बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा कांग्रेसभित्रै तीन पार्टी ! पौडेल र सिटौलाले टुंग्याए, देउवा बाँकी

मङ्गलबार, १० साउन २०७४, २२ : २१
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण अल्झन आएको सरकार विस्तार सम्भवतः बुधबार हुने भएको छ । सरकार गठनमा पार्टी भित्रकै अल्झनका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनादेखि सरकार विस्तार गर्न सकेका थिएनन् । जेठ २४ गते देउवा नेतृत्वमा नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक मन्त्री रहेको मन्त्रिपरिषद् गठन भएको थियो । 

साना ठूला सबै पार्टीलाई मिलाएर सरकारमा लैजाने र संविधान सशोधन प्रस्तावलाई पारित गराउने प्रतिवद्धता जनाएका प्रधानमन्त्री देउवाले पार्टी भित्रै मिलाउन नसक्दा डेढ महिनादेखि सरकार विस्तार हुन नसकेको हो । अन्ततः कांग्रेसभित्रको तीन पार्टी सरकारमा सहभागी हुने निश्चित भएको छ । 

कांग्रेसका रामचन्द्र पौडेल समूहबाट ४, कृष्णप्रसाद सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक एक जनालाई सरकारमा लैजाने सहमति भएसँगै सस्थापनबाहेक कांग्रेसका तीनै समूहले सरकारमा पठाउने मन्त्रीको नाम तय गरेका छन् । पौडेल समूहले प्रत्यक्ष निर्वाचित सांसदहरु सञ्जय गौतम, राजेन्द्रबहादुर केसी, रामकृष्ण यादव र यज्ञबहादुर थापा मन्त्रीमण्डलमा सहभागी निश्चित गरेको छ भने सिटौला समूहबाट भीमसेन दास प्रधान र खड्का समूहबाट मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउन सिफारिस भएको छ । 

पौडेल, सिटौला र खुमबहादुर समूहले सरकारमा पठाउने आफ्नो समूहको नाम निश्चित गरे पनि प्रधानमन्त्री देउवाले संस्थापन पक्षबाट मन्त्री बनाउनेको नाम टुंगो लगाउन सकेका छैनन् । यसअघि प्रधानमन्त्रीबाहेक तीन मन्त्री आफ्नो पक्षका बनाएका प्रधानमन्त्री देउवाले आफ्नो समूहबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेतलाई थप गर्न चाहेका छन् । तर संस्थापन पक्षमै आकांक्षी बढी देखिएपछि देउवालाई तनाव भएको छ । 

मंगलबार नै १८ मन्त्री थप गरी सपथ दिलाउने देउवाको योजना भए पनि पार्टीभित्रका पार्टीमा सहमति नजुट्दा सरकार विस्तार रोकिएको थियो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट २ जना गरी १८ जना मन्त्री थप गरी पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका थिए । 

सत्ता साझेदार दलहरुबीचको सहमतिअनुसार यसअघि माओवादी केन्द्रलाई गृह, परराष्ट्र र शहरी विकास तथा लोकतान्त्रिक फोरमलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप