बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना कम, मृत्यु बढी

मङ्गलबार, १० साउन २०७४, १३ : ४२
मङ्गलबार, १० साउन २०७४

झापा । गत आमा २०७३/७४ मा यहाँ सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ । 

सो आवमा सवारी दुर्घटनामा ६९ पुरुष, १३ महिला र चार बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटनाको संख्यामा कमी आए पनि मृत्युदर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकानुसार हरेक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सोअनुसार आव ०७१/७२ मा ६६, ०७२/७३ मा ७९ र आव ०७३/७४ मा ८६ जनाको मृत्यु भएको छ । 

जिल्लामा सवारी दुर्घटनाको संख्यामा भने कमी आएको छ । आव ०७१/७२ मा १४४, ०७२/७३ मा १९८ र आव ०७३/७४ मा १९१ सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

मापसे बढ्दै 
हरेक वर्ष मापसे गरेर सवारी चलाउनेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । आव २०७३/७४ मा मापसे गरेर सवारी चलाउने एक हजार ४५० जनालाई कार्यालयले कारबाही गरेको छ, जुन गत वर्षको तुलनामा ६०७ बढी हो । 

आव ०७३/७४ मा ट्रक १७, बस ११, कार–जिप–भ्यान १०९, मोटरसाइकल एक हजार १६६, ट्र्याक्टर ६३ र टेम्पोका ८३ जना चालकलाई कारबाही गरिएकामा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको कार्यालयले जनाएको छ । जिल्लामा आव ०७१/७२ मा ९०३ र आव ०७२/७३ मा ८४३ जना मापसे कारबाहीमा परेका थिए । कार्यालयले आव ०७३/७४ मा मापसे कारबाहीबाट रू १४ लाख ५० हजार राजवश्वसमेत संकलन गरेको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले दण्डसजाय कम भएकाले जानीजानी गल्ती गर्ने प्रवृत्ति बढेको बताउनुभयो । “चालकले मापसे गरे कारबाहीमा पर्छु भन्ने जान्दा जान्दै गल्ती गरिरहेका छन्”, उनले भने, “चालकको चेतनामा वृद्धि नभएपछि कसैको केही लाग्दैन रहेछ ।” 

जिल्लामा मापसे जाँचका लागि दैनिक १७ स्थानमा टोली खटाइने गरेको प्रमुख गिरीले बताउनुभयो । “हामीले मापसे गर्ने कोही कसैलाई छुट दिएका छैनौँ”, उनले भने, “जाँच कडा हुँदा पनि संख्यामा वृद्धि भएको हो ।” 

अन्य सवारी नियम उल्लङ्घनमा छ महिनासम्म चालक अनुमतिपत्र निलम्बन गर्ने प्रावधान ल्याउन लागिएको र मापसे गर्नेलाई पनि सो नियम लागू गर्न सके प्रभावकारी हुने उनको भनाइ छ । हाल मापसे गर्ने चालकलाई कार्यालयले रू एक हजार जरिवाना र सवारी चालक अनुमति पत्रमा प्वाल पार्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप