केन्द्रीय संस्करण

विवादको चक्रव्युहमा प्रधानमन्त्री ओली

person access_timeमंसिर १६, २०७५ chat_bubble_outline0

     प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा भइरहेको एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा  विवादको चक्रव्यूहमा पर्नुभएको छ । यसको मूल आयोजक  किस्चियन धर्म प्रचारक संस्था, जसको नाम युनिभर्सल पिस फेडरेसनका हो । यसका कारण ओली सरकार विवादको घेराबन्दीमा परेको हो ।   

 पहिलो पल्ट सरकारबाट बाहिरिनुपर्दा ओलीले आफूलाई लक्षित गरेर यो अभिमन्यु महाभारत कालको उमेरको होइन भनेझैँ अबका  चक्रव्यूहलाई कसरी तोड्नु होला । यो त देखेर र सुनेर मात्र भन्न सकिन्छ 
यसो त ओली पटक पटक विवादमा पर्नुभएको देखिन्छ । उहाँ महाकाली सन्धिताका भारतीय पक्षधर नेता भनेर विवादमा पर्नुभएको थियो । पछिसम्म पनि यही छाया र छविले ओलीलाई लखेटिरह्यो ।
 जब भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगायो त्यस बेला प्रधानमन्त्री ओलीको अडान अब्बल सावित भयो  । यसले भारतीय शासक तिल्मिलायो । 

तैपनि  विरोधीभन्दा तीन हात उफ्रिएर आफ्नै पार्टीका केही नकार नेताले रातविरात भारतसित जम्लाहात जोडेर आर्थिक–भौतिक सहयोग लिने तर दिउँसो दिउँसो भारतको उग्रविरोध गर्ने भन्दै ओली लक्षित कटु आलोचना गरे ।  

तर ओलीले  एउटा छिमेकीले अर्को छिमेकीलाई भरअभरमा सरसहयोग गर्यो भनेर छिमेकीलाई घरबार सुम्पन सकिन्न भनेर आलोचकलाई अवाक् बनाउए । 

नाकाबन्दी फिर्ता भएर पनि भारत नेपाल सम्बन्धमा पूर्ववत् विश्वसनीय सुधार नहुँदा भारतलाई नै महाअचम्मित पार्नेगरी ओलीले चीनसित पारवहनलगायत सन्धि गर्ने आँटिलो काम गर्नुभयो । 
  त्यसबेला पनि  ओलीलाई चिनियाँ कार्ड खेलेको फतुर विवादमा फसाउन खोजियो तर समय क्रममा ती सबै विवाद पानीका फोकासरह सावित भए । 

समय क्रममा ओलीले भारतसित पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुभयो र देश र जनताका हितका खातिर सरकार निरन्तर क्रियाशील रह्यो । कतिपय सवालमा विरोधीका लागि ओली सरकार निल्नु न ओकल्नुभएको देखिन्छ । 

हालै ओली सरकारले  सामाजिक सुरक्षा कोषजस्तो श्रमिकलाई पेन्सन प्रबन्ध गर्ने युगान्तर कार्यक्रमको घोषणालाई डा. सुन्दरमणि दीक्षितलगायत व्यक्तित्वहरूले सकारेका छन् तर यसलाई प्रत्यक्ष वा  परोक्ष रूपमा विरोध गर्नेहरूको कमी देखिएन ।  
ओली तत्कालीन एमाले पार्टीमा नै पनि पार्टीको साङ्गठनिक लोकतान्त्रीकरण विषयगत प्रस्तुतिको मुद्दामा घनघोर विवादमा तानिए तर उनैका विरोधी नेताले ओलीको सही मान्यता पार्टीको नवौँ महाधिवेशनमा स्थापित गर्नै अवस्था आइप¥यो । 

ओलीको अभिव्यक्ति बुझेर वा नबुझेर पनि उहाँलाई बारबार विवादमा तान्ने गरिएको देखिन्छ । ओलीले नेपाली काङ्ग्रेसले पार्टी विधानमा संवैधानिक राजतन्त्र शब्द नहटाएसम्म शक्ति सन्तुलन गणतन्त्र पक्षमा एकीकृत हुँदैन र नेपालमा राजतन्त्रको समूल अन्त्य हुँदैन भन्ने सन्दर्भमा दृष्टान्त  स्वरूप गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेको विषय विवादको भुमरीमा पारिएकै हो । 

नेपालको संविधान जारी गर्ने बेलामा पनि ओलीको अडान भारी विवादमा परेकै थियो । तर समय क्रममा उक्त अडानका कारण देश स्थिरतातर्फ उन्मुख हुनसक्यो ।  

त्यसैगरी जारी संविधानविरुद्ध मधेसवादी भनिने एकाध पार्टी र नेताहरूप्रति ओलीले गरेको लाक्षणिक तथा व्यञ्जनामूलक टिप्पणीलाई बुझेर वा धेर बुझेर चरम विवादमा तानिएकै थियो  ।   

विवाददेखि डराउने होइन, त्यसलाई परास्त गरेर  दिशानिर्देश गर्नु बुद्धिमानी हो । 

माओवादी जनयुद्धका अतिवादी उग्रवादी कृत्यका  आलोचकका नाताले केपी ओली  विवादको केन्द्रमा परेकै हुन् । तर समय क्रममा विवादको औचित्य पुष्टि भयो । त्यसैले साँच्चो नेता  पिँध बिनाको लोटा हुँदैन । 

जननेता मदन भण्डारी आफ्ना सही विचारमा एक्लै पनि  अविचल अडान राख्थे  । माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा जनताको बहुदलीय जनवाद प्रतिपादनको अगुवाइ गर्दा उनी पनि  विवादको चक्रव्यूहमा परकै हुन्  । 

भण्डारीलाई दाहिने र देब्रे तथा पार्टीभित्रका डेब्रेहरूले पनि घनघोर विवादमा तान्न खोजेका थिए । विवाद चाहिँ भण्डारीलाई गैरमाक्र्सवादी, दक्षिणपन्थी र राजावादी आदि भन्ने थियो तर तमाम आरोपलाई मदनले एक्लै निरस्त पारे । 

मदनले दुनियाँबाट ढलेको कम्युनिस्ट आन्दोलनकोे सिर नेपालबाट उठाएरै छाडे । 

पार्टीद्वारा आयोजित खुला सभाहरूमा पनि कतिपय नेताहरूले मदन भण्डारीलाई आम जनतालाई अपाच्य हुने विषय नबोल्न सुझाए पनि आफ्ना कुरा उनी  बोलिछाड्थे । 

सुरुमा भण्डारीको अभिव्यक्तिमा जनताको रोषको लहर प्रकट हुन्थ्यो, यसले सभा बिथोलिएला भनेझैँ पनि हुन्थ्यो तर जब मदन भण्डारीले आफ्नो विषयलाई रोचक, घोचक, तार्किक तथा दृष्टान्तसहित धारा प्रवाहमा पुष्टि गर्न थाल्थे, तब आम श्रोता सहभागी जनता उनको अभिव्यक्तिमा खुसीसाथ एक साथ समर्थनको ताली बजाउँथे । 

   ग्यालिलियो, ब्रुनो जस्ता वैज्ञानिकहरू विवादको चरम भुमरीमा पारिए र मारिए पनि । तथापि तिनले आफूलाई बालेर भए पनि दुनियाँलाई उज्यालो प्रदान गरे । 

मोदनाथ प्रश्रित नेपाल एकीकरणका मूल अभियन्ता पृथ्वीनारायण शाहसम्बन्धी विवादको भुमरीमा पारिए तर प्रश्रित आफ्ना सही अडानमा जब्बर रूपमा अडिए । जसले गर्दा ऐतिहासिक गौरव गरिमा तथा सत्य स्थापित  हुनसक्यो ।  

सिस्नुपानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ कतिपय मिडिया गोयल्स शैलीमा ओली सरकारका पालामा पहिले कहिले पनि नभएका विकृति फैलिएको प्रचार गरिरहेका कारण पनि यो सरकार विवादको चौघेरामा परेको जस्तो देखिन्छ । 
एकातिर यस्तो स्थिति देखिन्छ भने ओली सरकारको मुख नै छैन कि भनेझैँ  पनि देखिन्छ । यसको मतलब सरकारको मुख भनेको पार्टी र त्यसका नेताहरू हुन्, लेखक तथा बुद्धिजीवी हुन् । 

तर भरतमोहन अधिकारी, राम कार्की जस्ता केही नेता विपक्षीभन्दा पनि तीनबित्ता उफ्रिएर ओली सरकारको अयथार्थ र अराजक शैलीमा  आलोचना गरिरहेका छन् ।

झलनाथ खनाल नै पनि पार्टीमा आफूले तेस्रो बरियता नपाएको झोँकमा ओली नेतृत्वका विरुद्ध अयथार्थ टिप्पणी गर्दै जग हँसाइरहेका छन् । आफू कत्ति न काम गर्ने हुँ भन्दै पार्टी एकीकरण समयमै नहुँदा कार्यकर्ता काम र जिम्मेवारीविहीन बनाएकामा  खनाल रुष्ट देखिन्छन् ।  

नेकपामा नितान्त निजी महत्त्वाकाङ्क्षाका लागि मरिहत्ते गर्ने नेताको कमी छैन । 

जनताको सरकार जनताले जगाउने र जोगाउने हो । त्यसैले नेकपाले आफ्नो तमाम शक्तिलाई राष्ट्रव्यापी रूपमा पार्टी सुदृढीकरणसहित  परिचालित नगरेसम्म ओली सरकारलाई हिलाको किलोझैँ बनाइरहने स्थिति देखिन्छ ।  

सरकारको प्रभावकारी प्रचारका लागि मुख र कलमको विशेष महत्त्व हुन्छ । तर सरकार र पार्टीले  चामल पनि बेच्न सकेको छैन । सही माल भएर मात्र हुँदैन । बेच्ने कला पनि चाहिन्छ ।  

केही नगण्य मन्त्री, प्राडा युवराज सङ्ग्रौला, राजन भट्टराई, विष्णु रिमाल, डा. कुन्दन अर्याल, महेश बस्नेत, सुमन प्याकुरेल जस्ता केही मुख मात्र सरकार पक्षमा देखिन्छन् । केही त मुख सिएर बसेका छन्, केही मुख चपाएर बसेका देखिन्छन् । 

नेपालमा आग्रहरहित बौद्धिक वर्गको अभाव देखिन्छ । आसे र बतासे बुद्धिजीवीको यहाँ अनिकाल छैन । दीपक ज्ञवालीजस्ता संविधानमा उल्लेख सनातनको  प्राविधिक अर्थसमेत नबुझी सतही टिप्पणी गर्ने बुद्धिजीवी पनि रहेछन् । 

ओली सरकार कम्युनिस्ट नामका कारण देशी विदेशीको विवादित निशानामा परेको हो । भरसक सरकार नै बन्न निदिने, बन्यो भने अनेक तरहले अल्झाउने र बल्झाउने  र भित्री र बाहिरी अनेक षडयन्त्र गरेर असफल पार्ने योजना रहेको खुल्दै गएको छ । 

सरकार यति खेर पाइला फुक्दै होसियारीका साथ चल्नुपर्ने अवस्थामा छ । 

ओली सरकारमाथि नेपालको मात्र नजर परेको छैन अझ दुनियाँ एक टक लगाएर यस सरकारलाई हेरिरहेको छ । यो सरकार पनि असफल हुनु भनेको देश र जनतामा चरम निराशा उत्पन्न हुनु हो ।

 यस्तो परिस्थिति जानेर वा नजानेर पनि कसैले बन्न दिनु हुँदैन । देशको तमाम समस्या यही सरकारले छुमन्तर गर्ने होइन र छैन । प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले भोलिका दिनमा सरकार बनाएर देशको उत्थान गर्ने अनेक क्षेत्र र विषय बाँकी नै रहनेछन् । आफू अग्लो हुन अरूलाई होच्याउनुपर्दैन । 

 चिनियाँ दार्शनिक  कन्फ्युसियसले तत्कालीन सम्राटलाई देश विकासका लागि अनेक सुझाव दिँदा बेवास्ता गरिँदा मन्त्री पदबाट  राजीनामा दिएर उनी विद्यालयमा पढाउन गए । कफ्युसियसले   विद्यालयमा देशभक्ति, नैतिकता, चिनियाँ इतिहास, धर्म र संस्कृति जस्ता  विषय पढाएर देश समृद्धिको दरिलो जग बसाए । 

सच्चा प्राज्ञ  र बुद्धिजीवीलाई देश र जनताको शिर उठेको हेर्न मन हुन्छ । कुनै खतबात नलागेका विषयगत र विधागत विज्ञतम व्यक्तित्वलाई उपयुक्त जिम्मेवारी दिँदा मात्र देशको प्राज्ञिक शिर उँचो हुन्छ । लिलिपुटले सगर छुँदैन । धेरै बोल्नुभन्दा एक कामले पनि तमाम विवाद सुल्झिन्छ ।    

ओली वृत्तभित्र पनि स्वार्थलम्पट प्रवृत्ति छैन होला भन्न सकिन्न । बरु ओली वृत्तका र पार्टीमा पूर्ण समर्पित प्रतिभाहरूले चाहिँ मुलुकको सेवा गर्ने कुनै अवसर नै नपाउने हुन् कि भन्ने आशङ्का देखिन्छ ।   

त्यसैले ओली कहिल्यै निर्विवाद बनेको देखिन्न । तमाम जडताहरू तोड्न पनि विवादबाट भाग्नु हुँदैन । त्यसैले अहिले यो समिटमा ओली विवादको चक्रव्यूहमा परेका देखिन्छन् । 

तर धार्मिक दृष्टिकोणले नै हेर्दा पनि यस खालको कार्यक्रम नै गर्न नपाउने कुरा पनि  भएन । यसमा सरकारले ठाडो आपत्ति र असहमति गर्ने कुरा पनि होइन । तर क्रिस्चियनको धार्मिक कूटनीति खतरनाक रहेको विषयलाई भने सम्बन्धित सरोकार क्षेत्र होसियार हुनुपर्छ । 

किनभने  क्रिस्चियनहरू आफ्ना धर्मावलम्बीहरूबाट प्रतिव्यक्ति मासिक लेबी उठाएर समृद्ध बनाउँदै आफूलाई अनेक आवरणमा अनेक तौर र तरिकाले धर्मको प्रचार, प्रसार र प्रभावमा पारिरहेको देखिन्छ ।  

  तर सनातन वा हिन्दु धर्मका पण्डित र पुरोहितहरू   दिन जान्दैनन्, तिनलाई  लिन मात्र सिकाइएको छ ।  सनातन धर्म र संस्कृति विश्वको उदात्त धर्म, संस्कृति र सभ्यता हो । यसले जन्मदेखि

मत्युसम्मका संस्कार विधिहरूलाई सहज, सरल, समय सापेक्ष, सहिष्णु र मितव्ययी बनाए पनि भए पनि यसलाई पुरेतवादी सोचले धार्मिक तथा संस्कारगत पाखण्डमा परिणत गरिदिएको छ  । 

सनातन वा हिन्दू धर्म  र सम्प्रदायका व्यक्ति र संस्थाहरूसित यसको संरक्षण र संवर्धनका समयसापेक्ष सहिष्णु र साम्य सोच नहुनाले पनि यो कमजोर बनेको  हो । गोबध निषेध र दण्डनीय रहेको धर्म निरपेक्षको मौलिक व्याख्या गरिएको नेपालमा धार्मिक प्रतिस्पर्धाको दौडमा टिक्न नसकी रिस र डाह गर्नुु व्यर्थ देखिन्छ । 

परिस्थिति फेरिएको तर मानसिकता पुरानै र जड हुँदा पनि अहिले  विवादले उग्र रूप लिएको हो । ओली सरकार विवादको घेरामा पर्नुका पछाडि युनिभर्सल पिस फेडरेसन संस्था र यसका संस्थापक मुन र उनका छोरा हतियार व्यापारी रहेको कर छलेको अभियोगमा जेल परेको लगायत कारण हो । 
 

यस सम्मेलनमा आमन्त्रित महामहिमहरू पनि एक न एक आन्तरिक विवादमा परेका  छन् । तर यो सम्मेलन गर्न नेपाल छनोटमा परेपछि कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि नेपाल सरकारले आवश्यक सरसहयोग गर्नैपर्ने भयो ।    

 तर यो लेख लेख्दा लेख्दै प्रधानमन्त्री ओलीले प्यासिफिक समिटको उद्घाटनका क्रममा आफ्नो गहकिलो मन्तव्यमार्फत् कार्यक्रमका विरोधीहरूलाई सकथेराफी गरिदिएको अनुभव भएको छ । तर्क, तथ्य र वास्तविकताका अगाडि कृत्रिम विवादका चक्रव्यूह तोड्न सकिन्छ र सक्नुपर्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ