कविता : मेरी कौली
दिल थापा
प्रिया तिमीलाई कस्तो भयो होला ?
फलानाको छोरा
फलानाको बाऊ
फलानीको खसम ।
परदेशमा मर्यो रे भनेको सुनेको पल ।
म कल्पना गर्न सक्दिनँ ।
सायद तिमी त्यो दिन धेरै रोयौ होला ?
सायद तिमीलाई थाहा थियो ।
म जति रोए पनि मेरो श्रीमान
अब कहिल्यै आउने छैन भनेर ?
अनि धेरै चिन्तनशील भएर पनि सोच्यौँ होला ?
मविनाको भोलिको आफ्नो जिन्दागीलाई ।
त्यो समाजको अगाडि कसरी घिसार्ने भनेर ।
हो प्रिया म परदेशबाटै स्वर्ग आएको छु ।
तिमीलाई आशीर्वादको चाङैचाङको
बीचमा दुःखको भारी दिएर आएको छु ।
नली हड्डीमा मासी छउन्जेल दुःखको
पछि लागिरहे स्वर्ग आउँदा एउटा सुख लिएर आएको छु ।
म त सुखको पल्लोभारिमा छु ।
तिमीलाई दुःखको पल्लाभारि दिएर आएको छु ।
मेरी पियारी
दुःख नमान
यो तिम्रो यारालाई धोकेबाज नठान
दुःखसँग कहिल्यै हारिनँ
सायद तिम्रो साथ थियो पियारी
दुखैदुःखले प्वाल परेको मेरो जिन्दागी टालिँदै थियो
सायद तिम्रो हात थियो पियारी ।
त्यसैले मेरो जीवन प्वाल पर्दा नि
मेरो मन कहिले प्वाल परेन
हिम्मतहरू प्वाल परेन
पियारी ! तिमीलाई फोन गरेको दिन
बिरामी आमासँग हजुरलाई भेट्न आउँछु भनेको दिन
कसम मलाई मेरो भोलि थाहा थिएन
हो पियारी म कतारबाटै स्वर्ग आएको छु
हो आमा म कतारबाटै इन्द्रको देशमा आएको छु
पियारी मैले तिमीलाई कहिले पो सुख दिए र?
तिम्रो जन्म दिनमा
हाम्रो बिहे भएको हरेक वर्ष गाँठमा
तिम्रो जन्म दिनमा
तिमीले र मैले एउटै जीवनको गोरेटोमा
हिँड्ने निर्णय गरेको दिन
मैले तिमीलाई मेरो आधा दुःख दिएथेँ नि
त्यसको ब्याज मात्रा दिए ।
हो पियारी तिम्रो काँधमा
मैले घोषण नगरेको
अघोषित जिम्मेवारी छोडेर आएको छु
तिमी त कति अभागिनी रहिछौं
कति दुःखी रहेछौं ?
ग्याजाहाबारीको मकैको बोटले तीन तले घोगा अन्माएको वर्ष
त्यो मकैको बोटको त्यो तीनवटै घोगाले दाना जन्माएको वर्ष
हाम्रो आँखा जुधेको थियो
रोदी घरको साँझ ।
गोठालो हिँड्ने दहर
चौपाया चर्ने खर्कहरु
साक्षी राखी प्रेम उमारेका थियौं
हाम्रो सपनाहरु गहटका दानाहरु जस्तै थिए
अनि सँगै बाँच्ने र मर्ने बाचाहरु कौनीका दानाहरु भन्दा साना थिए ।
अनि हाम्रो खुसीहरु सामाका बालाहरु जस्तै लहलह थिए
हुन त मलाई प्रदेश जान मनै थिएन ।
तिमीलाई छोडेर
तर म यस्तो देशमा जन्मिएछु
मलाई राहादानी बनाउन
परदेश जान दिनहुँ अनुरोध गरिरहन्थ्यो राजधानीले ।