शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश–२ को सुरक्षा चुनौती : सहरमा ‘गोइत’ आतङ्क, राजमार्गमा ‘विप्लव’

शुक्रबार, १४ मङ्सिर २०७५, ११ : १८
शुक्रबार, १४ मङ्सिर २०७५

जनकपुरधाम । प्रदेशको अस्थायी राजधानी बसेको करिब एक वर्ष पुग्दैगर्दा जनपुरधाम क्षेत्रमा विकासको लहर आइसकेको छ । 

बजार क्षेत्रमा साँघुरा गल्लीहरू फराकिला हुँदैछन् । काठमाडौं बसेर तराईमा हुने राजनीतिक गतिविधि अब तराई केन्द्रित हुँदैछ तर सुरक्षाका दृष्टिले मधेसमा हुने ‘सेक्युरिटी थ्रेट’को त्रास भने कायमै छ ।

करिब एक दशकअघि भूमिगत समूहको रणभूमि बनेको तराई–मधेसमा अहिले भूमिगत समूहको बोलवाला पहिलेकै ग्राफमा त छैन् तर जयकृष्ण गोइत समूहले आफ्ना गतिविधि कायमै राखेका छन् । 

सुरक्षासम्बन्धी जानकार र लामो समयदेखि तराईको सुरक्षालाई नजिकबाट नियालिरहेका सुरक्षा अधिकारीहरूका अनुसार प्रदेश–२ मा अहिले चार प्रकारका सुरक्षा चुनौती छन् । 

चुनौती नम्बर १ : ‘गोइत आतङ्क’ 

२०७३ मङ्सिर २३ गते बिहान करिब दुई बजेतिर सिराहाको मिर्चैयामा प्रेसर कुकर बम विस्फोट भयो । पेट्रोल पम्प अगाडि गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले लिए । 

मिर्चैया विस्फोटको ठीक ११ दिनअघि (२०७३ मङ्सिर १२ गते) जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम भेटिएको केही मिनेटमै जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोईतले विज्ञप्ती निकालेर बम आफ्नै समूहले राखेका प्रष्टीकरण दिए ।

माथिका दुईवटा घटना पछिल्लो समय जयकृष्ण गोइतसँग जोडिएका प्रतिनिधिमूलक घटना मात्र हुन् । विशेषगरी विस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा लिँदै आएको गोइत समूहको ‘बम आतङ्क’को कारण प्रहरी हैरान भएको छ । यता स्थानीयहरू त्रासमा बाँच्न बाध्य छन्, उद्योगी व्यवसायीहरू मोटो चन्दाको शिकार भएका छन् ।

सप्तरीको झुट्की प्रहरी चौकीको असई हत्यादेखि राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बमको जिम्मेवारी लिने जयकृष्णले भारतमा बसेर तराईमा बम आतङ्क मच्चाउँदै आएको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार भारतको पटनामा बसेर आफ्नो समूहका सदस्यहरूमार्फत बम आतङ्क मच्चाउने गोइतले तराईका उद्योगी–व्यवसायीहरूबाट मासिक लाखौं चन्दा असुली गरिरहेका छन् ।

युद्धकालमा गोइतलाई हटाएर तत्कालीन माओवादीले मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि माओवादी छाडेका गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका थिए । त्यतिबेलादेखि नै पटक–पटक मधेसमा धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतङ्क सिर्जना गरिरहेका छन् । 

लामो समयदेखि भारत बस्दै आएका गोइतलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरोले गरेको पटक–पटकको प्रयत्न सफल हुन सकेको छैन । 

‘गोइत पटनामा बसेको छ, हामीले त्यहाँ गएर पक्राउ गर्न मिल्दैन’ नेपाल प्रहरीका एक उच्च अधिकारीले रातोपाटीसँग भने, ‘भारतीय पक्ष गोइतलाई पक्राउ गर्न चाहँदैन ।’ 

केही दिनयता मात्रै स्वास्थ्य समस्याका कारण भारतमा गोइत भारतमा आराम गरिरहेको सूचना प्रहरीले पाएको छ । तर, गोइत आफै फिल्डमा देखिँदैनन्, आफ्ना समूहका सदस्यहरूमार्फत उनले सिर्जना गर्नसक्ने आतङ्को त्रास भने तराइमा कायमै छ । 

चुनौती नम्बर २ : खुला सिमानाले समस्या 

नेपाल–भारतको बीचमा रहेको खुला सिमाना प्रदेश–२ को अर्को सुरक्षा चुनौती हो । 

सप्तरीदेखि वीरगन्जसम्मका जिल्लाहरूबाट भारत सहजै आवत जावत गर्न सकिने दर्जनौँ खुल्ला बोर्डरहरूबाट नेपालतर्फ अपराध गरेर अपराधीहरू सहजै भाग्न सक्ने हुनाले वर्षौंदेखि सुरक्षा निकायका लागि खुला सिमाना टाउको दुःखाइको विषय बन्ने गरेको छ ।  

भारतमा अपराध गर्नेहरू नेपाल आउने र नेपालबाट भारततर्फ गएर लुक्ने प्रक्रिया वर्षौंदेखि चल्दै आएको छ । सिमानामा बस्ने आपराधिक समूहहरू ‘कन्ट्याक किलर’ रूपमा प्रयोग हुँदा उनीहरू नेपाल छिरेर सजिलै व्यक्ति हत्या गरेर भाग्न सक्छन् । सुरक्षा निकायको वर्षौंदेखिको टाउको दुःखाइको रूपमा रहेको यो समस्या अहिले पनि ज्युँका त्युँ छ । 

चुनौती नम्बर ३ : सीके राउत

छुट्टै मधेसको माग लिएर लामो समयदेखि तराईमा गतिविधि गर्दै आएका डा. सीके राउत अहिले प्रदेश–२ को ठूलो सुरक्षा चुनौतीको रूपमा उदाएका छन् । पटक–पटक पक्राउ पर्दै छुट्टै आएका डा. राउत पछिल्लो समय तराईको एउटा समूहमा स्थापित भइसकेका छन् । 

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिक थिए । सन्, २०११ मा अमेरिकामा वैज्ञानिकको जागिर राजीनामा दिएर नेपाल फर्किएका राउतले युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्मेडल र ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट विभूषित राउतले तराईका युवा पुस्ताहरूलाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

लामो समयदेखि तराईमा आफ्ना गतिविधिलाई जारी राखेका राउतले पटक–पटक हिंसात्मक घट्ना घटाइसकेका छन् । यसरी छुट्टै मधेसको झण्डा उठाएका राउत प्रदेश–२ का सुरक्षा निकायको टाउको दुःखाइको विषय बनेका छन् । 

चुनौती नम्बर ४ : राजमार्गतिर ‘विप्लव त्रास’

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तराई–मधेसको अर्को सुरक्षा चुनौतीको रूपमा देखिएको छ । पश्चिम क्षेत्रमा जस्तो तराईमा विप्लवको पक्कड नभए पनि राजमार्ग क्षेत्रमा उक्त समूहको उपस्थिति देखिएको छ । 

‘पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ विप्लवले आफ्ना गतिविधिहरू गरिहेको सूचना पाएका छौँ’, तराईमा लामो समयदेखि कार्यरत राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृले भने, ‘सरकारको कार्यक्रम विथोल्ने सवालमा उनीहरूले त्यस क्षेत्रमा आतङ्क सिर्जना गर्नसक्ने हाम्रो आँकलन छ ।’ 

अर्धभूमितग रूपमा आफ्नो सङ्गठन विस्तार गरिरहेको विप्लव समूहले राजमार्ग आसपास बस्ने पहाडी समुदायलाई आफ्नो सङ्गठनमा आबद्ध गर्न सफल भएको छ । विस्तारै मजबुद बन्दै गएको विप्लव समूह तराईको सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।

तराईमा देखिएका यस्ता सुरक्षा चुनौतीको सामना गर्न सुरक्षा निकाय सक्षम रहेको बताउँछन् दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) हरिबहादुर पाल । 

‘प्रदेश २ मा अहिले त्यस्तो ठूलो चुनौती छैन’, रातोपाटीसँग कुरा गर्दै डीआईजी पालले भने, ‘यो प्रदेशमा हुने सुरक्षा चुनौतीको सामान गर्न हामी सक्षम छौँ, केही आपराधिक गिरोहरूको पहिचान भएको छ, उनीहरू छिट्टै कानुनी दायरामा आउँछन् ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप