शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जलपर्यटनको विकासमा काम गर्न चाहन्छु : गंगाप्रसाद नेपाल

मङ्गलबार, १० साउन २०७४, १३ : २१
मङ्गलबार, १० साउन २०७४


काठमाडौं – नेपाल एसोसिएन अफ र्याफटिङ एजेन्ट्स (नारा) को निर्वाचन मिति नजिकिएसँगै अब नाराको नेतृत्व कसको पोल्टामा जाला भन्ने अड्कलबाजी सुरु भएको छ । नाराको नेतृत्वका आकांक्षीहरु पनि यतीबेला आफ्नो पक्षमा माहोल बनाउनमा व्यस्त छन् । पछिल्लो समय नाराको नेतृत्वको लागि गंगाप्रसाद नेपालको नाम पनि निकै चर्चामा रहेको छ । 
विगत दुई दशकदेखि नेपालको जलयात्रा व्यवसायमा आबद्ध नेपाल विगत दुई दशकभन्दा बढी लामो समयदेखि जलयात्रा पर्यटनमा आबद्ध छन् भने सन् १९९९ देखि नारामा कार्यसमिति सदस्य हुदैँ २ पटकसम्म महासचिवको जिम्मेवारी लिइसकेका छन् । 
उनी भन्छन्, ‘यसपटक नाराको अध्यक्षका लागि उम्मेद्वारी दिने निर्णय गरेको छु । अब म नाराको नेतृत्व लिएर नेपालको जलपर्यटनको विकासमा काम गर्न चाहन्छु ।’ 
उनले नेपालको जलयात्रा पर्यटनको प्रबद्र्धन गर्नु नै मेरो प्रमुख एजेण्डा भएको बताएका छन् । पर्यटनमा पछिल्ला समय अनेकन समस्या र विकृतिहरु भित्रिएका छन् । त्यसको अन्त गर्दै व्यवसायीक हकहितमा काम गर्ने र अर्को महत्वपूर्ण कुरा नाराको सचिवालय व्यवस्थापन झनै व्यवस्थित रुपमा बनाउने उनले बताए । 
उम्मेद्वारको रुपमा अन्य व्यवसायीको नाम पनि चर्चामा छ । त्यसकारण तपाईंलाई चाहिँ कसको समर्थन छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मलाई अधिकांश व्यवसायीहरुको समर्थन छ । यसअघि पनि मलाई सबैले अध्यक्षमा उठ्न आग्रह गर्नुभएको थियो । तर, मैले सहमतिय नेतृत्वलाई प्रमुख ठान्दै अध्यक्षमा उम्मेद्वारी दिईन् । त्यसकारण यसपटक चाहिँ नारामा तपाईं जानपर्छ भन्ने साथीहरुको सद्भाव रहेको छ । त्यसकारण मैले उम्मेद्वारी दिने निर्णय गरेको हुँ ।’ 
उनी भन्छन्, ‘विगतमा सहमतिय नेतृत्वकै लागि भनेर मैले दुई पटक पछि हटेको हुँ । अब सहमति मेरै नेतृत्वमा हुनुपर्छ । त्यसकै प्रयासमा म लागिरहेको छु । यद्यपी त्यसो हुन सकेन भने अन्य प्रक्रिया त छँदैछ ।’ 
सबैलाई समेट्ने गरी एउटा सक्षम टिमको खोजीमा रहेका नेपाल प्यानल नै भन्दा पनि अहिले कसरी अगाडि बढ्ने भनेर गृहकार्य सुरु गरेका छन् । आगामी दिनमा काम गर्न सहज होस् भन्ने तरिकाले पनि उनी गृहकार्यमा लागेको पर्यटन व्यवसायीहरु बताउँछन् । 
उनले पर्यटन व्यवसायमा जति सम्भावना छ । पछिल्लो समय उत्ति नै विकृती र विसंगतीहरु भित्रिएको बताएका छन् । ‘जलहरुमा मनलाग्दी अव्यवस्थित रुपमा जलयात्रा संचालन गर्न थालिएको, सहरीकरणले गर्दा नदिहरु फोहोर हुँदै गएका छन् । त्यसकारण यस्ता धेरै समस्याहरु छन् । जसको छिटै समाधान नगर्ने हो भने भोली यो व्यवसाय नै संकटमा पर्न सक्छ,’ उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप