केन्द्रीय संस्करण

‘त्रिभुवन विश्वविद्यालय दास उत्पादन गर्ने कारखाना बनेको छ’

person access_timeमंसिर १८, २०७५ chat_bubble_outline0

नयाँ शक्तिकी नेतृ मानुषी यमी कुनै बेला नेकपा (माओवादी)सँग सम्बद्ध अखिल (क्रान्तिकारी)बाट त्रिभुवन विश्वविद्यालयको कन्द्रीय क्याम्पसको स्ववियुकी सचिव निर्वाचित भएकी थिइन् । स्ववियुमा रहँदा विद्यार्थीमाझ उनको अध्ययनशील र सहजै पहुँच हुने विद्यार्थी नेतृको परिचय बनेको थियो । 

मानुषीसँग भारतका प्रतिष्ठित उच्च शिक्षालयहरू दिल्ली विश्वविद्यालय तथा जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनको अनुभव पनि छ । रातोपाटीका लागि श्रवण उप्रेतीले मानुषी यमीसँग उनले अध्ययन गरेका भारतीय शिक्षालयको तुलनामा त्रिविको अवस्था, विद्यार्थी आन्दोलनको वर्तमान र भविष्य सेरोफेरोमा रहेर संवाद गरेका छन् । 


–हामी मुख्यतः विद्यार्थीबारेमा केन्द्रित हुन्छौँ । पहिले त विद्यार्थी भनेको को हो ?

विद्यार्थी भन्नाले विद्या आर्जन गर्ने व्यक्ति नै हो । त्यो अर्थमा हामी सबै विद्यार्थी हुन्छौँ । अब संस्थागत हिसाबले कुनै शैक्षिक सस्थासँग आबद्ध भएका अथवा त्यहाँ भर्ना भएकाहरूलाई विद्यार्थी भन्ने गरिन्छ । तर अर्थपूर्ण रूपले हेर्ने हो भने कुनै पनि स्वरूपमा विद्या आर्जन गरिराख्ने व्यक्ति विद्यार्थी हो । 

–तपाईं विद्यार्थी राजनीतिक सङ्गठनमा संलग्न हुनुभयो र त्रिभुवन विश्वविद्यालयको स्ववियुमा पनि रहनुभयो । त्रिविको स्ववियुमा सचिव रहँदा अन्य विद्यार्थीहरूले देख्न नसकेको विश्वविद्यालयको अवस्था कस्तो पाउनुभयो ?

त्रिभुवन विश्वविद्यालयभन्दा अगाडि म दिल्ली विश्वविद्यालयमा पढेकी थिएँ । मेरो राजनीतिक सक्रियता प्रवासमा नेपाली मजदुरहरूसँग रहेर काम गरेर सुरु भएको हो । माओवादी आन्दोलन शान्ति प्रक्रियामा आएपछि त्रिभुवन विश्वविद्यालयमा आए । त्योभन्दा अघि प्रत्यक्ष रूपमा मेरो अखिल क्रान्तिकारीसँग सम्बद्धता थिएन । 

यसकारण त्यसको अध्ययन गर्न, सिद्धान्त के हो, कार्यक्रम के हो ? बुझ्न मेरा लागि नौलो कुरा थियो । किनकि म त निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट सहभागी भएकी थिएँ । त्यो बेला नीति निर्माण तहमा सबैभन्दा प्रिय जनवादी शिक्षा भन्ने हुन्थ्यो । सबै चिजमा जनवादी शिक्षा लागू गर्ने भनिएपछि सकियो । त्यसको व्याख्या विश्लेषण भन्ने कुरा हुँदैन थियो । 

अमूर्तजस्तो बृहत् अर्थ बोक्ने सामान्य शब्दले नै सबै कुरा समेट्छ भन्ने अखिल क्रान्तिकारीको सङ्गठनमा थियो । 

मलाई पनि विद्यार्थी युनियनमा भिड्दै गर्दा र पछि निर्वाचित भएपश्चात विद्यार्थीकै हकहित र नीति निर्माण गर्नमा सहयोग गर्नेदेखि लागू गर्नेसम्मका पहलकदमी लिऊँ भन्ने हुन्थ्यो । त्यो केही हदसम्ममा हामीले गर्यौं पनि । 

क्याम्पसको प्रशासनिक कुराहरूमा हस्तक्षेप गर्न सक्यौँ । फेरि हामी एउटा क्याम्पस केन्द्रित भयौँ । हामीबाट अपेक्षाचाहिँ त्रिभुवन विश्वविद्यालयमै केही हुन्छ कि भन्ने थियो । तर पार्टीको साङ्गठनिक संरचना चाहिँ एकदम हाइरार्किकल हुन्छ । तिमी आफ्नो ठाउँमा सीमित बस है भन्ने खालको संस्कार थियो र यो प्रायः सबै पार्टीमा हुने गर्छ । 

फेरि हामी पनि सानो हैसियतको भएको हुनाले हामीले नीतिनिर्माणकै तहमा हस्तक्षेप गर्नेभन्दा पनि क्याम्पस केन्द्रित भएर काम गर्यौँ । यस क्रममा हामीले क्याम्पस कुनै पनि प्रणालीमा नचल्ने भद्रगोल अवस्थामा देख्यौँ । कर्मचारी पनि तालिका अनुसार काम नगर्ने र त्रिविको आफ्नै तालिका पनि लागू नभएको अवस्था थियो । 

त्यहाँ गएपछि हामीले खानेपानी, ट्वाइलेटको अभाव, विश्वविद्यालयभित्र गाईवस्तु चर्न आउने, पढाइरहेको कक्षाकोठामा कुकुर पस्नेजस्ता सोच्दै नसोचेको समस्याको सामना गर्नुपर्यो । अरूलाई यसको बानी परेको थियो होला तर म चाहिँ दिल्ली विश्वविद्यालयको फरक खालको संस्कृतिबाट आएको हुनाले आश्चर्यचकित भएँ । हामीहरूले त्यहाँ एक तहमा काम गर्ने सोच बनाइरहेको थियौँ । तर त्यहाँ गइसकेपछि विद्यार्थीहरूले दैनिक रूपमा भोगिरहने समस्या सल्ट्याउनमा नै हाम्रो समय गइरहेको थियो । 

यो पनि पढ्नुहोस्

'हाम्रोमा पढाउनेदेखि जाँच्ने तरिका दुवै बेठीक भयो'

‘सहरका विद्यार्थीहरु समाजको बाँकी वर्गबाट पूरै अलग भइरहेका छन्’

 

–दिल्ली विश्वविद्यालयमा पढेको भन्नुभयो, त्यहाँ र यहाँ के फरक थियो ?

दिल्ली विश्वविद्यालयको मैले पढेको कलेजमा त एकदम परिपक्व संरचना तयार छ । त्यहाँको शैक्षिक क्यालेन्डर व्यवस्थित छ । कुन बेला परीक्षा हुने, कुन बेला परिणाम आउने, भर्ना कुन बेला गर्ने, पाठ्यक्रमको विकास कसरी गर्ने ? शिक्षकहरूले पनि के गर्न हुने, के गर्न नहुने भन्ने कुरा स्पष्ट छ । 

–यी कुरा विद्यार्थी आन्दोलनले गर्नुपर्ने काम होइन ? उसो भए त्यहाँ विद्यार्थी युनियनको काम कस्तो हुन्थ्यो ? 

त्यहाँ विद्यार्थी युनियनको काम सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने, वादविवादहरू आयोजना गराउने, त्यहाँ विद्यार्थी सोसाइटी भन्ने समूहहरू हुन्छन्, तिनीहरूलाई सहयोग गर्ने, अन्य क्याम्पससँग मिलेर अन्तरक्याम्पस कार्यक्रम गर्ने अनि फेस्ट आयोजना गर्ने जस्ता कार्यक्रम हुन्थ्यो । मैले पढ्दा सङ्घर्षमै उत्रेको भनेको क्यान्टिनको खाने कुराको भाउ बढ्दा मात्र हो । 

–हाम्रा विश्वविद्यालय र क्याम्पसमा रहेका बेथिति तथा अव्यवस्थाको दोष विद्यार्थी आन्दोलनलाई नै दिइन्छ । विद्यार्थीले यी मुद्दामा किन आवाज उठाउँदैनन्, किन त्यसलाई पूरा गर्नुपर्यो भनेर आन्दोलन गर्दैनन् भनेर प्रश्न गरिन्छ । तपाईंको भनाइ अनुसार प्रशासनले गर्नुपर्ने कामका लागि पनि हामी विद्यार्थी र राजनीतिलाई दोष दिइरहेका छौँ ? के विद्यार्थी राजनीतिमाथि हामी गलत प्रश्न गरिरहेका रहेछौँ ?

त्यो प्रश्न पूर्ण गलत पनि होइन । जस्तै, नयाँ विद्यार्थीहरूलाई फर्म भराउने कार्य विद्यार्थी सङ्गठनका मान्छेको होइन । फर्म भर्ने म्याद सकिएपछि सकियो, त्यो खुलाउन विद्यार्थी जानुपर्ने र खुलाइदिने प्रशासनको काम होइन । कतिपय अवस्थामा मिलेमतोजस्तो पनि हुने । तिमी आन्दोलन गरेजस्तो गर, म सम्बोधन गरेजस्तो गर्छु । हामी आखिर एउटै दलका हौँ । यस्तो खालको कृयाकलापहरू पनि देख्न पाइयो । 

अनि स्ववियुको काम चाहिँ बेतलबी कर्मचारी जस्तो हुने । स्ववियुमा आउने काम भनेको फर्म भर्ने म्याद सिद्धियो, परीक्षाफर्म भर्ने बेला मैले यो यो छुटाएँछु, परीक्षा नियन्त्रण कार्यालयबाट रजिस्ट्रेसन नम्बर निकाल्नुपर्यो लौ न । यी हामीले गर्ने काम होइनन् । अधिकांश काम भनेको कर्मचारीले गर्ने काम हुन् । 

सिस्टम नै नभएपछि भद्रगोल सिस्टमभित्र जुन अस्तव्यस्तता छ, त्यहीभित्र टालटुले काम गर्दैमा हाम्रो दैनिकी बित्थ्यो । त्यसैलाई क्रमभङ्ग गर्न स्ववियुमा हुँदा हामीले जोडदार रूपमा उठाएको माग भनेको त्रिविको शैक्षिक क्यालेन्डर हुनुपर्छ भन्ने थियो । 

यो त विश्व बैङ्कको लगानी रहेको हायर एजुकेसन रिफर्म प्रोग्रामको दोस्रो योजनाअन्तर्गत चाहिँ सेमेस्टर लागू गर्ने भनिएको रहेछ । त्यो कुरा  हामीलाई कहिल्यै थाहा दिइएन । त्यो अन्तिम वर्ष रहेछ । त्यो वर्ष सुरु नगरे विश्व बैङ्कले आफ्नो हात झिक्ने रहेछ । अनि आफ्नो छवि नराम्रो हुन्छ भनेर हतार हतार त्यो योजना लागू गरिएको रहेछ । सेमेस्टर प्रणाली आफैमा नराम्रो होइन तर त्रिवि आफैले सोचेर, आफ्नो भिजन अनुरूप नल्याएका कारण समस्या देखियो ।

शैक्षिक क्यालेन्डर व्यवस्थित रूपमा लागू भयो भने त्यसमा विद्यार्थी सङ्गठन र स्ववियुले गर्दै आएका तर गर्न नपर्ने कामहरू स्वाट्टै घट्थ्यो । त्यसपछि विद्यार्थी सङ्गठनले जे–जे काम गर्नुपर्ने हो, उनीहरूबाट समाज र विज्ञहरूले जे अपेक्षा राख्नुहुन्छ, बल्ल त्यसमा हामी केन्द्रित हुन सक्छौँ  । 

विद्यार्थी सङ्गठनलाई धेरैजसो लगाइने आरोप के हो भने उनीहरूले प्रिन्सिपल अथवा प्रशासनमा गएर टेबल ठटाए भन्ने हुन्छ तर यस पछाडिको कारण के हो भन्ने पनि हामीले ख्याल गर्नुपर्छ । 

विगतमा आर्थिक कारणले यसो हुने गरेको रहेछ । मैले थाहा पाएअनुसार त्रिविको घडी भवन अगाडिको खाली ठाउँमा पहिले वर्षैपिच्छे बाँसको अस्थायी बार लगाउने अनि केही समयपछि त्यो भत्किने रहेछ । त्यसमा पनि कमिसनको कुरा हुँदोरहेछ । यस्ता कुरामा विद्यार्थीहरूको बढी चासो तथा चिन्ता हुने रहेछ । 

–अनि विश्वविद्यालय प्रशासन चाहिँ यी सबै समस्या समाधान सेमेस्टर प्रणाली लागू गरेर हुन्छ भनेजसरी लागिरहेको छ । 

सेमेस्टर प्रणाली पनि हाम्रो कार्यकालको अन्तिम अन्तिममा आएको हो । यो कसरी आएको हो भने समेस्टरको बारेमा अध्ययन नगरी समेस्टरको बारेमा अध्ययन नचलाई, प्राध्यापक, विद्यार्थीहरू र अन्य सरोकारवाला पक्षधर जो–जो हुन् कसैसँग पनि सल्लाह नगरी अचानक आयो । 

फेरि यो हाम्रो केन्द्रीय क्याम्पसमा पहिलो पटक लागू गरिएको थियो । त्यही भएर बाँकी सबै क्याम्पसमा भर्ना खुलाउने नोटिस आयो तर केन्द्रीय क्याम्पसमा नोटिस नै आएन । हामी पनि छक्क पयौँ । हामी के भयो भनेर सोध्न जाँदा ‘यो वर्षदेखि समेस्टर लागू गर्ने रे, त्यही भएर केही महिना पर्खनु पर्यो रे’ भन्ने जवाफ आयो । 

पछि हामीले थाहा पायौं यो त विश्व बैङ्कको लगानी रहेको हायर एजुकेसन रिफर्म प्रोग्रामको दोस्रो योजनाअन्तर्गत चाहिँ सेमेस्टर लागू गर्ने भनिएको रहेछ । त्यो कुरा  हामीलाई कहिल्यै थाहा दिइएन । 

त्यो अन्तिम वर्ष रहेछ । त्यो वर्ष सुरु नगरे विश्व बैङ्कले आफ्नो हात झिक्ने रहेछ । अनि आफ्नो छवि नराम्रो हुन्छ भनेर हतार हतार त्यो योजना लागू गरिएको रहेछ । सेमेस्टर प्रणाली आफैमा नराम्रो होइन तर त्रिवि आफैले सोचेर, आफ्नो भिजन अनुरूप नल्याएका कारण समस्या देखियो ।

–भन्नाले आफ्नो आवश्यकता ख्याल नगरी अरूलाई खुसी बनाउन ल्याइयो ?

सुधारको निम्ति प्राथमिकता के हो ? यो भिजनअन्तर्गत नआएको कारण धेरैले स्वामित्व लिनसकेनन् ।

हामी कोहीसँग नसोधी ल्याइएको थियो । अघि भनिहालेँ नि, भर्ना खुलाउने कुनै तयारी नभएपछि हामीले ‘के हो ?’ भनेर सोध्न गएपछि मात्र उहाँहरूले हामीलाई जानकारी गराउनुभयो । 

अनि हामीले यसमाथि प्रश्न गर्दा हामीलाई सेमेस्टर विरोधीको ट्याग लगाइयो । अब पहिले नै त्यस्तो ट्याग लगाइएपछि हाम्रो कुरालाई गम्भीरतापूर्वक कसैले पनि सुनेनन् । खासमा हामीले विरोध गरेका थिएनौँ, मात्र प्रश्न गरेका थियौँ ।

हाम्रो प्रश्न थियो– सेमेस्टर लागू गरेपछि त्योसँग जोडिएर आउने शैक्षिक क्यालेन्डरको विषय के हो ? 

यस्तो मनोवैज्ञानिक दबाबमा राखियो कि विद्यार्थीहरूमा प्रश्न गर्नै संस्कार नै छैन । सेमेस्टर प्रणालीमा चाहिँ यो झन् वृद्धि हुनेभयो । यो कक्षाकोठादेखि विश्वविद्यालयका अन्य कामकारवाहीमा पनि देखिन्थ्यो । कैयौँ अवस्थामा विद्यार्थीहरूलाई तपाईंहरू नडराउनुस्, हामी बौल्छौँ भन्ने अवस्था थियो । विद्यार्थी सङ्गठनहरूको औचित्यमाथि नै प्रश्न आउन थाल्यो तर के यसले मात्र विद्यार्थीको समस्या समाधान भयो त ? त्यो त भाको छैन नि । 

हाम्रोमा सेमेस्टर हुँदै नभएको पनि थिएन । विज्ञानका कतियप विभागमा पहिले नै सेमेस्टर थियो । त्यहाँ पनि समस्या थिए, बेलैमा परीक्षा नहुने, परिणाम नआउने जस्ता । 

सीमित विभागमा लागू गर्दा समस्या भइरहेको अवस्थामा सम्पूर्ण क्याम्पसमा अनि त्यसपछि आङ्गिक क्याम्पसमा लागू गर्न एउटा तयारी चाहिन्छ । केही नगरी अचानक घोषणा गरिदिनुभयो । त्यसबाट धेरै नै समस्या उत्पन्न भए । 

आफू पढेको विश्वविद्यालय भएकाले पनि र आफ्नो कार्यकालमा लागू हुने भएकाले चासोका साथ म विद्यार्थीलाई सोध्ने गर्छु । त्यसमा  विद्यार्थीको प्रतिक्रिया मिश्रित खालका छन् । तर अधिकांशको समेस्टरबाट आफूले अपेक्षा गरेअनुरूप नभएको भन्ने धारणा छ । शिक्षकहरूले मिहिनेत त गर्नुभएको छ तर पनि जुन गुणस्तरको हुनुपर्ने त्यो भएन भन्ने उनीहरूको भनाइ छ । 

सेमेस्टर प्रणाली लागू हुनुअघि र पछि जस्तो परिवर्तनको अपेक्षा गरिएको थियो, त्यस अनुसारको तात्विक परिवर्तन आएन । 

–पहिलेको वार्षिक परीक्षा प्रणालीमा कमजोरी त थिए । तपाईंलाई व्यक्तिगत रूपमा त्यसमा सुधार नगरी समेस्टरमा मात्र ध्यान दिएर गल्ती भयो भन्ने लाग्छ कि सेमेस्टर ठीकै हो तर आफूहरूसँग परामर्श गरिएन भन्ने मात्र हो ?

हाम्रो त्यो बेला पनि सुझाव के थियो भने हतार हतार गरेर यसलाई लागू नगरौँ । यसलाई अलि समय चाहिन्छ । कम्तीमा एक वर्ष तयारी गरौँ भन्ने थियो । 

जस्तो, हाम्रो प्रश्नमध्ये एक सेमेस्टर लागू गरिएपछि पाठ्यक्रमलाई के गर्ने भन्ने थियो । समेस्टर लागू भएपछि पाठ्यक्रम विकासको खाका के हो ? हामीले राखेको दोस्रो प्रश्न भनेको त्यहाँ पढ्न आउने धेरै त निम्न मध्यमवर्गका परिवारबाट आउने हुन् । त्यसलाई मध्यनजर राख्दै फी संरचना कस्तो राख्नुहुन्छ ? किनभने उहाँहरूले सेमेस्टर प्रणाली लागू हुनासाथ अलिकति महँगो भइहाल्छ भन्नुभएको थियो । अब कति बढाउने हो ? 

त्रिवि भनेको त केन्द्रीय सरकारद्वारा लगानी भएको संस्थान हो । यसको कूल खर्चको ९० प्रतिशत भार त सरकारले बेहोर्छ भन्ने तर व्यवहारमा चाहिँ अनुभूति गर्न नपाउने ? भार जति फेरि विद्यार्थीमै पार्ने काम गर्नुभएन भन्ने हाम्रो तर्क थियो । 

तेस्रो छात्रवृत्तिबारेमा थियो । चौथो शिक्षकहरूको बारेमा । प्राध्यापकहरूलाई सेमेस्टर प्रणालीमा कसरी तयार पार्न सक्नुहुन्छ ? उहाँहरूलाई पनि अभ्यास थिएन ? सेमेस्टर भनेको एक वर्षको कोर्सलाई छ छ महिनामा टुक्र्याउनु मात्र त होइन नि । 

यी समग्र विषयमा एक वर्ष तयारी गरौँ र तयारी पूरा गरेपछि हामी नै तपाईंलाई सहयोग गर्छौं भनेका थियौँ । तर उहाँहरूले मान्नुभएन किनभने विश्व बैङ्कको अन्तिम म्याद रहेछ । 

बाहिर सेमेस्टर प्रणालीले विश्वविद्यालयमा रहेका सबै बेथिति हट्छ भनेजसरी ल्याउने तर भित्री कारण चाहिँ त्यस्तो रहेछ । 

–सेमेस्टर प्रणाली आइसकेपछि विद्यार्थी राजनीतिलाई प्रभाव पारेकोे भन्छन् नि । 

त्यो त हो तर यसका पनि दुईवटा पाटा छन् । एउटा यसले गर्दा वर्षौंदेखि विश्वविद्यालयमा टाइमपास गर्न मात्र आउने विद्यार्थी नेताको, वर्षौं वर्षसम्म क्यान्टिनमा हल्लिएर राजनीति गर्नेहरूको भविष्य छैन भन्ने उहाँहरूलाई भान भयो । त्यो कोणबाट पनि केही विद्यार्थी सङ्गठनहरूले विरोध गर्नुभएको थियो । यो सकारात्मक कुरा हो किनभने जो कक्षाकोठामै जाँदैनन्, परीक्षा दिनै जाँदैन, उनीहरूलाई विद्यार्थीका खास समस्या के हुन् भन्ने कसरी थाहा हुन्छ ? 

केही प्राध्यापकहरूले पनि सेमेस्टर प्रणालीको विरोध गर्नुभएको थियो । धेरै मिहिनेत गर्नुपर्ने, धेरै समय दिनुपर्ने, आफूले पढाइरहेका निजी कलेज तथा इन्स्टिच्युटमा समय दिन गाह्रो हुन्छ भनेर । 

मूलभूत रूपमा हाम्रोमा शिक्षासम्बन्धी दर्शनमै समस्या छ । शासन गर्ने ठाउँमा भिजिनरी शिक्षाविद् नै भएनन् । बाहिर बाहिर एकसे एक हुनुुहुन्छ तर उहाँहरूको कुराहरू सुनिन्छ जस्तो लाग्दैन ।  नेपालको शिक्षामा समस्या प्राथमिक तहदेखि नै छ । मूलभूत रूपमा शिक्षा त समानताको औजार हुनुपर्ने हो । असमानता र विभेदको अन्त्य शिक्षाले गर्नुपर्ने हो नि । उल्टो भइरहेको छ । असमानताको सुरुवात कुन शैक्षिक संस्थामा पसेको त्यसको आधारमा भइरहेको छ । 

हामीले पनि स्ववियुका तर्फबाट यी कुराको विरोध नै गर्नुपर्छ भनेर भनेका थियौँ तर विरोध मात्रै भन्दा पनि आधारभूत प्रश्नको समाधानका लागि एक वर्षको समय दिएपछि लागू गरौँ भन्ने हाम्रो भनाइ थियो थियो । 

यसको नकारात्मक पाटो पनि छ । यस्तो मनोवैज्ञानिक दबाबमा राखियो कि विद्यार्थीहरूमा प्रश्न गर्नै संस्कार नै छैन । सेमेस्टर प्रणालीमा चाहिँ यो झन् वृद्धि हुनेभयो । यो कक्षाकोठादेखि विश्वविद्यालयका अन्य कामकारवाहीमा पनि देखिन्थ्यो । कैयौँ अवस्थामा विद्यार्थीहरूलाई तपाईंहरू नडराउनुस्, हामी बौल्छौँ भन्ने अवस्था थियो । 

विद्यार्थी सङ्गठनहरूको औचित्यमाथि नै प्रश्न आउन थाल्यो तर के यसले मात्र विद्यार्थीको समस्या समाधान भयो त ? त्यो त भाको छैन नि । 

–सेमेस्टर प्रणाली विश्व बैङ्कको लगानी फिर्ता जान नदिन ल्याएको भन्नुभयो, उनीहरूका कार्यक्रम बजारमुखी हुनाले अब विश्वविद्यालय बजारका लागि पेसाकर्मीको माग पूरा गर्ने संस्थानमा बदलिन लागेको हो ?

विश्व बैङ्कको आफ्नै नीति होलान् तर त्रिवि त्यसलाई खुरुखुरु मान्न बाध्य छैन नि । म यस विषयमा विश्व बैङ्कलाई दोष दिन चाहन्न । विश्व बैङ्कले त आफ्ना कार्यक्रम ल्याउँछ, लागू गराउन खोज्छ । त्यो हाम्रा लागि उपयुक्त छ कि छैन, त्यसलाई लागू गर्नुहुन्छ कि हुँदैन भनेर सोच्ने हामी हो ।

–तर गरिब देशका संस्थानहरू त विश्व बैङ्क र आईएमएफ जस्ता संस्थाको अघि कमजोर हुन्छ भन्छन् नि । उनीहरूले सर्त राखेपछि त्रिविले स्वतन्त्र रूपमा अघि बढ्न सक्ला ?

सर्त राख्ने भएपछि ती सर्तहरू नमान्दा त्रिविले के–के गुमाउनुपथ्र्यो त ? त्यो अध्ययन गर्नुप¥यो । जे कार्यक्रमहरू ल्याइरहेका छन्, त्यो अध्ययन गरौँ न । यसमा केही सकारात्मक पक्ष हुन सक्छन्, नकारात्मक पक्ष हुन सक्छन् । विश्व बैङ्क त सहायक संस्था हो नि शासन गर्ने संस्था होइन नि । 

–भारतमा इन्दिरा गान्धीले इमरजेन्सी लगाएपछिको पत्रकारहरूको व्यवहारलाई देखेर खुसवन्त सिंहले ‘उनले त निहुराउन मात्र खोजेकी थिइन्, उनीहरू लम्पसार परे’ भनेर टिप्पणी गरेका थिए रे । विश्वविद्यालय प्रश्न गर्न सिकाउने संस्था आफै चाहिँ यसरी लम्पसार परेको हो । 

एकदम सही । अहिले त्रिभुवन विश्वविद्यालय दास उत्पादन गर्ने फ्याक्ट्री बनेको छ । 

दास भन्नाले कसको ?

एक त त्यहीँको नियामक निकायका लागि, अर्को प्राध्यापकहरूका लागि । चुइँक्क बोल्न नपाउने । अनि त्यसपछि राजनीतिक पार्टीहरूका लागि पनि । 

स्ववियुमा हुँदा कति अवस्थामा विचरा केही प्राध्यापक हामीसँग आउनुहुन्थ्यो । हामीलाई बढुवाका लागि भनिदिनुपर्यो भन्नु हुन्थ्यो । दलीयकरणले हाम्रो त्रिभुवन विश्वविद्यालय यति जीर्ण भएको रहेछ प्राध्यापकहरूप्रति सम्मान नआउने । उनीहरू त राजनीतिक पार्टीको पिछलग्गु भइरहेका रहेछन् । अनि विद्यार्थीहरूले पनि उनीहरूकै सिको गर्दा रहेछन् ।

–यो समस्याको मूल कारण के हो त ? 

मूलभूत रूपमा हाम्रोमा शिक्षासम्बन्धी दर्शनमै समस्या छ । शासन गर्ने ठाउँमा भिजिनरी शिक्षाविद् नै भएनन् । बाहिर बाहिर एकसे एक हुनुुहुन्छ तर उहाँहरूको कुराहरू सुनिन्छ जस्तो लाग्दैन । 

लोकतन्त्र भन्ने चिज एकदम अमूर्त चिज हो । लोकतन्त्र पनि विभिन्न खालको छन् । नवउदारवादीहरू पनि आफूलाई अलोकतान्त्रिक त भन्दैनन् नि । अब नवउदारवादमा विश्वास गर्ने भएपछि काँग्रेसको लोकतन्त्र त स्वाभाविक रूपमा साँघुरो छ । 

नेपालको शिक्षामा समस्या प्राथमिक तहदेखि नै छ । मूलभूत रूपमा शिक्षा त समानताको औजार हुनुपर्ने हो । असमानता र विभेदको अन्त्य शिक्षाले गर्नुपर्ने हो नि । उल्टो भइरहेको छ । असमानताको सुरुवात कुन शैक्षिक संस्थामा पसेको त्यसको आधारमा भइरहेको छ । 

–यहीँ एउटा प्रश्न जोडेँ, निजी विद्यालय वि.स. २०४६ मा लोकतन्त्र स्थापनापछि आएको काँग्रेस सरकारले ल्याएको हो । यसले जुन खालको शिक्षा ल्यायो त्यसले पञ्चायतकालमा समेत नभएको शिक्षामा असमानता निम्त्यायो । लोकतन्त्रलाई समानतामुखी प्रणाली भनिन्छ । तर यो सन्दर्भमा किन उल्टो भयो ? प्रतिगामी र दमनकारी पञ्चायतभन्दा लोकतन्त्रमा शिक्षामा असमानता किन बढ्यो ?

लोकतन्त्र भन्ने चिज एकदम अमूर्त चिज हो । लोकतन्त्र पनि विभिन्न खालको छन् । नवउदारवादीहरू पनि आफूलाई अलोकतान्त्रिक त भन्दैनन् नि । अब नवउदारवादमा विश्वास गर्ने भएपछि काँग्रेसको लोकतन्त्र त स्वाभाविक रूपमा साँघुरो छ । 

–त्यो साँघुरोपन पञ्चायतको भन्दा पनि बढी साँघुरो थियो त ? किनकि शिक्षाको सन्दर्भमा त्यसले पञ्चायतभन्दा पनि बढी असमानता निम्त्यायो ?

राजनीतिक रूपमा साँघुरो त भन्न मिल्दैन । पञ्चायतले राजनीतिक अधिकारलाई कुण्ठित बनाएर त्यसको ठाउँमा विकासभन्दै केही भौतिक संरचना दिएर भ्रम छर्न मात्र खोजेको थियो । 
राजनीतिक अभ्यासको हिसाबमा पञ्चायतसँग तुलनै गर्न मिल्दैन तर राजनीतिक अधिकार मात्र भएर पनि हुँदैन । टेक्ने जमिन भनेको त समाजिक र आर्थिक अवस्था नै हो । त्यो क्षेत्रमा निजी क्षेत्रलाई खुल्ला छाडिदिँदा आएको विकृति हो यो । 

–हामीकहाँ अक्सर विद्यार्थीहरूले राजनीति गर्न हुन्छ कि हुँदैन भन्ने जुन प्रश्न उठिरहन्छ, यो यही नवउदारवादीहरूले राजनीतिप्रति फैलाएको हल्ला पो हो कि ? किनभने उनीहरूलाई त बजारको ‘लेसे फेर’ अवस्थालाई प्रश्न गर्न सक्ने कुनै शक्ति पनि मनपर्दैन ।

उनीहरूलाई प्रतिप्रश्न गर्नुपर्छ उसो भए, राजनीति कसले गर्ने हो ? दलीयकरण र राजनीतिकरणबीच फरक छुट्टाउनुपर्ने हुन्छ । राजनीतिक चेतना त हामी सबैमा हुन्छ । गर्न नहुने भनेको दलीयकरण हो । दलको सम्बद्धतालाई देखाएर मानिसहरूले आफ्नो पेसागत मर्यादा नै भुल्न थाले । 

विद्यार्थीहरूले राजनीति गर्नहुँदैन भन्ने प्रश्न धेरै हदसम्म दलीयकरणबाट वाक्क भएर पनि आइरहेको छ । 

फेरि विद्यार्थी राजनीति गर्नेहरूको व्यवहारले पनि बाँकी विद्यार्थीहरूमा समग्र विद्यार्थी राजनीतिप्रति नै नकारात्मक धारणा निर्माण गराइरहेको छ । किनकि उनीहरू त कक्षाकोठामा पढ्न नबस्ने, बाहिर–बाहिर मात्र रवाफ देखाउने, दाइ–दाइ भन्नुपर्ने खालको छवि बनिरहेको छ ।

–म आफैले पनि कलेजमा देखेका अधिकांश विद्यार्थी नेताहरू विद्यार्थीका सरोकारका विषयमा केन्द्रित हुनेभन्दा पनि आफ्नो सङ्गठन सम्बध माउ पार्टीमा जाने भर्याङका रूपमा सोचिरहेका हुन्छन् । उनीहरू विश्वविद्यालयको पढाइ र समस्याभन्दा सङ्गठनमा आफ्नो पदमा केन्द्रित भएको देखिन्छ । उनीहरूको बसाइ र हिँडाइ पनि गुण्डाहरू जस्तो समूहमा हुन्छ । विद्यार्थी नेता भनेको विश्वविद्यालयमा सबैभन्दा कम अध्ययनशील समूह भनेर चिनिन्छ । भोलिका नेताहरूको यस्तो स्वाँठ प्रवृत्तिले हाम्रो राजनीतिक भविष्यको अँध्यारो चित्र प्रस्तुत गर्दैन ?

म आशावादी मान्छे हो । आशावादी नहुने हो भने राजनीतिमा लाग्न नै सकिँदैन । केही आशावादी हुने र केही आशा अरूलाई देखाउने हो । समस्या छन् । अहिले झन् निराशा बढ्नुको कारण के हो भने अपेक्षाहरू यति धेरै छन् कि त्यसको न्यूनतम कार्य पनि नहुने भइसकेपछि निराशा बढेको छ । 

तर ‘यसरी हुँदैन है’ भन्ने समूह पनि छ र केही प्रयास पनि भइरहेका छन् । त्रिविभित्रै विस्तारै प्राज्ञिक कामहरू बढ्न थालेका छन् । व्यापक रूपमा हुनुपथ्र्यो तर पनि म पढेको बेलाभन्दा बढेको छ । केही प्राध्यापकहरूले मिहिनेत गरिरहनु भएको छ ।

आलोचनात्मक समूह निर्माण गर्ने संस्था हो विश्वविद्यालय । गलत कुरालाई प्रश्न गर्न सिकाउने ठाउँ हो विश्वविद्यालय । चलनचल्ती र परम्परागत मूल्य मान्यतामाथि पनि प्रश्न गर्ने ठाउँ हो । 

विश्वविद्यालयभित्र शैक्षिक वातावरण विकास गर्न प्राध्यापकहरूको ठूलो हात हुन्छ । मोदी सरकार आइसकेपछि जवाहारलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा सरकारको हस्तक्षेप बढ्यो । त्यसविरुद्ध विद्यार्थीहरूले गरेको त्यत्रो ठूलो प्रतिरोधमा प्राध्यापकहरूले दिएको साथले गर्दा पनि सम्भव भएको हो । फेरि उनीहरूको प्रतिरोध एकदम बौद्धिक र प्रश्न गर्ने खालको छ । 

जस्तो, मोदीको हिन्दुत्व र उग्रराष्ट्रवादलाई प्रश्न गर्दै जसरी त्यहाँ खुला लेक्चरहरू चले तिनमा आएर लेक्चर दिने कार्य गर्नेहरू पनि प्राध्यापक नै त थिए । 

–हाम्रोमा प्राध्यापकहरू अलि बढी ‘करियररिस्ट’ भएका हुन् त ?

एकदमै । यहाँ त सबै दास बन्ने दौडमा छन् जस्तो देखिन्छ । नयाँ आउने प्राध्यापक र विद्यार्थीलाई पनि आफूजस्तै बनाउन खोज्ने परम्परा देखिन्छ । 

आफूले देखेको भएर भनिहालुँ जेएनयूमा हरेक कुराको खुल्ला बहस हुन्थ्यो । शिक्षाको कुरादेखि हरेक कुराको । राति–रातिसम्म बहस हुन्थ्यो । कुनै कक्षाकोठामा हुने पढाइलाई रोकेर हुने बहस होइन फेरि । त्यहाँ हुने बहस भनेको राति खाना खाइसकेपछि नौ–दस बजेपछि सुरु हुन्थ्यो ।

–ती बहसको आयोजना कसले गथ्र्यो ?

विद्यार्थीले नै गर्थे । स्ववियुले गथ्र्यो, विद्यार्थी सङ्गठनहरूले पनि गर्थे । कुनै बेला ‘कलेक्टिभ’ भनेर चार–पाँच जना मिलेर पनि आयोजना हुन्थ्यो । 

–हाम्रोमा त विद्यार्थी सङ्गठन र स्ववियु आफूले गर्नु नपर्ने कार्यहरूमा अल्झेकाले पनि यतातिर सोच्न नभ्याइएको हो कि ?

हो, शैक्षिक क्यालेन्डर मात्रै भइदिएको भए विद्यार्थी सङ्गठनहरू धेरै झ्याउलोबाट मुक्त हुन्थे । हामीले त्यही भएर त्यसका लागि जोड गरेका थियौँ । नत्र त फर्म भर, भर्ना गरिदेऊ भन्दै आएका छन् । तपाईं अहिले पनि कलेजतिर जानुभएको भने त्यहाँको गेटमा त्यस्तो तपाईंलाई सहयोग गरिदिने भनेर बसेको समूहसँग भेट हुन्छ । 

–त्यस्तो काममा आर्थिक चलखेल हुन्छ पनि भन्छन्, नत्र आफूहरूले गर्नै नपर्ने कार्यहरूमा पनि किन त्यति चासो दिन्थे होलान् ?

आर्थिक चलखेलको हामीले पनि सुन्थ्यौँ । तर मुख्य कुरा चाहिँ प्रभाव हो । मबाट चाहिँ काम हुन्छ है भन्ने पार्न खोज्ने र त्यसको आधारमा विद्यार्थीहरूमा प्रभाव फैलाउन खोज्ने । विद्यार्थीहरूलाई आफूमा निर्भर बनाएर दास बनाउन खोज्ने प्रवृत्ति हो यो । म माथिल्लो ठाउँमा छु, मेरो प्रभाव छ । यहाँ मैले भनेको अनुसार हुन्छ । त्यस कारण मेरो अधीनमा चल भन्न खोजेको हो । 

–त्यही खालको शक्ति अभ्यास समाजमा पनि देखिन्छ । त्यही छाप विश्वविद्यालयमा पनि देखियो । समाजको सामन्ति सोचलाई प्रश्न गर्न सिकाउनुपर्ने संस्था आफै किन झन् त्यसैको प्रभावमा पर्यो ?

आलोचनात्मक समूह निर्माण गर्ने संस्था हो विश्वविद्यालय । गलत कुरालाई प्रश्न गर्न सिकाउने ठाउँ हो विश्वविद्यालय । चलनचल्ती र परम्परागत मूल्य मान्यतामाथि पनि प्रश्न गर्ने ठाउँ हो । 

–सेमेस्टर प्रणाली, सङ्गठनभित्रै पनि विद्यार्थी नेताहरूको उमेर हदले विद्यार्थी राजनीतिलाई प्रभाव पार्ने देख्नुहुन्छ ?

मलाई के लाग्छ भने परम्परागत राजनीतिक दलद्वारा निर्देशित विद्यार्थी सङ्गठनलाई असर पर्छ । त्यो अर्थमा सकारात्मक नै होला । विद्यार्थी आन्दोलनमा असर परेभन्दा पनि यो रूपान्तरित हुन्छ । नयाँ विद्यार्थीले नै पुराना सङ्गठनहरूलाई रूपान्तरण हुन बाध्य पार्नुहुन्छ भन्ने लाग्छ । विद्यार्थीहरूले रूपान्तरण चाहिरहेका छन्, त्यो अनुरूप विद्यार्थी सङ्गठनले आफूलाई रूपान्तरण गराउने कि नगराउने ? यो प्रश्न विद्यार्थी राजनीतिका लागि महत्त्वपूर्ण प्रश्न हुनेछ ।

–यो कुरामा तपाईं जोडिनुभएको पार्टी नयाँ शक्तिको विद्यार्थी सङ्गठन कसरी लागिरहेको छ ?

नयाँ शक्तिको विद्यार्थी सङ्गठन बन्दै गरेको चरणमा छ । अहलेसम्म सशक्त रूपमा निरन्तर रूपमा धेरै कुरामा बोल्न सकेको छैन । किनकि जनशक्ति कम छ । त्यही कारणले सबै क्याम्पसमा उपस्थिति पनि छैन । 

–अरू पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनभन्दा फरक के गर्छ ?

नयाँ पार्टीको विद्यार्थी सङ्गठनले दलीयकरण भागवण्डा र नियुक्तिको जोडदार विरोधको आवाज उठाइरहेको छ । हामी यसमा सम्झौताहीन रूपले लाग्छौँ । अब यसले शक्तिमा बसेकाहरूलाई कति प्रभाव पार्ला त्यो त हेर्न बाँकी छ । 

त्यसको साथमा हामीले निजी स्कुलको फी बढाउने कुरामा बाँकी विद्यार्थी सङ्गठनहरूसँग मिलेर संयुक्त आन्दोलन गरेका छौँ । 

–तपार्इंसँग जोडिएको एक प्रश्न गरेर यो अन्तरवार्ताको अन्त्य गरौं । तपाईं पहिले अखिल क्रान्तिकारीमा हुनुहुन्थ्यो, त्यो एउटा कम्युनिस्टहरूको सङ्गठन । तपाईं अहिले नयाँ शक्तिसँग आबद्ध हुनुहुन्छ । एउटा हार्ड लेफ्ट पार्टीबाट सेन्टरलेफ्ट पार्टीमा आफ्नै रुचिले आउनु भएको कि जता–जता तपाईंका पिता जानुभयो त्यतै जानुभएको हो ? पछिल्लो कुरा हो भने त तपाईंको आफ्नै कुनै विश्वदृष्टिकोण छैन भन्ने देखाउँछ नि होइन ?

हामी आफूलाई समाजवादी नै भन्छौं, प्रगतिशील समाजवादी भन्छौं । हामी जिब्रो चपाएर सेन्टर लेफ्ट भनिरहँदैनौँ । 

म पहिले तत्कालीन माओवादीको विद्यार्थी सङ्गठनमा रहँदा निसास्सिएको अनुभव गरिरहेको थिएँ । त्यही हाइरार्कीमा बस्नुपरेको हुन्छ । फेरि मैले स्नातकोत्तर सकेपछि पनि समय खेर नफालुँ भनेर इतिहासमा पुनः भर्ना भएकी थिएँ । त्यो पनि सक्किसक्यो । फेरि सङ्गठनले पनि मलाई त्यहीँ मात्र खटाएको खटाएकै थियो । 

त्यसमाथि अन्य राजनीतिक र वैचारिक मुद्दाहरू पनि थिए । त्यहाँभित्र आफ्ना कुरा राख्ने भनेको औपचारिकताका लागि मात्र भइरहेको जस्तो हुन्थ्यो । आफ्नो कुरा राखेकै भरमा सम्बन्ध एकदम तित्ततापूर्ण र अस्वस्थ हुन्थ्यो । 

त्यही भएर केही समय सङ्गठनबाट हटेर सोचविचार पनि गर्न र थप अध्ययनका लागि म जेएनयू आएँ । दिल्ली नै आउनुको कारण चाहिँ मेरो विगतमा प्रवासी नेपालीसँगको घुलमिलको कारण र त्यहाँ बसेर राजनीतिबाट पूरै विमुख पनि हुनुपर्दैन भन्ने भएर गएकी हुँ । 

त्यहीबीचमा नयाँ शक्तिको गठन भएपछि र त्यसअघि भएको अभियानले मलाई आकर्षित गरेको थियो । यसले गरेको नयाँ गर्ने वाचाबाट आकर्षित भएर नै म नयाँ शक्तिमा लागेको हुँ । नयाँ शक्तिका संयोजक र मेरा बाले माओवादी छाडिसक्नु अघि मैले पार्टी छाडिसकेको त होइन तर पनि पहिले जस्तो पूर्णरूपमा लागेको पनि थिइनँ । म त्यहाँभित्र निस्सासिएको महसुस गरिरहेको थिएँ । त्यहाँको हाइरार्किकल र वैचारिक रूपमा कुनै कुरा राख्न नपाउने वातावरणबाट म पहिलेबाट मुक्त हुन खोजेको हो । 

अब यसमा मेरो बा’ले आफ्नै हिसाबमा जानुभयो, म पनि आफ्नो निकास खोजिरहेको थिएँ । 

 


 

श्रवण उप्रेती

श्रवण उप्रेती रातोपाटीमा अन्तराष्ट्रिय मामिलामा समाचार लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ