मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो तातोपानीको मितेरी पुल निर्माणको काम

बिहीबार, २० मङ्सिर २०७५, १२ : ५९
बिहीबार, २० मङ्सिर २०७५

चौतारा– वि.सं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माण कार्य शुरु भएको छ । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको सो पुलको २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको र कामदार सबै चिनियाँ रहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । 

बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । उक्त दुवै काम पनि आगामी जेठको दोस्रो साता अर्थात् मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ । 

तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप