शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ घटनामा मोस्ट वाण्टेड राजन लिम्बुः जसका श्रीमती मात्रै आधा दर्जन

शुक्रबार, २१ मङ्सिर २०७५, १८ : ५२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– काठमाडौं उपत्यकामा २०६० सालदेखि ०६२ सालको अवधिमा एउटा डाँकाको दवदवा थियो ।

दुई वर्षको अवधिमा २२ वटा बैंक फाइनान्स, मनि चेन्जर र आईएमई एउटै व्यक्तिबाट लुटिएपछि प्रहरी हैरान भएको थियो । ठिक त्यति नै बेला महानगरीय अपराध महाशाखामा खबर आयो, ‘भक्तपुरको एक मनी चेन्जरका सञ्चालक माधव बनेपालीलाई अज्ञात लुटेराले गोली हानेर भाग्यो ।’ 

निकै मेहनत गरेर बनेपाली हत्यामा संलग्नको खोजी गर्दै जाँदा खुङ्खार डाँका राजन लिम्बु प्रहरीको पञ्जामा परे । तिनै लिम्बु हुन्, बिहीबार काठमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको धोविखोला करिडोरमा उनीमाथी प्रहरीले गोली प्रहार गरेको छ ।

बनेपाली हत्या प्रकरणमा जेल जीवन भुक्तान गरेर निस्केका लिम्बु पुनः लुटपाट धन्दामै सक्रिय भएका छन् । 

‘२०६०/०६२ ताका काठमाडौं उपत्यकामा राजन लिम्बुको लुटपाट आतंक नै थियो,’ महानगरीय अपराध महाशखामा कार्यरत एसपी नरेन्द्र उप्रेती भन्छन्, ‘माधव बनेपाली हत्या प्रकरणमा जेल परेपछि शान्त भएको थियो, अहिले फेरी उसले पुरानै धन्दा शुरु गरेको पाईयो ।’ 

उप्रेती त्यतिबेला पनि अपराध महाशाखामा इन्सपेक्टर थिए, जतिबेला राजधानीमा राजन लिम्बुको लुटपाट आतंक थियो । 

बैंक, फाइनान्सहरुमा फटाफट छिरेर फिल्मी शैलीमा स्वाट्ट पेस्तोल निकालेर पैसा लुटेपछि आफ्नो बाटो लाग्ने लिम्बुको लुटपाट शैली सुन्दा कथाजस्तै लाग्छ । यि पेस्तोलधारी लुटेरालाई प्रहरीले उपनाम नै दिएको छ, ‘खुङ्खार लुटेरा ।’ 

तीन दिनको निगरानीपछि गोली !
‘हम नही सुध्रेङ्गा’ भनेजस्तै बनेपाली हत्या प्रकरणमा जेल भुक्तान गरेर निस्केपछि इटहरी, धरान र काकडभिट्टा क्षेत्रका वित्तिय संस्थाहरुमा लुटपाट आतंक शुरु गरेका लिम्बु डाँका मुद्दामा फेरी जेल परे । 

प्रहरीसँगको मुठभेडमा घाइते भएका राजन लिम्बु उपचाररत अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा । 

७ महिनाअघि मात्रै राजन लिम्बु झुम्का कारागारबाट छुटेको हो,’ ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठ भन्छन्, ‘मंसिर १२ गते ईटहरीको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक सविन दाहाललाई छुरा हानेर ३ लाख लुटेर भागेपछि हामी उनलाई खोजिरहेका थियौं ।’ 

इटहरीको एक्टिभ मनि ट्रान्सफर लुटेर भागेपछि इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश–१ प्रहरीको पत्रअनुसार अपराध महाशाखाले पनि लिम्बुको खोजी तिब्र बनाएको थियो । 

तीन दिनदेखी राजनको पिच्छा गरिरहेको प्रहरीलाई अर्को सुचना आउँछ, ‘राजन लिम्बु भन्नेले कपन र जोरपाटी क्षेत्रमा अर्को वित्तिय संस्था लुट्ने योजना बनाईरहेको छ ।’ 

अर्को लुटपाटको सूचना पाएसँगै लिम्बुको खोजी तिब्र बनाएको महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोलीसँग शुक्रवार मध्यान्ह रातोपुलबाट करिब १ सय मिटरभित्र धोविखोला करिडोरमा राजनको जम्काभेट भयो । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै पेस्तोल निकालेपछि प्रहरीले जवाफी फायरिङ गर्दा राजन घाईते भएका छन् । उनको दुवै खुट्टाको तिघ्रामा गोली लागेको छ । 

सिमकार्ड फेरिरहने राजन ट्याक्सीमा हिँड्थे । शुक्रवार उनी अकस्मात ट्याक्सीमा रातोपुल ओर्लिएर करिडोरतिर लागेपछि प्रहरीसँग उनको जम्काभेट भएको  थियो । 

‘धोविखोला करिडोमा राजन कोही साथीलाई भेट्न आउँदैछ भन्ने सुराकीका आधारमा हाम्रो टोलीसँग जम्कोभट भयो’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंह भन्छन्, ‘हतियार निकालेर प्रहरीतर्फ फायर गर्न खोजेपछि गोली चलाएका हौं, खुट्टामा गोली लागेको छ उपचार हुँदैछ ।’ 

महानगरीय अपराध महाशााले उनको साथबाट बरामद गरेको ‘टाईप –५४’ चाइनिज पेस्तोल र चार राउण्ड गोलीको सम्बन्धमा पहिले ‘हातहतियार खरखजना मुद्दा’मा अनुसन्धान गर्ने भएको छ । 

‘पहिले हातहतियार मुद्दा चलाउँछौं’ एसएसपी सिंह भन्छन्, ‘लुटपाटका अरु मुद्दाहरु पनि छन्, थप अनुसन्धान गरेर थप मुद्दा चलाउँछौं ।’ लुटपाटका लागि ७ ओटा मोबाइल बोक्ने राजनको समूहमा ४ जना सदस्यहरु रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

लिम्बुको साथबाट बरामद गरिएको पेस्तोल । 

रियल लुटेरा: जसका श्रीमती मात्रै आधा दर्जन 
बर्षौंदेखि काठमाडौंमा लुटपाट धन्दा चलाएका राजनले पछिल्लो सयम सुनसरीको धरान, इटहरी र झापाको काकडभिट्टालगायतका क्षेत्रका बैंक वित्तिय संस्थाहरुमा आँखा लगाएका थिए । 

‘उसले पूर्वमा दर्जनौं सुन पसल र वित्तिय संस्थाहरु लुटेको सूचना हामीसँग छ’ इटहरीका डिएसपी शिव श्रेष्ठ भन्छन्, ‘ऊ हामीले खोजिरहेको सिरियल लुटेरा थियो ।’ 

पछिल्लो समय ५ वटा आईएमई लुटेको घटनामा जेल बसेर निस्केका राजन ताप्लेजुङबाट सुनसरी बसाईं सरेका थिए । 

इटहरी उप–महानगरपालिका–५ पञ्चरोखी स्थायी घर भएका लिम्बुले ६ वटी विवाह गरेको बताइएको छ । दुई श्रीमतीबाट दुईओटा बच्चा जन्मेको र अन्य चारओटी श्रीमतीहरुलाई उसले ल्याउँदै छाड्दै गरेका थिए ।

आधा दर्जन घटनामा मोस्ट वाण्टेड 
महानगरीय अपराध महाशाखका अनुसार राजन आधा दर्जन घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचिमा थिए । के–के हुन् ति ६ घटना ? 

घटना नम्बर १. २०६२ कात्तिक २ गते काठमााडौं प्रहरीमा मुद्दा दर्ता भएर डाँका मुद्दामा फरार । प्रतिवादी थमन गुरुङ समेतका ६ जनाले हातहतियारसहित सन्तोष लिम्बुलाई नियन्त्रणमा लिएर नगद तथा जिन्सी सामान डाँका गरी लगेको । 

घटना नम्बर २. २०७३ फागनु १५ गते को.२८प ४४४ नम्बरको बुलेट मोटरसाईकल चढी आएका पूर्णबहादुर लुङ्गेली मगर समेतका मानिसहरुलाई राजनले जीवन विकास लगु विद्युत्त संस्थाका कर्मचारीहरुलाई पेस्तोल देखाई घर्रामा भएको १० हजार र सोही संस्थामा कारोवार गर्न आएका बिरबहादुर प्रधानको साथमा रहेको नगद रु ९० हजार समेत लिई फरार भएको । 

घटना नम्बर ३. २०६३ साउन ३० गते काठमाडौंमा रविन राईलाई गेष्ट हाउसबाट हतियार देखाई ८६ हजार बराबारको धनमाल डाँका गरी लगेको । 

घटना नम्बर ४. २०६३ असोज २१ गते, राजन लिम्बु समेतको समूहले गेष्ट हाउसको काउन्टरमा पेस्तोल देखाई ३ लाख ६१ हजार नगद लुटेको ।

घटना नम्बर ५.  २०६३ भदौ २० गते राजन समेतका चार जनाले रोवल को–अपरेटिभ लि. को कार्यालययमा प्रवेश गरी पेस्तोल देखाएर नगद ११ लाख ३० हजार बराबरको धनमाल डाँका गरेर फरार भएको ।

घटना नम्बर ६. २०७५ मंसिर १२ गते सुनसरीको इटहरीस्थित आईएमईबाट पीडितलाई छुरा प्रहार गरी ३ लाख नगद डाँका गरेर भागेको । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप