बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘अहिलेको तरलता अभाव आर्थिक वृद्धिदरको सङ्केत हो, तर्सिनु पर्दैन’

सोमबार, १७ मङ्सिर २०७५, १४ : ०१
सोमबार, १७ मङ्सिर २०७५

अर्थमन्त्री डा. युवराज खतिवडा

नेपालमा अहिले खड्केको विषय भनेको तरलता अभाव हो । बच्चाको दाँत उम्रने बेलामा झाडापखाला लागेजस्तै आर्थक वृद्धि हुन लागेको अवस्थामा देखिएको समस्या हो– तरलता अभाव । यसबाट हामी कोही पनि तर्सनुपर्दैन, यो उच्च आर्थिक वृद्धिदरको सङ्केत हो । अहिले सबै लगानीकर्तालाई पैसा चाहिएको छ । यो राम्रो सङ्केत हो । निरन्तर तेस्रो वर्षमा ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदरमा जाँदैछौँ, जुन नेपालको इतिहासमा अहिलेसम्म भएकै थिएन । सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको परिकल्पना गर्दैछौँ । त्यसो हुँदा थप पुँजी चाहिन्छ ।  थप पुँजीका लागि बैङ्क तथा वित्तीय संस्थालाई  सरकारले उत्पे्ररित गरेको छ ।  सरकार आफै पनि थप सहायताका लागि मिहिनेत गर्दैछ ।  निजी विदेशी लगानी कर्तालाई आह्वान गरिरहेका छौँ । विनिमयदर व्यवस्थापन गर्ने विधि पनि हामीले तयार गरेका छौँ ।  आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ । लघुवित्तलाई लगानी गर्यो सेयर बजारलाई पुग्दैन, सेयर बजारलाई गर्यो, उद्योगलाई पुग्दैन । काहीँ न काहीँ पुँजी अभाव हुन्छ । यसो हुँदा सरकारले चाहिने गरी पुँजी परिचालन गर्न काम गर्दैछ । 

अबको विकास उत्पादक शक्तिहरूको सहभागितामा आर्थिक लाभ हुने खालको हुनुपर्छ 

सबै उत्पादक शक्तिहरूको सहभागितामा आर्थिक लाभ हुने गरी सधैँका लागि गरिने विकास अबको विकास हो ।  सबै उत्पादक शक्तिको सहभागिता त्यतिबेला हुन्छ जब भएका साधनमा कुनै न कुनै प्रकारको पहुँच हुन्छ । भूमिमा सबैको पहुँच पुर्याउन सकिएन, प्रविधिमा सबैको पहुँच पुर्याउँन सकिएन, ठूलो पुँजीमा पनि पहुँच पुर्याउन नसकिने तर सानो पुँजीमा पहुँच पुर्याउँन सकिने रहेछ । त्यही भएर लघुवित्त सफल अभियानका रूपमा विश्वव्यापी हुँदै अघि आयो । उत्पादनको साधनमा पहुँच पुर्याउने र ती उत्पादनको साधनको प्रयोग कसरी गर्नुपर्छ भन्ने निर्णयकर्ता तपाईं उपभोगकर्ता आफै हुने र आफ्नो निर्णय आफै गर्न सक्ने हो भने त्यसले सबलता, सक्षमता र सशक्तीकरण ल्याउँछ । आफूले के गर्ने र आफ्ना उत्पादक शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय आफैले गर्नुपर्छ । कार्यान्वयन आफैले गर्ने लाभमा सहभागी हुने र समन्वय गर्ने त्यस्तो समाजको परिकल्पना हाम्रो हो । तपाईंहरूले यसलाई समाजवाद भने पनि हुन्छ अथवा सबै नेपाली खुसी हुने समृद्ध बाटो भने पनि हुन्छ । हामी उत्पादन शक्तिले उत्पादन नगरी अर्काले गरेको उत्पादनमा सहभागी मात्र भएर नाफा अथवा आम्दानी मात्र बाँडेर खानु दिगो हुँदैन ।

दिगो विकासको अवधारणामा लघुवित्त धेरै प्रयोगमा सफल भएको उदाहरण हो । दिगो किन हुन्छ भने यसमा महिलाहरूको सहभागिता, स्थानीय साधन स्रोत र अवसरको सहभागिता आम हितमा गरिने कार्य समाजमैत्री र वातावरण मैत्री हुन्छ । 

अलिकति मात्र गरिबी हटाएर हुँदैन एक हात माथि उठाउनुपर्छ 

गरिबीको रेखा निरपेक्ष रेखाभन्दा केहीमाथि जानेवित्तिकै गरिबीको रेखाभन्दा माथि गएको हुन्छ ? एउटा भुइँचालो आयो, बाढी आयो अथवा अन्तर्राष्ट्रिय विपत्ति आयो भने फेरि गरिबीकै रेखामा फर्कन्र्छौं । यसकारण अलिकति मात्र गरिबी हटाएर हुँदैन, हाम्रो परिवारलाई गरिबीको चित्र रेखामाथि होइन एक हातमाथि राख्ने गरी काम गर्नुपर्छ । यसका लागि लगानीका क्षेत्र, परिमाण, समुदाय, ऋणको प्रकार, धितो, बिना धितो यो सबै विषय छलफल गर्नुपर्ने विषय भएको छ । हामीले लघु तथा साना उद्यमबाट हटेर अघि बढ्नुपर्छ कि  भन्ने बेला आएको जस्तो मैले बुझेको छु । लघुवित्तबाट ग्र्याजुएसन भएको मान्छेलाई बैङ्कको सेवा लिन सक्षम नबनाउन्जेल न लघुवित्तको परिभाषामा तपाईंलाई समेट्न सक्छ न त बैङ्कले नै पत्याउने अवस्था रहन्छ । ग्र्याजुएसन हुन चाहने लघुवित्तलाई हामीले सशक्त वित्तीय संस्थाका रूपमा रूपान्तरण गर्दै जानुपर्छ कि भन्ने कुरामा विचार गर्नुपर्छ । यो लगायतका धेरै कुरा समाधान गर्न एउटा कार्यदल बनाउनुपर्छ । तपाईंको घोषणापत्रमा भएका कुरा, मैले भनेको कुरा, नेपाल राष्ट्र बैङ्कबाट भनिएका कुरा सबैको पुनरावलोकन गरौँ र एउटा प्रतिवेदन तयार गरौँ लामो समय नलिऊँ । यसमा सरकार सहयोग गर्न तयार छ । नीति परिमार्जन तथा कनुन बनाउने काम हामी गरौँला लघुवित्तसम्बन्धी प्रावधानको कुरा, जग्गा प्राप्ति ऐन वा कुनै कर ऐनमा लगेर राखिदियो भने तपाईंहरूलाई कस्तो लाग्छ ? यो सान्दर्भिक भएन भन्ने लाग्छ ।  करको कुरा हो भने करसम्बन्धी विधेयक नै आउनुपर्छ । सरकारी ऐनमा भएको करका कुरालाई आयकरमा चिनाउने गरी संशोधन गर्न  थालेका छौँ । जुन कुरा जुन कानुनमा  लेखिएको हुन्छ, त्यसमा कार्यान्वयन भयो भने मात्र सहज हुन्छ । 

कामभन्दा हल्ला बढी गर्ने जमात पनि छन् 

कर्जा सूचना दोहोरो तेहेरो नपार्न कर्जा सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । सदस्यको सुरक्षाको कार्यक्रमका लागि लघुबिमासँग लघुवित्त आबद्ध हुनैपर्छ । मेरो व्यावसायिक जीवनमा सबैभन्दा धेरै सङ्घर्ष गरेर स्थापित गरेको एउटा विषय बिमा हो । ऋणको र ऋणीको अनि  व्यवसाय र व्यवसायीको सुरक्षा गरेनौँ भने ऋण दिएर मात्र सफल हुँदैनौँ । 

आर्थिक उत्थानको र जीविकोपार्जनका लागि सुखी र सक्षम जीवनयापन गर्ने एकाथरी छौँ भने अर्कोथरी सामाजिक प्रतिष्ठाका लागि मात्र काम गर्ने र कामभन्दा हल्ला बढी गर्ने छन् । 

लघुवित्तले आफ्नो कमजोरीलाई पहिल्याएर जहाज गुडिरहने सङ्केत गरेको छ ।

दोस्रो  राष्ट्रिय लघुवित्त समापन समारोहमा पुगेका अर्थमन्त्रीले लघुवित्तको नारा देखेर आफू खुसी भएको बताउँदै भने, तपाईंहरूको नारा देखेर खुसी लाग्यो । स्वच्छ लघुवित्त आत्मैदेखि स्वच्छता कायम गर्नुपर्छ । केही समस्या छन् भन्ने बोध भएर स्वच्छतातर्फ जाऊँ भन्नुभएको हो । हामीले काम गर्दा गल्ती हुन सक्छन्, गरेका कामहरू प्राभावकारी नहुन सक्छन् । पारदर्शी जवाफदेही नहुन सक्छन् । त्यसकारण आत्मसमीक्षा सबैले गर्नुपर्छ । नागरिक समाजका अभियन्ता अथवा सामुदायिक क्षेत्रमा काम गर्ने तपाईंहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ । समीक्षा गर्दा सानो भइँदैन ठूलो होइन्छ । कमजोरीलाई पहिल्याएर  सबल पक्षलाई अगाडि लैजाने अठोट गर्नुपर्छ । यो जहाज गुडाइरहने सङ्केत हो, गुडिरहन दिनुपर्छ । हामीले कसरी अघि बढ्नुपर्छ भन्ने कुरा विगतका अनुभवबाट पनि सिक्छौँ । यसमा बधाइ छ । कमसेकम समीक्षाको चरणमा तपाईंहरू पुग्नुभयो । अर्काले मात्र भन्दिरहँदा आरोप प्रत्यारोपको कुरा हुन्थ्यो, आफैले भनिरहनुभएको छ । नाराप्रति मेरो मोह जाग्यो । लघुवित्तको जहाज उडाइरहन लघुवित्तको संस्थागत संरचनामा परिवर्तन गर्न जरुरी छ । 

दुवै हातमा लड्डु हुनेवाला छैन 

लघुवित्तहरू बैङ्क तथा वित्तीय संस्था ऐनमार्फत सञ्चालनमा छन् समस्या त त्यहाँ छ नि ?  लघुवित्तले यो गर्न पाउँछ, यो गर्न पाउँदैन भनेको बैङ्कको व्यवस्था हो । तपाईंहरूसँग दुईवटा विकल्प छ  । बैङ्क तथा वित्तीय संस्था ऐनबाट बाहिएर गैरबैङ्क ऐन बनाएर त्यसबाट परिचालन हुने र निक्षेप  परिचालन रोक्ने अथवा बैङ्क तथा वित्तीय संस्था ऐनको दायरामा रहेर निक्षेप परिचालन गर्ने । तर दुईवटै हातमा लड्डु हुनेवाला छैन, यो स्पष्ट कुरा हो । कुन गर्ने हो  लघुवित्तहरू आफैले विचार गर्नु पर्छ । लघुवित्त सेवाको पहुँच नपुगेको ठाउँमा विस्तार गर्ने र पहुँच पुगेको ठाउँमा सुदृढीकरण गर्ने हो । यदि नयाँ सेवा दिन चाहनुहुन्छ भने सेवा नपुगेको ठाउँमा जानुस् । अबको समय भनेको सुदृढीरकण गर्नु हो । 

(राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन समापन समारोहमा बोलेका कुराहरूमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप