शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा पक्राउ परेका महन्तलाई जनकपुरमा सार्वजनिक गरियो

बिहीबार, २० मङ्सिर २०७५, १७ : ०८
बिहीबार, २० मङ्सिर २०७५

जनकपुर–संस्कृत विश्वविद्यालयअन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्णलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंको बागबजारबाट पक्राउ परेका उनलाई प्रहरीले आज दिउँसो १२ बजे हवाईजहाजमार्फत जनकपुरमा ल्याई सार्वजनिक गरेको हो । 

दासले नक्कली लालपुर्जा बनाएर बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै उल्टै अदालतमा मुद्दा दिएपछि उनी आफैँ फसेका हुन् ।

केही दिनअघि पक्राउ परेका आफ्ना सहयोगी जनकपुरधाम उप–महानगरपालिका–२३ का अशोक शर्माको बयानका आधारमा सरकारी छाप दस्तखत किर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्तको संलग्नता रहेको खुलेको थियो ।

त्यसलगत्तै महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । वारेन्ट जारी भएको एक सातापछि उनी पक्राउ परेका हुन् ।

उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान हुने बताए । 

यसैबीच महन्त बैकुण्ठ दास वैष्णवले नक्कली कागजात पेस गरेर  जिल्ला प्रशासनबाट नागरिकता लिएको भन्दै उजुरी परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप