बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्रीको आक्रोश : एसिया प्यासिफिक सम्मेलनलाई भक्तमान  र दिलशोभा प्रकरणजस्तै बनाइयो

बिहीबार, २० मङ्सिर २०७५, १९ : २४
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल बास्कोटाले एसिया प्यासिफिक सम्मेलनलाई मिडियाले भक्तमान श्रेष्ठ र दिलसोभा प्रकरणजस्तै बनाउन खोजेको आरोप लगाएका छन् । बिहिबार सञ्चारमन्त्रालयमा गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले सम्मेलनको विषय आइक्यापसँग सम्बन्धित रहेको र त्यसलाई बढ्ता तोडमोड गरिएको दावी गरे । उनले भने– ‘यो त भक्तमान प्रकरण जस्तै भयो, दिलशोभा प्रकरणजस्तै भयो, आरोप जे पनि लगाइदिएको छ ।’

उनले भक्तमान अपहरणको घटनामा मिडियाले माओवादीले अपहरण गरेको भनेर लगाएको आरोपपछि गलत सावित भएको बताउँदै त्यो विषयमा कसैले पनि जवाफदेहिता नदिएको बताए । दिलसोभाको केशमा पनि त्यस्तै भएको बताउदै हालै सम्पन्न सम्मेलन नयाँ नभएर यसअघि पनि पटक–पटक भएको उल्लेख गरे । 

उनले यसअघि पनि सन्त नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत सबै नेता सहभागी भएको र तथ्यगत रुपमा विषयलाई अहिले लुकाइएको दावी गरे ।  उनले हिजोको दिनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार लिँदा शान्तिको दूत भएको भनेर मिडियाले लेखेको र प्रधानमन्त्री ओली उक्त कार्यक्रममा जाँदा अपराधी गएझै गरी लेखेको भन्दै उनले आपत्ति जनाए । उनले भने–‘त्यो एउटा दृष्टिकोण पनि हो, कसै कसैलाई निहु नपाएपछि कनिका बुँकाउ भन्ने पनि हुन्छ, तर सरकार काम गरिरहेको छ ।’

मन्त्री बास्कोटाले पत्रिकामा गत बर्ष पिस फेडेरेशनको कार्यक्रममा रामचन्द्र पौडेल र सुजाता कोइराला गएको तस्बिर नछापेको भन्दै कम्युनिष्ट मात्रै कुनै धर्मको प्रतिनिधिजस्तो बनाएको बताए ।  उनले नेपाल बहुधार्मिक, धर्मनिरपेक्ष मुलुक होकि हैन भन्ने प्रश्न गर्दै व्यक्तिको धार्मिक स्वतन्त्रतालाई अपमान गर्न नहुने जिकिर गरे । उनले भने– युसुफ राजा गिलानी कुन धर्मका हुन ? पाकिस्तानी पूर्वप्रधानमन्त्री त्यही सम्मेलनमा भेटिए होला नी । सरकार नभेटिएको ठाउँमा पाकिस्तानी पूर्वप्रधानमन्त्री भेटिए होलान । 

कसलाई के लहड चल्छ के भन्ने । निर्मला प्रकरणमा पनि आजै एक मिडियामा पढेको छु, सरकारले बारम्बार अनुरोध गरिरहेको छ, यस्ता घटनाहरु अपवाद बन्न गए, सरकारले सक्नेसम्म आफ्नो बुद्धि, विवेक, प्रविधि प्रयोग गरिरहेको छ । सरकारले समय लागे पनि अपराधीलाई कुनै न कुनै दिन ल्याँउछ नी ।’ उनले सरकारको निर्देशनमा अपराध नभएको बताउँदै अपराधीलाई ठेगान लगाएपछि सरकार भेट्ने स्पष्ट पारे । 
मन्त्री बास्कोटाले हिजो गंगामायाको पछि लाग्नेहरु आज निर्मला प्रकरणमा लेकको जुकाको जस्तो मुख बनाएर पछि लागेको बताए । उनले निर्मलाको न्यायको लागि भन्दै सडकमा पोष्टर टाँसिएको बिषयमा मन लाग्नेले लोकतन्त्रमा पोष्टर छाप्न पाइने भन्दै अपराधी पत्ता लागेको दिन सरकार भेटिएला नि भन्दै ब्यङ्ग्य गरे । 

उनले नेपाल टेलिकमको फोरजी सेवाको टेन्डर रोकिएको बिषयमा बोल्दै आफ्नो कार्यकालमा फोर जी परियोजनाको टेन्डर ननिस्किएको बताउँदै टेन्डरमा इन्टरकनेक्सनको पनि व्यवस्था नभएको बताए । अघिल्लो सरकारले आवश्यक विधि प्रक्रिया अपनाई भोलीका दिनमा विकास हुने प्रविधिको बारेमा नसोची काम गरेकाले अहिले त्यसबारेमा पनि सोच्नुपरेको उनले बताए । 

उनले भने– ‘अब अहिले पनि १८÷१९ अर्ब लगानी गर्ने, दुनियाँ फाइभ जिमा जान्छ, अनि फेरि त्यतिनै लगानी गर्न हाम्रो अर्थतन्त्रले थेग्न सक्छकि सक्दैन ? त्यसतर्फ पनि तपाईहरुले सोच्नुपर्छ ।’
मन्त्री बास्कोटाले सरकारको नराम्रो काम मिडियाले उजागर गर्नु सकारात्मक भएपनि तथ्यहरु मोडेर भ्रम सिर्जना गर्नु उपयुक्त नभएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप