शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'गफ र उखानले देश बनाउन सकिँदैन भन्ने कुरा स्पष्ट भइसकेको छ'

सोमबार, १७ मङ्सिर २०७५, १२ : ५४
सोमबार, १७ मङ्सिर २०७५

नयाँ शक्ति पार्टी, नेपालका सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेसँग पार्टीको गतिविधि, भावी रणनीति र समयसामयिक विषयमा केन्द्रीय रहेर गरिएको कुराकानीको सम्पादित अंशः
 

नयाँ शक्ति पार्टी चाहिँ के गर्दैछ अहिले ?

हामी वैचारिक रूपमा मूलत: पुँजीवादी दक्षिणपन्थी धार र तथाकथित कम्युनिस्ट धारभन्दा फरक विचार र सिद्धान्तसहित अघि बढिरहेका छौँ, जुन नेपालमा नौलो हो । हामीले नेपालमा हाल रहेका राजनीतिक वाद र सिद्धान्तको वैचारिक प्रश्नमा पनि नयाँ खालको विचारको बहस, निर्माण र त्यसको आधारमा सङ्गठन बनाउने कुरा गर्दैछौँ । त्यो सजिलो कुरा पक्कै होइन । हामीले हामीभित्र रहेको वैचारिक प्रष्टतालाई आम जनतासम्म पुऱ्याउन र जनतालाई बुझाउन अझै पहल गर्नेछौँ । हामीले राजनीतिक प्रणाली सुधार्न हाल रहेको निर्वाचन प्रणालीलाई सुधार्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने, विदेशमा रहेका लाखौं नेपाली दिदीबहिनी दाजुभाइले भोट हाल्ने अवसर पाउनुपर्नेलगायतका राजनीतिक एजेन्डाहरू उठाएका छौँ । मलाई लाग्छ, अन्तत: अन्य दलहरू पनि त्यहीँ आइपुग्छन् तर हाम्रो लागि चुनौती यी राजनीतिक मुद्दाहरूलाई आम जनमानसमा स्थापित गराउनु हो ।

त्यसैगरी साङ्गठिनक रूपमा पनि हामी नयाँ छौँ । त्यसैले अहिले हामीले संविधान निर्माणपछि पुरानै विचार र सङ्गठनात्मक ढर्राबाट राजनीति चल्नु हुँदैन भनेर वैचारिक डिस्कोर्स केन्द्रदेखि गाउँ स्तरसम्म गरिरहेका छौँ । अर्काे हामीले आफ्नो सङ्गठन सुदृढ गर्ने काममा जोड दिएका छौँ । यसका लागि भेला, सम्मेलन, प्रशिक्षण, कार्यशालाहरू देशैभर जारी छन् । केही समयअघि सम्पन्न सङ्घीय बैठकले चाँडै नै सबै तहका सम्मेलनहरू सम्पन्न गरी महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै मङ्सिरदेखि चैतसम्मको तत्कालीन कार्ययोजनाको रूपमा ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना पनि तय गरेको छ ।

अब नयाँ शक्ति पार्टीले आफ्नो छुट्टै पहिचान बनाउनेछ, नयाँ वैकल्पिक राजनीतिलाई नयाँ शक्तिले स्थापित गरेरै छोड्छ । हामीले यसका लागि आवश्यक धैर्य गर्ने अठोट गरिसकेका छौँ । पार्टी निर्माण प्रक्रिया प्राकृतिक रूपमा नै अघि बढिरहेको छ, यसरी नै अघि बढ्छ । हामी न त आतिन्छौं, न अनावश्यक रवाफ देखाउँछौँ । आवश्यक प्रक्रिया र समय पूरा भएपछि सबै देख्न सक्नुहुन्छ ।

हामीले अहिले नयाँ बाटो बनाउँदैछौँ । यो पूरा नहुन्जेल यसको अन्तिम स्वरूप कस्तो हुन्छ, के हुन्छ भन्नेमा धेरैले आँकलन गर्न नसक्न सक्छन् तर पूरा भएपछि सबैले खुशीसाथ यो बाटो प्रयोग गर्नेछन् । नबन्दासम्म, निर्माणकै चरणमा हुँदासम्म त अलिअलि उबडखाबड पनि देखिन्छ, धुलैधुलो र फोहोरमैला पनि देखिन्छ । तर हामीले अन्तिम स्वरूपको नक्सा बनाएर त्यो निर्माणमा लागेकाले हामी त विश्वस्त छौँ कि अन्तिममा नतिजा सुखद् र सुन्दर निस्कनेछ । 


पार्टीबाट अब व्यक्तिगत कुरा गरौं । तपाईंका लागि कामको प्रकृति नयाँ नभए पनि पार्टीको साङ्गठनिक जिम्मेवारीका रूपमा प्रचार विभागको प्रमुखका रूपमा काम गर्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ त ?

राजनीतिमा एक खालको भूमिकामा म विगत १६ वर्षदेखि सक्रिय छु । तर भूमिका, सन्दर्भका हिसाबले अहिलेको जिम्मेवारी केही पृथक् छ । एउटा बनिबनाउ ठूलो पार्टी र निर्देशित विचारबाट हामी नयाँ विचार, पद्धति र नयाँ सङ्गठन बनाउन खोज्दैछौँ । फरक अनुभव त भएकै छ । हिजोको सन्दर्भ र आजको सन्दर्भ पनि फरक छ । मैले सम्पूर्ण रूपले नयाँ बनाउनुपर्ने र बनाउने उद्देश्य बोकेको विल्कुल नयाँ पार्टीको प्रचार विभागको प्रमुखको जिम्मेवारी लिएको छु । यो जिम्मेवारी पूरा गर्ने कुरा पार्टी निर्माणको प्रक्रिया जस्तै चुनौतीपूर्ण नै हुन्छ । हामी अहिले पार्टी निर्माणको प्रक्रियालाई अलि जोड दिएर काम गरिराखेका छौँ । पार्टीको महाधिवेशनको काम पनि हामीले चाँडै नै सम्पन्न गर्नुपर्नेछ । अहिले प्रचार विभागले केही विभागीय जिम्मेवारी पूरा गर्न छुट्टै केही काम पनि गर्दैछ भने पार्टी निर्माणको प्रक्रियामा पनि सँगसँगै लागिराखेको छ ।

नयाँ शक्ति पार्टीको प्रचार विभागले अहिले के त्यस्तो नयाँ काम गरिरहेको छ ?

हामीले पार्टी निर्माणको प्रक्रियासँगै नयाँ र फरक सन्दर्भमा प्रचार कार्यलाई पनि नयाँ ढङ्गले सञ्चालन गर्ने कोशिश गर्दैछौँ । अहिले मानिसहरूले गर्ने सञ्चार र सूचना लिने तरिकारहरू सञ्चारका माध्यमहरू फरक हुँदै गइरहेका छन् । सूचना तथा सञ्चार प्रविधिमा लगातार परिवर्तन भइरहेको छ । हामीले त्यससँग पार्टी र नेताहरूलाई जोड्दै अगाडि बढ्ने प्रयत्न गरिराखेका छौँ ।
अहिलेको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगमा जोड दिने, इन्टरनेटका माध्यमहरूको प्रयोगमा जोड दिने, डिजिटल प्रचार कार्यलाई अगाडि बढाउने काम पनि गरिरहेकै छौँ । साथसाथै हामीले पहिलेका माध्यमहरूमा अभ्यस्त तर नयाँ सञ्चार माध्यमको प्रयोगमा सीमितता भएका नेता, अभियन्ताहरूको सीप विकासको काम पनि गरिरहेका छौँ । हामीले केहीअघि सामाजिक सञ्जालको प्रयोगबारे कार्यशाला गरेका थियौं । हालसालै प्रचार विभागले नै आयोजना गरेर लेख, रचना, विचार कसरी लेख्ने, कसरी अभिव्यक्त गर्ने भन्ने बारेमा मिडियाका विज्ञहरूलाई नै आमन्त्रण गरी उहाँहरूद्वारा सहजीकरण गरिएको कार्यशाला पनि सम्पन्न गऱ्यौँ । अहिले यस्ता कार्यशाला केन्द्रमा मात्रै गरिएको छ, यसलाई हामी अब विस्तारै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै पुऱ्याउने योजना बनाइराखेका छौँ ।

खासगरी पार्टी पङ्क्तिलाई नयाँ नयाँ सूचना प्रविधिको जानकारी गराउने, प्रविधि प्रयोगका बारेमा बताउने, त्यसको प्रयोगका सन्दर्भमा सकारात्मक, नकारात्मक, सीमाजन्य विषयवस्तुबारे जानकारी दिने र प्रचार विभागलाई नयाँ नयाँ प्रविधियुक्त दक्ष टिमसहितको विभाग बनाउने काममा नै प्रचार विभाग अहिले लागिपरेको छ ।
पहिले प्रचार विभागको काम पत्रिका निकाल्ने, रेडियो चलाउने आदि हुन्थ्यो भने अब पार्टीले त्यो काम मात्रै गरेर प्रचार कार्यलाई प्रभावकारी बनाउन सकिँदैन । राजनीतिक दलका लागि प्रचार गर्नका लागि लक्षित समूह भनेकै सम्पूर्ण नागरिकहरू हुन् । ती नागरिकसम्म जसरी पहुँच र सम्पर्क स्थापित गर्न सकिन्छ अबको प्रचार विभागले ती काम गर्नुपर्ने हुन्छ । त्यसो हुँदा प्रचार विभागको काम पनि नयाँ नै हुनुपर्छ । हामी त्यो बनाउने काममा लागिरहेका छौँ ।

नयाँ शक्तिको प्रचारको खास नीति चाहिँ के छ ? 

नयाँ शक्तिले आफ्नो कुरा हरेक नागरिकलाई थाहा दिने र हरेक नागरिकको मत के छ बुझ्ने प्रमुख नीति लिएको छ । नयाँ शक्तिको प्रचार कार्य यसैका निम्ति नै हुने गर्छ । केही विषयमा भ्रम सिर्जना भयो भने त्यसलाई निवारण गर्न आवश्यक खण्डन गर्ने कार्य हुन्छ । 

भर्खरै विवेकशील साझा पार्टी र त्यो पार्टीका प्रमुखविरुद्ध लागेको त देखियो नि त ?

नयाँ शक्ति कसैको विरुद्धमा लाग्दैन । हामी विरुद्धमा लागेको हैन । केही वैचारिक विषयमा बहस भएको हो । जुन लोकतन्त्रको सुन्दर पक्ष पनि हो । हामीलाई लाग्छ वैकल्पिक पार्टीहरू विचारको पक्षमा स्पष्ट र पारदर्शी हुनुपर्छ । यो सँगै हामीमाथि लगाइएका आरोपहरूको सामान्य खण्डन वैचारिक पक्षबाट गरिएको मात्रै हो ।

तपाईं आफै पनि सामाजिक सञ्जालमा उत्रिनुभएको देखिएको थियो त ?

हामीलाई लाग्छ स्पष्ट, विचार, सिद्धान्त र वैचारिक पारदर्शीताविना वैकल्पिक पार्टी बन्न सक्दैन । कसैले हाम्रो बारेमा नभएको कुरा गर्छ भने त्यतिबेला आवश्यक पऱ्यो भने प्रष्ट पार्ने काम हामीले गर्छौं, त्यत्ति मात्रै हो । यसमा खासै ठूलो कुरो केही छैन । उहाँहरूको बुझाइ एउटा खालको छ । त्यसमा कोही सहमत नहुनेवित्तिकै उहाँहरू अनेकन लाञ्छना लगाउनुहुन्छ, हामी त्यसो हैन है हाम्रो कुरा यसो हो भन्छौँ । कुरा यति हो । हामीले अस्पष्टता र भ्रमको निवारण त गर्नै पऱ्यो नि ।

अबको नयाँ शक्तिको कार्यदिशा के हुन्छ ?

हाम्रा केही आन्तरिक योजनाहरू छन् । जसको कार्यान्वयन तपाईंले छिटै देखिहाल्नु हुनेछ । यस बाहेक हामी केही तयारीका साथ जनतामाझ जाँदै छौँ । हाम्रो स्पष्ट विचार र भिजनसहित जनतामा जानेछौँ । सिद्धान्त भनेको गतिशील हुन्छ तर पुरानै ढर्राको विचार र गफ र उखानले देश बनाउन सकिँदैन भन्ने कुरा स्पष्ट भइसकेको छ । हामी त्यो कुरालाई अझ स्पष्टताका साथ जनतालाई बुझाउनेछौँ । हाम्रो भिजन, योजना र विकल्पहरूलाई जनतामाझ प्रष्ट्याएर नयाँ विचारसहितको राजनीतिक अभ्यासमा अघि बढ्नेछौँ । 

नयाँ शक्ति पार्टी र अन्य वैकल्पिक भनिएका पार्टीबीच एकताको सम्भावना छ कि छैन ? 
कुन पार्टी, पक्ष वा समूहसँग एकता गर्ने कि नगर्ने भन्ने प्रश्नभन्दा पनि आफ्नै सुदृढीकरण गर्ने र वैकल्पिक राजनीतिको नेतृत्व लिने कुरालाई नै प्राथमिकता दिँदैछौँ । त्यसो भनिरहँदा कुनै पार्टी वा सङ्गठनसँग मिसिनेभन्दा पनि नयाँ शक्ति पार्टीको विचार, नीति, सिद्धान्त मिल्ने पार्टी, सङ्गठन, व्यक्तिसँग सहकार्य र ध्रुवीकरण गर्नेछ । हामीले विवेकशील साझालगायतका पार्टीसँग भ्रष्टाचारविरोधी मुद्दाहरूमा, सरकारका गलत कामविरुद्ध लगायतका मुद्दा र एजेन्डा मिलेसम्म सहकार्य गरेका पनि छौँ र अब पनि हुन सक्छ । तर अहिले नै पार्टी एकता हुने कुरामा हाम्रो ध्यान केन्द्रित भएको छैन । तर, नयाँ शक्ति पार्टी नेपालमा तेस्रो ध्रुवको वैचारिक राजनीतिक पक्षलाई केन्द्रमा राखेर राजनीतिक पार्टी, समूहहरूसँग संवादको ढोका सधैँ खुला नै राख्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप