कविता : ‘मेरो छाप्रो’
भुवन रोका
भाटाहरूले बेरेर
मकैको ढोडहरूले छोपेर
बनेको छ मेरो छाप्रो
न त आँगन छ न त दलान
न त रङ्गरोगन छ न त ढलान
फेरि पनि
सबैको नजर छ
मेरो सानो छाप्रोमा
बटुवाहरू
जो हिँड्छन् यही छाप्रोको बाटो
विश्राम गर्छन् माथिको चौतारीमा
भन्छन् छाप्रोतिर हेर्दै
‘कति दुःख होला
गुजारा कसरी गर्छ होला’
कम्तीमा
गफको विषय बनेको छ
उनीहरूको यात्रामा
मेरो छाप्रो
हरेक दिन आउँछन्
फरक फरक
एनजीओ र आईएनजीओहरू
सोध्छन् दुई–चार प्रश्न
बनाउँछन् छाप्रोको समाचार
बेच्छन् रे भारी मूल्यमा
वर्षौंदेखि
यही छाप्रोबाट चलिरहेछ
उनीहरूको गुजारा
हेरक पाँच वर्षमा
आउछन् नेताहरू
यही छाप्रोलाई देखाउँदै
गर्छन् ठूला ठूला भाषण
‘अझै यस्ता छाप्राहरू छन्,
अब धेरै दिन रहँदैनन्
सुन्नेहरू बजाउँछन् ताली फररर
धन्न
यो छाप्रो छ र पो
पाइरहेछन् नेताहरूले भोट
हरेक वर्ष
आउछिन् एउटी सुन्दरी
उभिन्छिन् पोज पोजमा
खिच्छिन आफ्नै फोटो र भिडियो
बनाउछिन् कथा छाप्रोको
कहिल्य नजल्ने अगेनोको
छेउमै रहेको खाली कसौँडीको
अनि
देखाउँछिन् दुनियाँलाई
धन्न
यो छाप्रोले सहयोग गरेको छ
उनको सुन्दरता झल्काउन
आउँछन् कहिल्यै काही
जो छन् सरकारमा
टास्छन् एउटा पोस्टर सँघारमा
भन्छन् ‘सरकार छ है ।’
बनाउँछन् रिपोर्ट छाप्रोको
गरिबीको र प्रकोपको
अनि
देखाउँछन् विदेशमा
पाउँछन् सहयोग डलरमा
धन्न
मेरो छाप्रोले
चलेको छ सरकार
तर
कसैले पनि
उठाएनन् लड्नै लागेको
छाप्रोको टेको
छोपेनन् चुहिरहेको छानो
जलाएनन् अगेनो
ढाकेनन् नाङ्गो शरीर
भरेनन् भोको पेट
फेरि पनि
सबैको नजर छ
मेरो सानो छाप्रोमा
खोटाङ, नेपाल
हाल ः टोकियो, जापान