफिसरले रातको विवरण पेश गर्यो– चोरी २ वटा, झैझगडा २ वटा, बलात्कार एउटा, घरेलुहिंसा.. । सपनाको आकाशबाट एकैचोटि विपनाको धरातलमा आइपुगेँ । 

हतार हतारमा तयार भएँ र घटनास्थलतिर हानिएँ । म बाहिर निस्कँदै गर्दा सेवाग्राहीहरू हात हातमा निवेदन बोकेर कार्यालयभित्र प्रवेश गर्न थालिसकेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप