केन्द्रीय संस्करण

माटोमा मनपरी : विज्ञले औंल्याए रासायनिक मल प्रयोगको घातक असर

person access_timeमंसिर १९, २०७५ chat_bubble_outline0

माटोमा आएको ह्रासका कारण विश्वमा हरेक वर्ष ०.३  प्रतिशतले उत्पादन घट्ने गरेको एक प्रतिवेदनले औँल्याएको छ । अहिलेकै अवस्था रहिरहे सन् २०५० सम्ममा बाली उत्पादनमा १० प्रतिशतले कमी आउने आँकलनसमेत प्रतिवेदनमा गरिएको छ । विश्वव्यापी रूपमा माटोमा ह्रास आइसकेको बेला नेपालमा माटोको समग्र अवस्था कस्तो रहेको छ ? यही विषयमा केन्द्रित रहेर रातोपाटीका लोकेन्द्र भट्टले कृषि अनुसन्धान परिषद्, माटो विज्ञान महाशाखाका वरिष्ठ प्राविधिक प्रगुनसुन्दर सैँजुसँग गरेको कुराकानी :

पछिल्लो समय माटोमा प्रदूषण बढ्दो छ । त्यसलाई कम गर्न विश्वस्तरबाटै पहल जरुरी हुन्छ । माटोमा बढ्को प्रदूषणका कारण मानव जीवनमा पनि ठूलो असर परिरहेको छ । माटोमा भएको प्रदूषणले त्यसबाट उत्पादित वस्तुमा सर्न गई हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ । यसले क्यान्सर जस्ता घातक रोगले हामीलाई जेलिरहेको छ ।

 त्यसैले माटोमा रहेको प्रदूषण नियन्त्रण गर्नु विश्वका लागि अपरिहार्य भएको छ । माटोलाई पनि विश्रामको आवश्यक पर्छ ।  हामीले वर्षमा ४ पटक बाली लगाउने  गर्छौं । यसले माटोमा रहेको उर्वराशक्ति ह्रास हुन जान्छ । 

यस्तो समस्या सबैभन्दा बढी बङ्गलादेशमा हुने गरेको छ । धान बाली मात्र त्यहाँ  वर्षमा ४ पटक गरिन्छ ।  जे कुराको पनि मात्रा हुन्छ । मात्राभन्दा बढी गरिएको खण्डमा विनाश हुने गर्छ । माटोमा पनि त्यो कुरा लागू हुन्छ । एक पटक माटोमा ह्रास आयो भने पहिलेको जस्तो उर्वरायुक्त अवस्थामा पुर्याउन कैयौँ वर्ष लाग्ने गर्छ । 

 

मानवीय लोभका कारण माटोमाथि ठूलो समस्या सिर्जना भइरहेको छ । त्यसमा पनि माटोमा आएका विभिन्न कीरा फट्याङ्ग्रा नियन्त्रणका नाममा अत्यधिक विषादी प्रयोग गरेर उर्वराशक्तिमा कमी आउने खालका गतिविधि गरिरहेका छौँ ।  विज्ञहरूको सुझावलाई अवज्ञा गर्दै नाफामुखी सोचमा मात्र केन्द्रित हुनुले मानव स्वास्थ्यका साथै माटोमा पनि विकराल समस्या आउने गरेको छ । 
वैज्ञानिकहरूले दिएको सुझाव सल्लाहभन्दा पनि ५ गुणा बढी विषादी प्रयोग गरेको पाइएको छ । 

काभ्रेको पाँचखालमा लगाइएको तरकारीमा छरिने विषादीलाई उदाहरणका रुपमा लिन सकिन्छ । यस विषयमा बेलैमा हाम्रो ध्यान जान सकेन भने माटोको उर्वराशक्तिका साथै मानव स्वास्थ्यमा गम्भीर समस्या आउने वाला छ । 

माटोको ऊर्वराशक्ति बचाउन मानिसले खानपानमा नै पनि नियन्त्रण गर्न आवश्यक छ । आफूलाई चाहिने जति मात्र खाने गर्नुपर्छ । अनावश्यक मात्रमा खाने काम गर्नु हुँदैन, जसले माटोलाई भार कम हुन जान्छ । 

                                                       प्रगुनसुन्दर सैँजु

नेपालमा खेतीयोग्य जमिन सीमित छ । हिमाल, पहाड र तराईमा सीमित ठाउँ मात्र  खेतीयोग्य जमिन छ । पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन नै मानव बसोबासका लागि अत्यधिक प्रयोग भएको छ । 
 काठमाडौं उपत्यका खेतीयोग्य जमिनका लागि विश्वकै ३ नम्बरमा पर्छ । तर अहिले यो मानव बस्तीमा रूपान्तरण भइसकेको छ । यसको विकल्पका रूपमा हामीले खेतीका लागि अयोग्य मानिएका ठाउँमा विभिन्न कार्यक्रम लिएर जाने गरेका छाँै । त्यो फगत बालुवामा पनि हाल्ने काम मात्र हो । 

हामीले कृषिजन्य वस्तु निर्यात गर्न त सकेनौँ नै करोडौंको बीउबिजन पनि आयात गर्नुपर्ने अवस्था आएको छ । यो माटोको बारेमा समयमा ख्याल गर्न नसक्नुको परिमाण हो ।  

 माटो वैज्ञानिकहरू र किसानबीचको अन्तर संवादका कमीले पनि माटोमा ठूलो समस्या आउने गरेको छ । वैज्ञानिकले पनि सम्बन्धित ठाउँका किसानसँग सो ठाउँको माटोबारे छफलफ गरेर कहाँ कस्ता खाले बीउबिजन प्रयोग गर्दा प्रतिफल राम्रो लिन सकिन्छ भनेर लाग्नुपर्ने थियो, त्यो हुन सकेको छैन । किसानमा पनि बाहिरबाट ल्याएको बीउ भनेपछि हुरुक्क हुने बानीले समस्या आउने गरेको छ ।  माटो र वातावरणसँग मिल्छ वा मिल्दैन, कसैले हेक्का राख्दैन । यसले माटोमा पनि असर पर्छ र राम्रो प्रतिफल पनि पाउन सकिँदैन ।

माटोमा विश्वभरी चुनौती
विश्वमा माटोमाथि ठूलो चुनौती थपिएको विभिन्न तथ्याङ्कले देखाएको छ । यसका लागि ६० देशका २ सय जना वैज्ञानिकहरूले संयुक्त रूपमा विश्वको माटोको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन् । क्षेत्रीय तथ्याङ्कको विश्लेषणका आधारमा वर्तमान र भविष्यमा माटोमा देखापर्न सक्ने चुनौतीबारे वैज्ञानिक लेखापरीक्षण गरी सूचीकृत गरिने भएको छ । माटोमा आएको ह्रासका कारण विश्वमा हरेक वर्ष ०.३  प्रतिशतले उत्पादनमा कमी आउने गरेको उनीहरूको प्रतिवेदनले देखाएको छ । सन् २०५० सम्म माटोमा अहिलेकै अवस्था कायम रहे बाली उत्पादनमा १० प्रतिशतले कमी आउने उनीहरूले आँकलन गरेका छन् ।

 एक वर्षमा ४ पटक बाली खेती गरेमा माटोमा रहेको ५९ प्रतिशत कार्बन घट्ने गरेको पाइएको छ । साथै जङ्गललाई खेतबारी रूपान्तरण गरेको खण्डमा ४२ प्रतिशत कार्बनमा कमी आउने गरेका देखिएको छ । 
अर्को कुरा युरोपेली देशमा अत्यधिक चिसो हुन्छ । उनीहरूले चिसोमा मात्र उत्पादान गर्न सकिने बाली लगाउने गर्छन् । जुन खाद्यान्न बालीलाई न्यानो खालको वातावरण चाहिन्छ, त्यो त्यहाँ उत्पादन गर्न सकिँदैन । उनीहरूले एसियन तथा अफ्रिकन मुलुकलाई विभिन्न कृषि कार्यक्रमका नाममा खेती गर्न लगाएर आफ्नो देशलाई खाद्यान्न आयात गर्र्ने गरेको पाइएको छ । 

उनीहरूले अत्याधुनिक प्रविधिमार्फत खेती त गर्न सक्थे । तर आफ्नो देशको माटोको गुणस्तर बिग्रन नदिन यस्तो गरिरहेका हुन्छन् । तर अरूलाई भने वर्षमा ४ पटक बाली उब्जनी गर्न लगाउने गरेका छन् ती राष्ट्रहरूले ।  एसियन, अफ्रिकन र साउथ अमेरिकन देशहरू उनीहरूको प्रलोभनमा परेर माटोको गुणस्तरलाई ख्याल नै नगरी बढीभन्दा बढी उत्पादन गरेर निर्यात गर्ने होडबाजीमा लागेको देखिन्छ । 

यस्ता कुरामा समयमै सचेत हुन नसकेको खण्डमा माटोको गुणस्तर खस्किन गई अन्न बाली उत्पादनमा सङ्कट आइलाग्ने देखिन्छ ।

वर्षमा ४, ५ पटक बाली लगाउने नगरेर सीमित मात्रामा बाली लगाउने हो भने खासै असर पर्दैन । बालीबाट पनि पात पतिङ्गरलगायातका चिजहरू माटोमा जाने गर्दैछ । साथै स्तरीय मलजल पनि दिनेगरेको खण्डमा त्यसले माटोमा उर्वराशक्ति थप्दै जाने हुनाले ठिकै हुन्छ । तर, त्यसो नगरी एकोहोरो तरिकाले विभिन्न रासायनिक मलको प्रयोग मात्र गरेर नाफामुखी रूपमा लागेको अवस्थामा अबको ८०, ९० वर्षभित्र विश्वमा खेतीयोग्य जमिन पनि मरुभूमिमा रूपान्तरण हुने छ ।

माटो संरक्षणमा नयाँ प्रविधिको प्रयोग
विभिन्न देशले आफ्नो तरिकाले माटो संरक्षण गर्ने तरिका अपनाएका छन् । सबै ठाउँमा एउटै खाले अभियान छैन । कुन देशमा के कार्यबाट माटोमा सङ्कट आउने अवस्था निम्तिएको छ । त्यसको समधान के हुन सक्छ भनेर लागिपरेका छन् सबै देशहरू ।

 सबै देशका फरक फरक समस्या छन् । कसैले बायोचारको प्रयोग गर्ने गरेका छन् । बायोचार मूलतः कोइला हो तर यसलाई जलाउनुको सट्टा कृषिलगायतका अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ । यसले माटो संशोधनका गर्न सघाउ पुर्याउने गर्छ । यसबाट बोटबिरुवालाई आवश्यक पर्ने पौष्टिक पर्दाथ बोकेर सम्बन्धित ठाउँमा पर्याउने काम गर्छ । यो एक प्रकारको जैविक पदार्थ हो । 

यसका साथै पौष्टिक पदार्थयुक्त पशु आहारा निर्माण, तरल र ठोस मल व्यवस्थापन र लामो समयसम्म माटोमा कार्बन सञ्चित कार्य पनि गर्न सकिन्छ यसबाट । 

यसले माटोको गुणस्तर कायम गर्न  ठूलो सहयो गर्ने गरेको छ । यो प्रविधि पनि विभिन्न देशहरूले माटोमा बढ्दो प्रदूषण कम गर्न प्रयोग गरेको पाइन्छ । माटोमा पाँगो, चिप्लो र कणसँग विभिन्न सूक्ष्म

जीवाणुको पनि आवश्यक पर्छ । माटोका तीनै भागलाई मिलाएर राख्ने काम सूक्ष्म जीवाणुबाट हुने गर्छ । यसका लागि विभिन्न प्रकारका  मलजन्य वस्तुलाई माटोमा मिसाइदिने काम गर्नुपर्र्ने हुन्छ ।

त्यसबाट पनि माटोमा संरक्षण गर्न सकिन्छ । यस्तो काम पनि हुने गरेका छन् । 

नेपालमा माटोको अवस्था
नेपालमा माटोको अवस्था थाहा पाउन निकै कठिन छ । मुख्यतः बजेट अभावले माटोका विषयमा विस्तृत अध्ययनसमेत हुन सकेको छैन । जति भएका छन्, त्यसलाई पनि प्रविधिको अभावमा व्यवस्थित गर्न सकिएको छैन । 

नेपाल सरकारले कृषि अनुसन्धान परिषद्लाई ३५ वर्षअघि एउटा कार्यक्रम दियो । नेपाल अधिराज्यभरको माटोको नमुना परीक्षण सङ्कलन गरेर वैज्ञानिक ढङ्गबाट वर्गीकृत गर्न भन्यो ।  नेपालको माटोको समग्र अवस्था के कस्तो छ भनेर । त्यसमा भौतिक गुण कस्तो छ ? रासायनिक गुण कस्तो छ ? र नेपाली माटोको उर्वराशक्ति कस्तो छ । भन्ने कुराको तालिका बनाउनका लागि एउटा प्रोजेक्ट दियो । त्यसमा ४२, ४३ सालतिर सरकारले सर्वे टोली खटाएर साविकका ७५ जिल्लामध्ये ५५ जिल्लाको सर्वे गर्यो । २० जिल्लाको सर्वे अझै गरिएको छैन । 

सर्वे भएका ५५ जिल्लाको पनि  पैसाको अपुगले जम्मा २५ जिल्लाको मात्र रिपोर्ट प्रकाशन गर्न सक्यौँ । अरू जिल्लाको त विभिन्न ठाउँबाट ल्याएको नमुना परीक्षण मात्र छ हामीसँग । हामीले बजेट अभावका कारण त्यसलाई अन्तिम रूप दिन ३० वर्ष भइसक्दा पनि सकेका छैनौँ । जनु ठाउँमा चाहिने हो त्यो ठाउँको माटो कस्तो खालको छ भनेर सम्बन्धित जिल्लाबासीलाई दिन सकिएको छैन ।

हरेक ३० वर्षमा माटो सर्वेक्षण गर्नुपर्ने हुन्छ । एक पटक सर्वेक्षण गरेको माटो ३० वर्षसम्म मात्र सो सर्वेक्षणका आधारमा प्रयोग गर्न सकिन्छ ।  माटो सर्वेक्षणका लागि ठाउँअनुसार पैसा पनि फरक पर्छ ।

काठमाडौं उपत्यकाको माटो सर्वेक्षण गर्ने हो भने कम्तीमा ६ सयदेखि ७ सय नमुना आवश्यक पर्छ । त्यति गर्नका लागि  कम्तीमा एक मिटर तलसम्म जानुपर्छ । त्यसबाट आएको कुराहरूलाई केमिकलमा एनालाइज गर्दाखेरि एउटा नमुनालाई तीन हजार रूपैयाँ आवश्यक पर्छ । 

ठूला फाँटहरूमा त सहज ढङ्गले परीक्षण गर्न सकिन्छ तर डाँडा पाखामा यस्ता परीक्षण गर्न निकै खर्चिलो हुन्छ ।  

नेपाल सरकारले अहिले पहिलो पटक नमुना सर्वेक्षण गरेका ३० वर्ष नाघिसक्दा समेत कुनै तयारी अगाडि बढाएको छैन । जुन ठाउँ नमुना सर्वेक्षण गरिएको थियो, त्यस ठाउँका मानिसलाई पुरानै नमुनाअनुसार माटोको अवस्थाबारे जानकारी दिन बाध्य भइरहेका छौं । हामीले पनि २५ जिल्लाको आधारमा नेपालको माटो कस्तो छ ? के समस्या आइरहेको छ ? त्यसको कारण के हुन् ? भनेर कसरी भन्न सकिने अवस्था नै भएन । तर ३० वर्ष पहिलेको त्यो सर्वेक्षणका आधारमा २५ जिल्लाको अवस्था हेर्दा नेपाल समुन्द्री सतहदेखि हिमाली उच्च भागसम्म फैलिएको छ । 

एउटै माटोका प्रकार फरक फरक हुन्छ । तराईको चिप्लो माटो काठमाडौंको चिप्लो माटोमा निकै भिन्नता छ ।  उनीहरूका गुण र विशेषता फरक फरक छन् । 

उर्वरा क्षमता पनि फरक छ । यसमा प्रमुख भूमिका वातावरणको रहने गर्छ । माटो एउटै भए पनि कुन वातावरणमुनि बसेको छ भन्ने कुराले फरक पार्छ । सोअनुसार कुन ठाउँको माटोमा कस्तो कुराको कमी देखियो भन्ने हो । माटोमा रहेका सूक्ष्म जीवाणुहरूमा देखापरेका समस्यालाई अध्ययन गरी कहाँ कस्तो चुनौती देखिएको छ, पत्ता लाउन सकिन्छ । 

किसानहरूमा धेरै रासायनिक मलको प्रयोग गर्दा धेरै उत्पादन हुन्छ भन्ने मानसिकताका कारण माटो संरक्षणमा चुनौती थपिएको छ भने अर्को  कुरा रासायनिक मल तथा विषादीको प्रयोग, बाली चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गई उर्वराशक्तिमा ह्रास आउने गरेको छ । 

यसका लागि कृषि चुनको प्रयोग गर्नुपर्ने हुन्छ तर त्यो कुरा सबै किसानलाई जानकारी पनि छैन ।  अर्को कुरा माटोमा रहेको उर्वराशक्ति जगाइराख्ने हो भने ट्याक्टरबाट खेती लगाउने कार्यको पनि नियन्त्रण गर्न आवश्यक छ । यसले माटोमा भएको सूक्ष्म जीवाणुलाई नष्ट गर्ने काम गर्ने गर्छ ।

 ट्याक्टरको टायरले माटोमा समस्या ल्याउने अध्ययनले देखाएको छ । ठूलो रूपमा माटो उखेल्ने भएकाले उर्वराशक्तिमा पनि कमी आउने गरेका छ ।  गोरुले जोत्दा भन्दा ५० प्रतिशतभन्दा बढी असर पर्छ माटोमा । 

जनशक्ति अभाव
माटोबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि अग्रसरता देखाउने कुनै काम भएन । अर्को कुरा यो क्षेत्रमा एक पटक काम पाउने र ३० वर्षसम्म फेरि बेकामे हुने हुनाले पनि जनशक्तिको पनि निकै अभाव छ । विद्यार्थीहरूमा पनि यो विषयमा खासै अध्ययन भएको देखिँदैन । अब त सरकारले सर्वेक्षण गर्ने भने पनि काम गर्ने जनशक्ति पाउन नै नसकिने अवस्था छ । 

सरोकारवालाले पनि यो क्षेत्रमा भविष्यमा जनशक्तिको अभाव हुन सक्छ भनेर कहिल्यै सोचेको देखिएन । अब समस्या देखिने निश्चित छ । बेलैमा समस्याको समाधान नगरिए माटो सर्वेक्षण गराउन पनि विदेशबाट जनशक्ति ल्याउनुपर्ने अवस्था आउन सक्छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ