शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षमै बिग्रिए सौर्य बत्ती

आइतबार, १६ मङ्सिर २०७५, १५ : ०५
आइतबार, १६ मङ्सिर २०७५

बैतडी– दुई वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । नगर क्षेत्रमा रातिको समयमा सडकमा अध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सौर्य सडक बत्ती जडान गरिएको सडक सौर्य बत्ती बिग्रिदै जान थालेका हुन् । 

सदरमुकाम गढीमा आर्थिक वर्ष २०७३÷७४ मा जडान गरिएका सडक सौर्य बत्ती बिग्रिदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, शत्रुमर्दन गुल्म तथा जिल्ला निर्वाचन कार्यालय अगाडि चोकमा रहेको सडक सौर्य बत्ती चार महीना अगाडि बिग्रिएको स्थानीयवासी दीपक सिनालले जानकारी दिए । 

बिग्रिएका बत्ती मर्मतका लागि दशरथ चन्द नगरपालिकालाई पटक÷पटक आग्रह गरिएको भए पनि कुनै पहल हुन नसकेको उनले बताए । बत्ती बिग्रदा रातिको समयमा हुने आपराधिक क्रियाकलाप बढ्ने खतरा बढेको छ । 

शाहिलेक बजारमा रहेका तीनवटा सडक बत्ती पनि बिग्रिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । सौर्य बत्ती के कति कारणले बिग्रिए भन्ने थाहा हुन नसकेको भए पनि मर्मतका लागि नगरपालिकाले पहल थालेको उनको भनाइ छ । 

प्राविधिक जिल्ला बाहिर रहेकाले केही दिनमै मर्मतको काम अगाडि बढाइने नगरपालिकाले जनाएको छ । चिसोका कारण ब्याट्री र चार्ज कन्ट्रोलरको कनेक्सन तार छुट्ने भएकाले सडकका सौर्य बत्तीमा समस्या आएको नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले जानकारी दिए । बैतडी सदरमुकाममा पहिलो पटक सडक सौर्य बत्ती जडानको कार्य रु ५५ लाखमा सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप