केन्द्रीय संस्करण

ल्याब टेष्ट गर्दा कवाडीबाट बन्ने छड धेरैजसो ‘फेल’

person access_timeमंसिर १६, २०७५ chat_bubble_outline0

काठमाडौँ । इन्जिनियर राजकुमार चौलागार्इं थापाथली इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ डिपार्टमेन्टका विभागीय प्रमुख छन् । मेकानिकल इन्जिनियरिङ विषयमा स्नाकोत्तर गरी अध्यापन पेसामा आएका चौलागाईंलाई छडको फर्मुलेसन र मापदण्डबारे राम्रो जानकारी छ । संरचना निर्माणका लागि प्रयोग हुने फलामे डन्डीको गुणस्तर र मापदण्डबारे कुराकानी गर्न थापाथली क्याम्पस पुग्दा उनी सुरुमै हाँसे ।

मापदण्ड अनुसार नै सबै त कहाँ हुन्छन् र ! उनको सुरुवाती जवाफ आयो ।

कस्ता छन् कवाडी पगालेर फलाम बनाउने नेपाली उद्योग ?

संसारभर नै पुराना फलामलाई पगाली वा प्रशोधन गरी नयाँ फलामको सामान वा नयाँ वस्तु बनाउने गरिन्छ, यो कुनै नौलो र गर्नै नहुने काम होइन ।

कवाडकै कुरा गर्ने हो भने हाल विश्वमा ३० प्रतिशत धातुको यस्तै कवाडी पगालेर पुनः प्रयोगका लागि उपयोग गर्ने गरिएको छ । फलामे छडकै कुरा गर्ने हो भने विश्वमा ४० प्रतिशत फलामे छड यस्तै फलाम पगालेर बनाइन्छ भने अमेरिकामा मात्रै ४२ प्रतिशत फलामे छड कवाड पगालेर बनाइने गरिएको छ । 

यस्ता फलामहरू सस्तो हुने र पुनः प्रयोगका लागि सहज उपलब्धता पनि हुने भएकाले यसको उपयोगले व्यापकता पाइरहेको छ । तर यसको न्यूनतम मापदण्ड र गुणस्तरीयता भने ध्यान दिनै पर्छ । 

नेपालमा करिब आधा दर्जन छड उद्योगहरूले कवाडी फलाम पगालेर फलामे डन्डी बनाइहेका छन् । यद्यपि यी उद्योगहरूबाट उत्पादन हुने फलामको गुणस्तर भने समान छैनन् । 

कवाडीबाट छडको रूपान्तरण : फर्मुलेसन र गुणस्तरमा कम्प्रमाइज

हामीले दैनिक जीवनमा प्रयोग हुने छड बनाउनका लागि नेपाल वा भारतमा रहेका धेरैजसो उद्योगहरूले कवाडी फलाम पगाल्ने गरेका छन् । थोत्रा फलामका टुक्राहरूलाई पगालेर नै उनीहरूले छड बनाउनका लागि फलामको पाता तयार पार्छन् । यही पातालाई फेरि तापक्रम र मेसिनको प्रयोग गरी उनीहरूले छड तयार पार्ने गर्छन् ।

थापाथली क्याम्पसका मेकानिकल इन्जिनियरिङ डिपार्टमेन्टका विभागीय प्रमुख राजकुमार चौलागाईंका अनुसार मुख्यतः फलामे छडमा कार्बन, फोस्फरस, सल्फर र सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा हुन्छ । 

अहिले बजारमा चलनचल्तीमा रहेको फलामे छड भनेको एफई ५०० सिरिजको फलामे छड नै हो । हुन त भारतमा एफई ५५० सिरिजको फलामे छडको पनि प्रयोग हुन्छ तर नेपालमा भने अधिकांश फलामे छड एफई ५०० सिरिजकै फलामे छड हो । 

नेपाल सरकारले फलामे छडमा कुन तत्त्वको मात्रा अधिकतम कति हुनुपर्ने भनेर तोकिदिएको छ । नापतौल विभागका इन्जिनियर सञ्जीव ठाकुरका अनुसार एफई ५०० सिरिजको फलामे छडमा कार्बनको मात्रा अधिकतम ३ प्रतिशत, सल्फरको मात्रा शून्य दशमलब शून्य ५५ प्रतिशत, फोस्फरसको मात्रा शून्य दशमलब शून्य ५५ प्रतिशत तथा सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा शून्य दशमलब १०५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । छडमा यसको मात्रा कम भएमा नै त्यो फलामे छडलाई राम्रो फलामे छड मानिन्छ ।

कवाडी फलामबाट बनेको छडले बलियो होला घर ?

यदि उक्त छड ५०० डी सिरिजको हो भने त्यो फलामे छडमा यी तत्त्वहरूको मात्रा अझै कम हुनु जरुरी छ । ५०० डी सिरिजको उक्त फलामे छडमा कार्बनको मात्रा अधिकतम २ दशमलब ५ प्रतिशत, सल्फरको मात्रा शून्य दशमलब शून्य ४० प्रतिशत, फोस्फरसको मात्रा शून्य दशमलब शून्य ४० प्रतिशत तथा सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा शून्य दशमलब शून्य ७५ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।  

त्यसबाहेक फलामको गुणस्तर मापन गर्दा एक मिटर घनत्व भएको फलामको तौल ७ हजार ८ सय ५० किलो हुनु जरुरी छ । यसको अर्थ के हो भने १२ एमएमको एक मिटरको फलामे डन्डीको तौल ७ सय ८७ वा ७ सय ८८ ग्राम नै हुनुपर्छ ।

यदि फलामहरूमा यी तत्त्वहरूको मात्रामा कमी वा बढी भएमा त्यसले तौलदेखि गुणस्तर सम्ममा असर गर्छ । 

प्राइम ब्लेडमा केही मात्रामा कार्बन भए पनि अन्य तत्त्व भने ज्यादै कम हुन्छ । पछि छड बनाउनका लागि यी तत्त्वहरू केही मात्रामा हाल्नुपर्ने हुन्छ । मुख्यतः छडको बाहिरी भाग कडा बनाउन तथा आवश्यक मात्रामा बङ्ग्याउन सजिलो होस् भनेर फलामे छडमा यी तत्त्वहरूको प्रयोग गरिएको हु्न्छ । तर यसको मात्रामा वृद्धि भएमा अलिकता बढी दबाब पर्नेबित्तिकै छड भाँचिने, नबाङ्गिने लगायतका समस्या हुन्छन् । 

कवाडी छडको मुख्य समस्या सल्फर फोस्फरस

नेपालमा फलामका कुनै उद्योग छैन । नेपाललाई आवश्यक पर्ने सबै छड छिमेकी देश भारतबाट ल्याउने गरिन्छ । पछिल्लो दिनमा नेपालमै कवाडी पगालेर फलामे छड बनाउन जगदम्बालगायतका कम्पनीले भट्टीसमेत खोली काम गरिरहेका छन् ।

मुख्यतः नेपालमा उत्पादन हुने फलामे छड ३ प्रकृतिको फलामबाट बन्छ, प्राइम ब्लेड, इनगट १ र इनगट २ । 

कवाडी छड ‘देशको मेरुदण्ड’ ?: के फरक छ प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा ?

प्राइम ब्लेड भनेको फलाम उद्योगबाट भर्खर उत्पादन भई तयार भएको फलाम हो जसको प्रयोग यसअघि भएको हुँदैन । 

त्यस्तै इनगट १ त्यस्तो फलाम हो; जसलाई कवाडी पगालेर भारतमै उत्पादन गरिएको हुन्छ । यद्यपि यस्तो फलामको ल्याब टेस्ट गरी त्यसमा कार्बन, फोस्फरस तथा सल्फरलगायत अन्य तत्त्वको मापन गरिएको हुन्छ । 

त्यसैगरी इनगट २ भनेको चाहिँ नेपालमै कवाडी पगालेर बनाइएको फलाम हो, जसमा कार्बन, फोस्फरस तथा सल्फरको मापन नै गरिँदैन । थोत्रा फलामलाई ४ हजार डिग्रीको भट्टीमा हालेर पगालिन्छ र त्यही फलामलाई पुनः छड बनाई बजारमा पठाउने गरिन्छ । 

सामान्यतः यस्ता फलामे छडहरू अन्य फलामे छडभन्दा कमजोर हुन्छन् र उनीहरूले गुणस्तर कायम गर्न सकेका हुँदैनन् । यस्ता फलामे छडहरूमा अधिक मात्रामा सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा बढी पाइने गरेको छ । जसका कारण ब्रिटलनेस (कडापन) बढी भई यस्ता छडहरू सजिलै भाँचिन्छन् । 

कवाडीबाट बन्ने छडको गुणस्तर कमजोर

थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यापनरत प्रोफेसर राजकुमार चौलागाईंका अनुसार कवाडीबाट बन्ने छडको गुणस्तर प्राइम ब्लेडबाट बन्ने छडभन्दा कमजोर हुन्छन् । त्यसकारण त्यस्ता फलामे छडहरू अन्य छडभन्दा सस्तो पनि हुन्छन् । 

चौलागाईंका अनुसार यस्ता फलामे छडहरूमा कार्बन, फोस्फरस र सल्फरको मात्रा बढी हुन्छ, जसका कारण यस्ता फलामे छडहरूको भारवहन क्षमता जति हुनुपर्ने हो त्यति हुँदैन भने बङ्ग्याउँदा पनि भाँचिने सम्भावना धेरै हुन्छ ।

ठूला संरचना, पुल, सरकारी भवन आदि निर्माण गर्नका लागि यस्ता फलामे छडको प्रयोग गरिँदैन । यस्तो संरचना निर्माण गर्नुपरेमा ५५० डी सिरिजको फलामे छडको प्रयोग हुन्छ भने ती फलामे छडको ल्याब टेस्टसमेत गरिएको हुन्छ । केही केही संस्था वा व्यक्तिले इनगट २ अर्थात् नेपालमै कवाडी पगालेर बनेको छडको ल्याब टेस्ट गर्न ल्याए पनि करिब करिब सबैजसो यस्ता छडहरू ल्याब टेस्टमा फेल हुने गरेको चौलागाईं बताउँछन् । 

नापतौलकै कर्मचारी भन्छन्, ‘प्राइम ब्लेड कतिले पाउलान् र ?’

सञ्जीव ठाकुर नापतौल विभागका इन्जिनियर हुन् । फलामे डन्डीको निर्माण तथा फर्मुलेसनमा राम्रो दख्खल भएका ठाकुरले नेपालका सबैजसो छड उद्योगको भ्रमण गरेका छन् । त्यसबाहेक भारतबाट आउने फलामको पाता र फलामे छड बारे पनि उनी जानकार छन् । 

ठाकुरका अनुसार नेपालले प्राइम ब्लेड किन्न पाउने सम्भावना ज्यादै कम छ । भारतमा फलाम उत्पादन गर्ने टाटा, जिन्दल, श्री राठीलगायतका उद्योगले उत्पादन गरेको प्राइम ब्लेड भारतमै खोसाखोस छ । नेपालका ज्यादै कम उद्योगहरूले न्यून मात्रामा यस्ता फलाम प्राप्त गर्न सक्छन् । अझ टाटाले उत्पादन गरेको फलाम त पछिल्ला दिनमा बिक्री नै गर्ने गरेको छैन र त्यो फलाम टाटा आफैलाई अपुग भएको छ ।

अन्य कम्पनीले उत्पादन गरेको फलाम पनि भारतमै बढी खपत हुने भएकाले नेपालका उद्योगले न्यून मात्रामा मात्रै गुणस्तरीय कच्चा पदार्थका रूपमा त्यस्ता  फलाम प्राप्त गर्ने गरेका छन् । 

नेपालमा आउने अधिकांश फलामका पाता इनगट १ फलाम हुन् । अर्थात् नेपालमा आउने अधिकांश फलाम भारतमै कवाडी पगालेर बनाइएको पाता हुन् । यद्यपि त्यस्ता सामानको गुणस्तरमा भने ध्यान दिइएको हुन्छ । 

समस्या नेपालकै उत्पादनमा बढी छ
नापतौल विभागका इन्जिनियर सञ्जीव ठाकुरमा अनुसार भारतबाटै कम्पनीले किनेर ल्याउने इनगट १ फलामको ल्याब टेस्ट गरी पठाइएको हुन्छ । यस्ता फलाममा सकेसम्म कार्बन, फोस्फरस तथा सल्फरको मात्रा अधिकतमभन्दा बढी नहुने गरी बनाइएको हुन्छ । 

तर नेपालमै कवाडी पगालेर बनाइने फलाममा भने यी तत्त्वहरूको मात्रामा वृद्धि भएको पाइने गरेको छ । ठाकुरका अनुसार नापतौल विभागमै गरिएको ल्याब टेस्टहरूमा पनि सल्फर फोस्फरसको मात्रा मापदण्डभन्दा बढी हुने गरेको पाइएको छ । त्यस्ता सामान प्रयोग गर्ने कम्पनीहरूलाई बेलाबेलामा कारवाही हुने गरे पनि यसमा खासै सुधार हुन नसकेको उनको भनाइ छ । 

फलामे छडमा रहेको कार्बन, फोस्फरस र सल्फर तथा सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा मापन गर्न फलामे छडलाई पाउडर बनाई ल्याबमा टेस्ट गर्नुपर्ने हुन्छ । यो प्रक्रिया केही झन्झटिलो पनि छ । तर फलामे छडको भारवहन क्षमता र डक्टिलिटी भने तत्कालै परीक्षण गर्न सकिन्छ । 

कुनै फलामे छडको ल्याब टेस्ट गर्न मन लागेका १, १ मिटरको दुई वा ३ थान फलामे छड लिएर नापतौल विभाग वा पुल्चोकस्थित सेन्ट्रल ल्याबमा गए यसको परीक्षण गर्न सकिने छ । मेसिनमा राखेर यी फलामे छडहरूलाई तन्काउँदा र बङ्ग्याउँदा तथा लोड दिँदा यो कत्तिको बलियो छ भनेर थाहा पाउन सकिन्छ । 

ठाकुरका अनुसार विभागको ल्याबमा कहिलेकाहीँ मात्रै कार्बन, फोस्फरस र सल्फरको मापन गरिन्छ । तर छडको गुणस्तरको बारेमा भने पटक पटक नमुना सङ्कलन गरी परीक्षण गर्ने गरिएको छ । यस्तो परीक्षणमा कवाडीबाट बन्ने छड धेरैजसो ‘फेल’ हुने गरेको ठाकुर बताउँछन् ।

अधिकांश कम्पनीको ल्याब नै छैन

फलाम उद्योगहरूसँग फलामजन्य सामग्रीको गुणस्तर कायम गर्नका लागि सबैले यस्तो ल्याब राख्नुपर्ने हो । कुन लटको फलाममा कार्बन, फोस्फरस तथा सल्फरको मात्रा कति छ लगायतका विषय थाहा पाउनका लागि उनीहरू आफैले ल्याब टेस्टसमेत गर्नुपर्ने हो । तर नेपालमा रहेका करिब १ दर्जन फलाम उद्योगमध्ये एउटा उद्योगसँग मात्रै त्यस्तो ल्याब रहेको ठाकुर बताउँछन् । त्यो कुन कम्पनीको ल्याब हो भनेर ठाकुरले नभने पनि त्यो कम्पनीले पनि ल्याबको  प्रयोग भने नगरेको उनी बताउँछन् । भारतबाट फलामको पाता किन्दा दिइने कम्पोजिसनलाई नै आधार मानेर उनीहरूले छड उत्पादन गर्ने गरेको व्यवहारमा पाइएको कुरा ठाकुर बताउँछन् । 

इन्जिनियर भन्छन्, ‘कवाडीबाट बनेको छड सकेसम्म प्रयोग नगरौँ’

थापाथली इन्जिनियरिङ क्याम्पसका प्राध्यापक इन्जिनियर राजकुमार चौलागाईं सस्तो पाइयो भन्दैमा जुन पायो त्यही फलामे छड प्रयोग नगर्न उपभोक्तालाई सल्लाह दिन्छन् । बजारमा सस्तो मूल्यमा पाइने फलामे छडमा क्वालिटी कम्प्रोमाइज भएकै कारण सस्तोमा पाइएको भन्दै छडको प्रयोग गर्दा त्यसको गुणस्तरमा ध्यान दिन उनी आग्रह गर्छन् ।

घर त जीवनमा एक पटक नै बनाइन्छ । तर घर बनाउँदा प्रयोग हुने फलामे छडको गुणस्तर राम्रो हुन सकेन वा त्यो भूकम्प प्रतिरोधी भएन भने त्यो घर कत्तिको बलियो होला ?

कवाडी फलामको प्रयोग आफैमा नराम्रो होइन । तर यस्ता फलामको प्रयोग वा पुनः प्रयोग गर्दा हुनुपर्ने न्यूनतम मापदण्ड पूरा नहुनुचाहिँ समस्या हो । जुन तत्त्वको मात्रा जतिसम्म मात्रै हुनुपथ्र्यो, त्यसको मात्रामा व्यापक वृद्धि हुँदा त्यसले अर्को समस्या निम्त्याउँछ । छड प्रयोग गर्दा यसको कम्पनी, प्रशोधन वा निर्माण र गुणस्तर सुनिश्चिततामा भने ध्यान दिनैपर्छ । 
 

मदन ढुङ्गाना

रातोपाटीमा स्थानीय निकाय र समसामयिक विषयमा लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ