केन्द्रीय संस्करण

डोल्पाली शिक्षकका दुःख

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

दुःखले मानिसलाई स्पातजस्तो बनाउँछ भन्ने गरिन्छ । सबै सन्दर्भमा सही होला कि नहोला । दुःखले दुःख दिएपछि सबैलाई स्पातजस्तो बनाउला के ? तर, सदुपयोग गर्न जाने दुःखले मानिसलाई सवक सिकाउँछ । सिकाएकै हुन्छ । दुःखले दुःखमात्रै होइन सुखको वहार पनि ल्याउँछ भन्नेको कमी छैन । 

प्रसंग डोल्पाली शिक्षकका । ‘पाठ्यपुस्तक समस्या चर्को छ,’ काठमाडौंमा भेटिएकी डोल्पाली शिक्षिका राज्यलक्ष्मी हमालले बेलिविस्तार लगाइन्, ‘समयमै पाठ्यसामग्री डोल्पासम्म आइपुग्दैन । हामी आफैंले शैक्षिक सामग्री तयार गरौं भने पनि सुलभ मूल्यमा पाइँदैन ।’ 

विज्ञान र प्रविधिले संसार एउटा गाउँमा खुम्चिएको बताइन्छ । कतिपय सन्दर्भमा अमिल्दो हुँदोरहेछ । संसार एउटा गाउँजस्तै भएको भए काठमाडौंबाट डोल्पासम्म किताब पठाउन किन नसकिएको होला ? उत्तर दिन सहज छैन । 

समयमै पाठ्यसामग्री डोल्पा नपुग्दा पठनपाठन कसरी थाल्ने होला ? ‘समयमै पाठ्यपुस्तक डोल्पा नआउँदा पुराना किताबबाट पढाउँछौं,’ शिक्षिका हमालले सुनाइन्, ‘कतिपय अवस्थामा विद्यालयमा भएको कक्षागत पाठ्यक्रम हेरेर अध्यापन गराउँछौं । पाठ्यसामग्री छैन भनेर हात बाँधेर बस्न भएन नि । विषय परिवर्तन भएको बेलाचाहिँ अप्ठ्यारो पर्छ ।’ इच्छा भए उपाय कति हुँदोरहेछ कति । डोल्पाली शिक्षकले त्यसरी नै पठनपाठन गरिरहेका हुन्छन् । कति सराहनी, उदाहरणीय र प्रशंसनीय काम । ‘राजा नरहे पनि राजकाज रोकिँदैन’ भनेजस्तै पाठ्यसामग्री नहुँदासमेत डोल्पाली शिक्षकले अध्यापन रोक्दै रोक्दैनन् ।

माथिल्लो डोल्पामा अध्यापनरत शिक्षकका दुःख खनिखोस्री साध्य छैन । माथिल्लो डोल्पाको पहिलेका ६ गाउँ विकास समिति गाभेर चार गाउँपालिका बनाइएको छ । काइके, डोल्पो बुद्ध, छार्का ताङसोङ र शे फोक्सुन्डो गाउँपालिकामा कात्तिकदेखि वैशाखसम्म बस्नै सकिँदैन । ६ महिना जाडो छल्ने जोहो आफैंले गर्नुपर्छ । माथिल्लो डोल्पाका स्थानीयसमेत ६ महिना जाडो छल्न कता–कता पुगिरहेका हुन्छन् । वैशाख लागेपछि मात्रै उक्लिन्छन् । शिक्षकले पनि त्यसै गर्नुपर्छ । माथिल्लो डोल्पामा स्थानीय शिक्षक औंलामा गन्न सकिन्छ । 

जाडोमा बाक्लो लुगा लगाउनैपर्यो । हिमाली जिल्ला डोल्पाका शिक्षकलाई पोसाक भत्तामा समेत विभेद गरिएको थियो । डोल्पामा कार्यरत निजामती कर्मचारीले पोसाक भत्ता १५ हजार रुपैयाँ पाउँदा शिक्षकले सात हजारमात्रै पाउँथे । अधिकार मागेर होइन, खोसेर लिनुपर्छ भन्ने थाहा पाएकाले सानातिना आन्दोलन गरे । मनाङ, मुस्ताङ र डोल्पाली शिक्षकले माग पूरा गराउन अर्थ मन्त्रालय धाउन थाले । ‘गत वर्ष पोसाक भत्ताकै लागि म दुई महिना काठमाडौं बसें,’ उनले थपिन्, ‘त्यतिबेला डोल्पा, मनाङ र मुस्ताङलगायतका शिक्षकसँग अर्थ मन्त्रालय धाउनसम्म धायौं । त्यसपछि पोसाक भत्ता १५ हजार पाउन थाल्यौं । नत्र भने निजामती कर्मचारीले मात्रै न्यानो पोसाक लगाउन पाउँथे । शिक्षकले निजामती कर्मचारीको भन्दा पातलो पोसाक लगाउनुपर्ने बाध्यता थियो ।’ बजेट भाषणमा सम्बोधन गर्न छुट्यो भने त्यो वर्ष शिक्षकले पोसाक भत्ता पाउँदैनन् । पिरलो पो छ त ।

डोल्पाली शिक्षकको समस्या चर्को छ । पोसाकमात्रै होइन अन्य भत्तामा समेत विभेद गरिएको छ । जस्तै ? ‘बिदामा विभेद छ,’ उनले दुःखेसो पोखिन्, ‘निजामती कर्मचारीले घरबिदा पाउँछन् । शिक्षकले पाउँदैनन् ।’ 

सरकारले शिक्षकलाई मीनपचास भनेर पुस माघमा ४५ दिन बिदा दिन्छ । पहिले–पहिले मीनपचास बिदाको समेत डोल्पाली शिक्षकले दुर्गम भत्ता पाउँथे । त्यो सुविधा कटौती गरिएको छ । ‘पछि कसले के नियम बनायो महिना दिनभन्दा बढी बिदा लम्बिएपछि दुर्गम भत्ता पाइँदैन भनियो,’ उनले प्रस्ट्याइन्, ‘आखिर त्यही सदर भयो । त्यसो गर्न हुन्न भनेर कुराचाहिँ उठाइरहेका छौं ।’

डोल्पाली शिक्षकले दुर्गम भत्ता पाउन थालेको डेढ वर्ष भयो । आन्दोलनको बलले प्राप्त गरेको सुविधासमेत नजानिँदोपाराले कटौती गरिएको छ । ‘सानोतिनो प्रयासले होइन नि हामीले बल्लतल्ल दुर्गम भत्ता पाउन थालेका थियौं,’ उनले विगत कोट्याइन्, ‘पहिले निजामती कर्मचारीले मात्रै दुर्गमभत्ता पाउँथे ।’

शिक्षिका राज्यलक्ष्मी हमाललाई शिक्षक पनि निजामती कर्मचारीजस्तै कर्मचारी नै हुन् भनेर राज्यले सहज रूपमा स्वीकारेजस्तो लाग्दैन । सेवा–सुविधामा गरिएको भेदभावले त्यस्तो भन्न बाध्य बनाउँछ । निजामती कर्मचारी र शिक्षकबीच गरिने विभेदले कतिपय अवस्थामा शिक्षकलाई निराश बनाउँछ । 

डोल्पाका कतिपय विद्यालयमा २२५ दिन पढाइ हुन्छ । माथिल्लो डोल्पामा १८० दिन पनि पढाउन सकिँदैन । यो हिमाली जिल्ला हो । यार्सा टिप्न जाने ‘सिजन’मा विद्यार्थी विद्यालय जाँदैनन् । ‘विद्यार्थी यार्सा टिप्न गए भन्दैमा विद्यालय पूर्ण रूपमा बन्द गर्दैनौ । पढाइ नभए पनि विद्यालय खोल्छौं,’ शिक्षिका हमालले जानकारी गराइन्, ‘विद्यालयमा उपस्थित विद्यार्थीलाई मात्रै अध्यापन गराउने कुरा पनि भएन । विद्यालय नआएकाको पढाइ छुट्ने भएकाले पठनपाठन गर्दैनौ । यार्सा नपाउनेहरू फर्कंदै गर्छन् । बाँकीलाई कुर्दै गर्छौं । त्यसैले महिना दिन पठनपाठन प्रभावित हुन्छ । महिना दिन पठनपाठन प्रभावित हुँदा कोर्स सक्न निकै सकस पर्छ । सक्नलाई मात्रै सकेर पनि भएन नि ।’

जिल्लामा डोल्पाली शिक्षकको बाहुल्य हुने नै भयो । त्यसो भए पनि गणित र विज्ञान विषयका शिक्षक जिल्लाबाहिरकै छन् । जिल्लाबाहिरकै शिक्षकको भर पर्नुपरेको छ । 

क्षेत्रफलका आधारमा नेपालकै ठूलो जिल्ला डोल्पामा बीएडसम्मको पढाइ हुन्छ । त्यसपछि उच्च शिक्षाका लागि सुर्खेत, नेपालगन्ज काठमाडौंति धाउनैपर्छ । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ