बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाप मोचन !

शनिबार, १५ मङ्सिर २०७५, १० : ५६
शनिबार, १५ मङ्सिर २०७५

प्रकाश तिवारी

एकान्त स्मृतिको द्वार हो । दिनको तुलनामा रातको एकान्तले स्मृतिको ढोका अझ बढी घच्घच्याउँछ । भित्तामा झुण्ड्याइएको घडीले रातको बाह्र बजेको जनाउ दिँदै थियो । तल सडक छेउमा एक हुल कुकुरहरू हड्डीको टुक्राका लागि मल्लयुद्ध गरिरहेका थिए ! म ओछ्यानमा घरी ओल्लो त घरी  पल्लो कोल्टो गरिरहेको थिएँ । रात छिप्पिँदै गयो । कुकुरहरूको कोलाहलमा पूर्णबिराम लाग्यो । मभित्र भने स्मृतिपटका अविरल तरङ्गहरू तरङ्गित हुनथालेँ । 


रात आधा घर्किसकेको थियो । रात जूनसँगको मधुर संवादमा निमग्न थियो । मलाई आफू नौ दस वर्ष छँदाको घटना याद आयो । जतिबेला मेरो भर्खरै मात्र व्रतबन्ध भएको थियो । म वर्तमानबाट हान्निँदै त्यही नौ दस वर्ष छँदाको कालखण्डमा बसाइँ सर्न पुगेँ ।


दिउँसोको समय थियो । घरमा दलितले पालेको सुँगुर आइपुग्यो । त्यतिबेला हाम्रो घरमा बडेमाको भोटेकुकुर थियो । धेरै पटक चितुवाले लान खोज्दा पनि नसकरे बचेको थियो त्यो कुकुर । कुकुरले सुँगुरलाई देख्नेबित्तिकै एकै झम्टामा ठहरै बनाइदियो । छिमेकी दलितको सुँगुर मारिदिएको देखेर म निकै डराएँ ।


त्यतिखरे घरमा मबाहेक अरू कोही थिएन ।  मैले सोचेँ, यो घटना अक्षम्य हो । सुँगुर मारिएकोमा दलितले हामीमाथि ठूलै बदला लिने छ । त्यही सोच्दै मैले मारिएको सुँगुरलाई चार खुट्टा समाएर झ्याइँकुटी पार्दै अलि परको भिरालो जमिनबाट तल हुर्याइदिएँ । सुँगुर गुडुल्किँदै निकै तल खरबारीको झाडीमा हरायो । अनि मात्र मैले त्यस घटनालाई बुिद्धमत्तापणर््ूा ढङ्गले सामसुम पार्न सफल भएकोमा लामो सास फेरेँ । तर त्यो सबै पल्लाघरे दाइले देखेका रहेछन्, जुन मलाई थाहा थिएन । साँझ दाइले मैले सुँगुरलाई झ्याइँकुटी पार्दै खरबारीमा फालिदिएको वृत्तान्त बुबाआमालाई सुनाइदिए । 
यो घटना सम्बन्धित दलितले पनि थाहा नपाउने कुरै भएन । गाउँभर हल्लिखल्ली भयो । मेरो मुटु बेजोडले उफ्रन थाल्यो । म आत्तिएँ, मुख कालोनिलो भएर आयो । अब के हुने हो भनी डराउन थालेँ तर घटनाले कुनै अप्रिय मोड लिएन । त्यो समय अहिलेको भन्दा भिन्न थियो ।


‘यो घटना हामै्र गल्तीका कारणले भएको हो । बाहुनको घरमा गएको सुँगुरलाई कुकुरले मार्यो त के भो !’ खुद सुँगुर धनीले त्यसो भनिदिएपछि आधा चिन्ता हरायो । सुँगुर छोएकोमा आमाबुबाले समेत नराम्रो केही भन्नुभएन तर मैले त्यस दिन घरभित्र पस्न नपाउने भएँ । बुबाआमाले भन्नुभयो– एउटा गोदान गरेपछि मात्र घरभित्र पस्न मिल्छ । तब मेरो बाल मष्तिष्कले भन्योे, मैले ब्राह्मणले गर्न नहुने कर्म गरेको रहेछु ।’ 
मलाई गोदान भनेको के हो थाहा थिएन । बुबाले सम्झाउनु भयो ‘गोदान भनेको गाई दान गर्नु हो ।’ गाई दानको कुरा सुनेर म पश्चात्तापग्रस्त हुन पुगेँ । किनकि गाई दस बीस रुपियाँमा पाइने वस्तु थिएन । मेरा कारणले बुबाआमाले ठूलै खर्च गर्नुपर्ने भयो । । बुबासँग गाई किन्ने पैसा छ कि छैन होला ? मभित्र एउटा अदृश्य छट्पटाहट जागृत भयो । 


मैले मलिन अनुहारका साथ बुबासँग भने, ‘मबाट ठूलो गल्ती भयो ! मेरा कारणले हजुरले गाई दान गर्नुपर्ने हुन गयो ।’ म रुन लागेँ । रोएको देखेर बुबाले सम्झाउन थाल्नुभयोे, ‘धत्तेरी लाटा, यो त रुन पो लाग्यो । कुरा के हो भने पहिलापहिला गोदान गर्ने भनेपछि गाई नै दान गर्नुपथ्र्यो तर हिजोआज गाईको सट्टामा केही रुपियाँ राखेर दान गर्दा हुने चलन चलेको छ । त्यसैले रुपियाँ राखी गोदान गरे भइहाल्छ ।’ 
‘कति रुपियाँ राखेर गोदान गरे हुन्छ त बुबा ?’ मैले सोधेँ । ‘त्यस्तै पाँच दस रुपियाँ, जति सकिन्छ ।’ बुबाले भन्नुभयो । पाँच दस रूपैयाँले हुन्छ भन्ने सुनेपछि मेरोे अनुहारमा छाएकोे चिन्ताको बादल छाटिँदै गयो । 
गोदानको कुरा त सुल्झियो तर गोदान नगरी भात खान नहुने चलन रहेछ । मलाई त्यस साँझ खानाका रूपमा मिश्रीको काँडापानी दिइयो । त्यस रात म कथित पापकर्मको पछुताउ गर्दै घर बाहिरै रात कटाएँ । 
भोलिपल्ट बिहानै बुबाले पण्डित बोलाएर ल्याउनुभयो । म नुहाईधुवाई गरी जनै फेरेर गोदानका लागि तयार भएँ । गोदानको समय आयो । पण्डितले गोदानका लागि बोहोतामा सय रुपियाँ राख्न भने । पण्डितले सय रुपियाँ राख्न भनेकोमा मजस्तै बुबा पनि झस्कनुभयो । बुबाले त बोहोतामा बीस रुपियाँँ मात्र राख्नुभएको थियो ।


पैसा कम देखेपछि पण्डित फन्किएर उठ्न लागे । ‘यो बीस रुपियाँमा मोचन हुने चानेचुने पाप होइन । सयभन्दा कममा गोदान गराउन सक्दिनँ !’ यसो भन्दै पण्डित उठ्न लागेपछि बुबाले धोतीको फेरभित्र घुसाएर राखेको सय रुपियाँ बोहोतामा राख्नुभयो । मौसममा आउने अनपेक्षित परिवर्तनजस्तै पण्डितको अनुहारमा अपार हर्ष छायो । अनि त के चाहियो, उनले हाँसीहाँसी गोदान कर्म गराए । यसरी सय रुपियाँको गोदानपछि म यस धर्तीको पवित्रतम् मनुवा भएँ । 


त्यस दिन बुबाले धोतीको फेरभित्र घुसाएर राखेको सय रुपियाँ बोहोतामा हाल्नुपर्दाको परिदृश्यले मन चसक्क घोचिरहन्छ । त्यस अनिँदो रातमा मैले हिसाब निकालेँ । मेरो स्मृतिपटमा नाचिरहेको त्यो घटना साँढे चार दशक पारिको थियोे । 


समय परिवर्तनशील छ । हरेक दिन एक नयाँ शङ्खघोष गर्दै उदाउँछ । तर रुढता परिवर्तनविरुद्ध उभिन्छ । ती दिन र वर्तमानबीच समयले लामो छलाङ हानिसक्यो । तथापि आज पनि छूत अछूतको सामाजिक व्यथा यथावत छ । मानिस छूत छ । मानिस अछूत छ । मानिसहरूजस्तै पशुहरू पनि छूत छन्, अछूत छन् । गाई ब्राह्मण ! सुँगुर शूद्र ! मानिसजस्तै पशु पनि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रमा विभक्त छन् ! 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप