हुवाए कम्पनीका उच्च अधिकारी क्यानडामा पक्राउ, पक्राउलगत्तै चीनको कडा चेतावनी
ओट्टावा– चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।
चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।
संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीन महिने युद्धबिराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुबै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ ।
मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । मध्यान्हसम्म साङघाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ ।
‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ, र संयुक्तराज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ अमेरिकी सिनेटर बेन सास्सेले बताए । उनले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘कहिलेकाहिँ चिनियाँ अतिक्रमण पूरै राज्य–प्रबद्र्धित देखिन्छ भने कहिलेकाहिँ चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन् ।’
क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ । मेङका पिता एवं हुवाएका संस्थापक रेन झेङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन् ।
ओट्टावास्थित चिनियाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । हुवाएले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ ।
कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘हुवाएले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ । राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवं नियमहरुलाई पूर्ण पालना गरिएको छ ।’
वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवाएले उल्लङ्घन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल