शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अति विपन्न परिवारका विश्वकर्मा यसरी बने डाक्टर

मङ्गलबार, १० साउन २०७४, १२ : ५१
मङ्गलबार, १० साउन २०७४

 गुल्मी–आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक अति विपन्न दलित परिवारका युवा यतिवेला डाक्टर बनेका छन् ।

मालिका गाउँपालिका वडानम्वर १ साविकको नेटा गाविसका  काँशीराम बिक लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसैहप्ता एमबिबिएस डाक्टर बनेका हुन् । झुपडीमा जन्मिएका बिकको दुई महिना पनि खान नपुग्ने जमिन रहेको छ । ‘उनि जस्ता विपन्न डाक्टर बन्नुहामी सवैका लागि गौरव र प्रेरणाको विषय हो’ स्थानीय शिक्षक प्रेम बिकले बताए ।


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्विनी मेडिलक कलेज प्रभास पाल्पामा ४ वर्ष सम्मको अध्ययन सकेर यसहप्ता देखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षिय बिकले  आफुले एसएलसी पास गर्ने बेलासम्म डाक्टर बनुँला भन्ने कल्पना समेत नगरेको प्रतिकृया दिए । २०६५ सालमा सरस्वती मावि साविकको नेटा–३ बाट ७५.५ अंक ल्याएर एसएलसी गरेका बिकको स्कुले विद्यार्थी जीवन कँहाली लाग्दो भएको उनि आफै स्वीकार गर्छन् ।
आफ्नो विगत र वर्तमान उनि यसरी कहन्छन्  |


पिता टोकबहादुर बिक, काम गर्न नसक्ने विरामी हुनुहुन्थ्यो । आमा मनरुपाको निमेक मजुरीबाट पढेको हुँ । दुईवटी आमाहरु हुनुहुन्थ्यो । फाटेकै जाँगे लगाएर पढें, अहिले नसोचेको सफलता प्राप्त भयो , यसको श्रेय म मेरो प्रत्येक सहयोगीलाई दिन चाहन्छु । ति मध्येका एकजना जो मेरा छिमेकी र गुरु पनि हुनुहुन्छ दिनानाथ पौड्याल जसले मेरो जिवनमा नसोचेकै सपना पुरा गराई दिनुभयो । उहाँलाई मैले जति सम्मान गरे पनि कम हुन्छ ।  एसएलसी पास गरेपछि म उहाँकै वोलावटमा पहिलो पटक काठमाडौं पुगेको थिएँ । विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ तर उहाँको सहयोग विना म काठमाण्डौ ६ महिना पनि बस्न सक्ने अवस्था थिएन् । अन्ततः म उहाँकै कोठामा ६ , ७ महिना बसेर पढें । पछि उच्च माध्यामिक शिक्षा परिषदबाट उहाँकै पहल र मेरो मेहनतमा स्कलरशिप पाएँ ।
त्यस पछि होस्टलमै बसेर बढ्दै यहाँसम्म पुगे ।  म एकदम लक्की हुँ, जसले त्यो अवस्थाबाट यो अवस्थामा आउने अवसर पाएँ, यसर्थ पनि म हिजो जस्तै विकट र विपन्न समुदायको सेवा गर्ने चाहना राखेको छु । ’


उनको विपन्न परिवारमा कहिले पहिरोले घर पु¥यो । कहिले आगोलागी भएर क्षति समेत भयो । तर पनि उनले कत्ति हरेस खाएनन् । फलस्वरुप उनि डिग्री होल्डर गुल्मीका दलित समुदायमध्ये सम्भवतः उनै पहिलो डाक्टर हुन् । उनि थन्छन्–‘ खै यसअघि हाम्रो समुदायबाट गुल्मीमा अरु डाक्टर बनेको मैले पनि सुनेको छैन, सम्भतः म नै हुँ कि भन्ने लागेको छ तर त्यसको आधिकारिकता भने छैन ।


एउटै वडामा डाक्टर सहित ७ जना डिग्री होल्डर
डाक्टर बिकको गाउँ  नेटा हो जजहाँ  सदरमुकाम तम्घास लगायत जिल्लाभरका दलितहरु भन्दा  त्यहाँका दलितहरु र्शैक्षिक रुपमा धेरै अघिछन् ।
उनिसहित त्यस गाउँमा ७ जना डिग्री होल्डर बिश्वकर्माहरु छन् । जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक झविलाल बिक, सामाजिक क्षेत्रमा कार्यरत विजय बिक, नेपाल प्रहरीका पुर्व प्रहरी निरक्षक राजेन्द्र बिक, प्रहरी सहायक निरक्षक विनय बिक, अमिन कल्पना बिक र कमला बिक त्यहाँका  डिग्री होल्डरहरु हुन् । सोही स्थानका स्नातक उतिर्ण धर्मेन्द्र बिश्वकर्मा काठमाण्डौ खानेपानी विभागमा सुव्वा तहमा कार्यरत रहेका छन् ।
स्नातक र सो भन्दा तल अध्यनरत ८ जना दलित समुदायका युवायुवती त्यहाँ शिक्षक छन् । सुन्तली परियार, सीता बिक, तारा बिक, रुमा बिक, प्रेम बिश्वकर्मा, सिता अर्याल बिक, सोनु बिक  शिक्षक पेशामा  कार्यरत छन् । त्यस्तै पुनाराम बिक, अर्का प्रेम बिक, माया बिक, सुनिता बिक, दिलमाया बिक, सविता बिक, सजना बिक, दानबहादुर बिक, भिमबहादुर बिक, नविन बिश्वकर्मा , राहुल विक सहित दलित समुदायबाट २४ जनाले प्रविणता प्रमाण पत्र तहको अध्यान प्राप्त गरेका छन् । त्यस्तै विज्ञान विषयमा ३ जनाले प्रविणता प्रमाण पत्र प्राप्त गरेका छन् । , सिएमए २ जनाले गरेका छन् ।  सो सरहको अध्यान गरेका नेपाल प्रहरीमा दुई जना र नेपाली सेनामा २ जना रहेका छन् ।


२०६८ सालको जनगणना अनुसार नयाँ पिढीमा १३  जनाले प्रवेशिका परिक्षा उतिर्ण गरेका छन् ।  २ सय ४७ दलित घरधुरीमा १५ सय ८४ जनसंख्या त्याँहा रहेको छ । जहाँ अन्य जाती नै छैनन् । ३ सय २२ घरधुरी जनजातीमा २६  सय ३६ उनिहरुको जनसंख्या रहेको छ । जनजातीको जनसंख्या बढि रहे पनि दलितहरुको तुलनामा  जनजातीहरु शैक्षिक क्षेत्रमा धेरै पछाडी रहेको मालिका वडा नम्वर १ का वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले बताए ।


उनले भने–‘ खै के भन्नु , दलितका छोराछोरी कोही डाक्टर बने, कोही विनि छन् तर जनजातीहरुमध्ये कतिपय अहिले पनि बाटोमा जाँड खाएर लडेको दृश्य देख्नुपर्दछ । ’  राजनैतिक रुपमा पनि त्यहाँका दलितहरु अगाडी नै छन् । नेपाली कांग्रेसका घर्तिले झिनो मतले माओवादी केन्द्रका उमेदवार जितबहादुर सुनारलाई हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए । पराजित सुनारका पिता त्यस गाउँमा तवेलामा घोडा पाल्ने पहिलो व्यक्ति थिए । उनि त्यस गाउँमा  संभ्रान्त परिवारमा गनिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप