केन्द्रीय संस्करण

६ देखि ६५ वर्षका १२ सय क्यानेडियनलाई तेक्वान्दो सिकाउँदै नेपाली

person access_timeमंसिर १३, २०७५ chat_bubble_outline0

बाक्सिला, खोटाङका राजकुमार राई बेलायती सेनामा भर्ती भए । सन् १९८० मा भर्ती हुँदा राई १९ वर्षका थिए । भर्ती भएपछि उनले तेक्वान्दो खेल्न सुरु गरे । बेलायती सेनामा १५ वर्ष सेवा गरेका उनले पल्टनमा रहँदा सक्रियपूर्वक तेक्वान्दो खेले । 

भूतपूर्व गोरखा सैनिक राई भर्ती हुनअघि नेपालमा तेक्वान्दो खेलिँदैनथ्यो । ‘भर्ती भएपछि ब्रुस्लीको मुभी हेर्न पाइयो,’ उनले भने, ‘उसको मुभी हेर्न थालेपछि तेक्वान्दो खेल्ने रहर पलायो । रहरलाई रहरमा सीमित राख्न हुँदैन भनेर तेक्वान्दो सुरु गरिहालें ।’ 

निरन्तरताले मानिसलाई परिपक्व बनाउँछ । त्यसको ज्वलन्त उदाहरण हुन्– राजकुमार राई । पल्टनमा रहँदा निरन्तर १५ वर्ष खेल्नु भनेको सामान्य होइन । त्यही निरन्तरताले उनलाई कीर्तिमानी तेक्वान्दो खेलाडी बनायो । एकताका उनी हङकङ नेसनल टिमको टिम मेम्बर थिए । सन् १९८४ र १९८५ मा हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेले । ‘म हङकङ गोल्ड मेडालिस्ट हुँ,’ उनले जानकारी गराए, ‘हङकङ च्याम्पियनसिप पनि भएँ ।’

सन् १९८६ मा कोरियामा एसियन गेम भएको थियो । ‘एसियन गेममा मैले नेपालको तर्फबाट तेक्वान्दोको प्रतिनिधित्व गरेको थिएँ,’ उनले थपे, ‘त्यतिबेला मेडल ल्याउनेमध्ये म पनि परेको थिएँ ।’

‘तेक्वान्दोमै स्वर्ण पदक पनि पाएको छु,’ उनले खुसी देखिए, ‘सन् १९९९ मा काठमाडौंमा भएको साफ गेममा तेक्वान्दोबाट नेपालको प्रतिनिधित्व गर्दा गोल्ड मेडल पाएको थिएँ ।’ बेलायती सेनाबाट अवकाश पाएपछि सन् १९९९ सम्म उनले तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाए । 

‘त्यसपछि ?,’ उनले सुनाए, ‘क्यानडा पुगें ।’ क्यानडाको योङ म्यान क्रिश्चियन एसोसिएन (वाईएमसीए) मा आबद्ध उनले हिजोआज पनि ६ देखि ६५ वर्षका १२ सय क्यानेडियनलाई तेक्वान्दो नियमित सिकाइरहेका छन् । उनीबाट प्रशिक्षितमध्ये कतिपयले ब्ल्याक बेल्ट लिएका छन् । ‘नेसनल च्याम्पियन’ बनेका छन् । उनका छोरासमेत तेक्वान्दोका ब्ल्याक बेल्ट हुन् । उनले क्लब सुरु गरिसकेका छन् । 

‘नेसनल टिम र हाई पर्फमेन्सलाई कोच गर्न छाडें,’ उनको ठम्याइ छ, ‘बुढेसकालले छोयो । नर्मल खेलाडी सिकाउन छाडेको छैन । नर्मल खेलाडीमात्रै १२ सयजना छन् ।’ तेक्वान्दो खेल्नु भनेको आफूलाई स्वस्थ राख्नु हो । त्यतिमात्रै होइन, खेलेरै कीर्तिमान राख्ने प्रयास गर्छु भन्नेहरू पनि छँदै छन् । ‘दुईमध्ये स्वस्थ रहन खेल्नु ठूलो कुरो हो नि,’ उनको भनाइ छ, ‘अनुशासित रहन तेक्वान्दो खेल्न सिकाइन्छ । कतिपयले मेरो छोराछोरी फाइटर छन् भनेर तेक्वान्दो ज्वाइन गरिदिन्छन् ।’ त्यसो गरियो भने उद्देश्य पूरा हुँदैन । ‘अग्लो छ भने नेपालमा खेल खेलाइन्छ,’ उनको विमति छ, ‘ब्रेन स्लो छ भने उसलाई सिकाउँदैमा केही हुँदैन । तेक्वान्दोमा समेत पत्रकारितामा जस्तै एबीसी भन्ने सूत्र छ । त्यसको आत्मसात् गर्नैपर्छ ।’ 

नेपाल र क्यानडाका खेलाडीबीच फरक छ । ‘खेलकुदमा लागेर भविष्य बनाउँछु भनेर लागिपर्छु भन्ने नेपाली पहाडबाट काठमाडौं पसेका हुन्छन्,’ नेपाली चलचित्र ‘द कमान्डो’ का नायकसमेत रहेका राजकुमार राईले वास्तविकता बताए, ‘सर्वप्रथम काठमाडौंमा टिक्न गाह्रो । सिकेपछि बिक्न गाह्रो ।’ क्यानडामा कुनै पनि विधाका खेलाडीले कतै खेल्न जानुपर्यो भने आफैंले खर्च जोहो गर्नुपर्छ । उनीहरू सरकारको भर पर्दैनन् । त्यसो भए जीविकोपार्जन कसरी गर्ने ? ‘काम गर्नुपर्यो नि,’ उनले प्रस्ट्याए, ‘पैसा चाहिनसाथ उनीहरू काममा लागिहाल्छन् । आवश्यक खर्च जोहो गरिहाल्छन् । नेपालमा त्यस्तो प्रवृत्ति छैन ।’

नेपालको ‘रिमोर्ट एरिया’ बाट तेक्वान्दो विकास गर्नुपर्छ भन्ने उनको मान्यता छ । तेक्वान्दो धूलोमा खेल्ने खेल होइन । त्यसको व्यवस्थापन गर्न नेपाल सरकार, खेलकुदसँग सम्बन्धित संघ–संस्था र प्रशिक्षकले सोच्नैपर्छ । ‘क्यानडा र नेपाली खेलाडीबीच धेरै अन्तर छ,’ उनको बुझाइ छ, ‘खेलाडीभन्दा प्रशिक्षकले सिक्नुपर्नेछ । उसले सिकेको खण्डमा सिकाउन सजिलो हुन्थ्यो ।

‘मैले विदेशमै तेक्वान्दो सिकें । विदेशमै सिकाइरहेको छु,’ उनले गर्व गरे, ‘नेपालका लागि पदक दिलाएँ । आफ्नो देशका लागि दुई पदक दिलाएको छु । सानोतिनो पदकको गणना नगरुँ ।’ 

नेपालमा सुरु नहुँदै बेलायतमा तेक्वान्दो खेल्न थालेका प्रतिभाशाली खेलाडी राजकुमार राई १९ वर्षदेखि क्यानडामा छन् । नेपालले राईको प्रतिभालाई चिन्यो चिनेन होला ? ‘नेपालले मलाई चिन्यो कि चिनेन बहस गर्न आवश्यक छैन,’ उनले खुसी व्यक्त गरे, ‘नेपालले मेरो प्रतिभालाई ग्रहण गर्यो । नेपालको प्रतिनिधित्व गर्दै मैले दुई–दुईपटक खेल्ने मौका पाएँ । मेरा लागि त्यो नै ठूलो कुरा हो । मौका पाएकाले नै म राजकुमार राई भनेर चिनिन पाएँ ।’ 

‘नेपाललाई पदक दिलाएपछि सरकारले मलाई जागिर देओस् । घर बनाइदेओस् भनेर कहिल्यै सोचिनँ,’ उनले नढाँटी भने, ‘आस पनि गरेको थिइनँ । कतिपय खेलाडीले सरकारले मलाई यो वा त्यो गरिदिओस् भन्ने अपेक्षा गरेका हुन्छन् । सरकारले त इज्जत पो दिने हो । इज्जतभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । तर, नेपाली खेलाडीले त्यस्तो आशा गर्नु अस्वाभाविकचाहिँ होइन ।’ 

तेक्वान्दोले राजकुमार राईलाई के–के सिकायो होला ? ‘तेक्वान्दोले मलाई राजकुमार राई बनायो,’ उनले जोडे, ‘तेक्वान्दोविना मेरो परिचय अधुरो हुन्थ्यो । यसले आत्मविश्वास बढायो ।’ 

५७ हिउँद, बर्खा खेपेका उनी स्वस्थ छन् । ‘योङ’ देखिनु पनि तेक्वान्दोको देन हो । ५७ वर्षकाले ६५ वर्षसम्मकालाई तेक्वान्दो सिकाउन झर्को मानेका छैनन् । क्यानडामा स्फुर्ति, शारीरिक सन्तुलन र अनुशासित बनाउन बालबालिकालाई तेक्वान्दो खेलाइन्छ । अन्यले स्वस्थ रहन खेल्छन् । स्वास्थ्यभन्दा ठूलो सम्पत्ति संसारमै अरू होला र ?


 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ