केन्द्रीय संस्करण
कवाडी कथा–२

कवाडी छड ‘देशको मेरुदण्ड’ ?: के फरक छ प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा ?

सस्तो भन्दै न्यून गुणस्तरको छड बजारमा

person explore access_timeमंसिर १३, २०७५ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

महानायक राजेश हमाल हेलिकोप्टरबाट उत्रेर हिरो शैलीमा भन्छन्, ‘भनेर होइन, बनेर नम्बर वान ।’

जगदम्बा स्टिल उद्योगको विज्ञापनमा खेल्दै हमालले जगदम्बा उद्योग देशकै ठूलो उद्योग भएको पनि बताएका छन् ।

हुन पनि हो, बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योग देशकै ठूलो स्टिल उद्योग हो । मुख्यतः संरचना निर्माणका लागि अत्यावश्यक फलामे छडदेखि तार र किलासम्म यो उद्योगले उत्पादन गर्ने गरेको छ ।
अझ जगदम्बा स्टिलले आफ्नो छडको विज्ञापनमा ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन र प्रचारप्रसार समेत गरेको छ ।

मेरुदण्डको सामान्य अर्थ मूल हड्डी अर्थात् सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो भन्ने बुझाउँछ । तर जसरी जगदम्बा स्टिलले ‘देशको मेरुदण्ड’ भन्दै प्रचारप्रसार गरेको छ, के जगदम्बाको फलामे छड वा रड मेरुदण्डजस्तै बलियो छ त ? के जगदम्बाले उत्पादन गर्ने फलामे डन्डी मापदण्डअनुसार उच्च गुणस्तरकै छ त ? के कवाडी अर्थात् थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेड अर्थात् पहिलो श्रेणीको फलाम जत्तिकै बलियो हुन्छ त ? आखिर थोत्रा फलाम पगालेर बनेको छड कसरी देशको मेरुदण्ड बन्न सक्छ त ? यही प्रश्नहरूको उत्तर खोज्न रातोपाटीले काठमाडौंदेखि बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको फ्याक्ट्रीसम्म पुगेर स्थलगत रिपोर्ट तयार पारेको छ । 

अघिल्लो पटक हामीले काठमाडौँलगायत देशका सहरबाट उठाइने थोत्रा फलाम कसरी छड उद्योगमा पुग्छ भन्ने जानकारी पाठकसामु प्रस्तुत गरिसकेका छौँ । 

कवाडी फलामबाट बनेको छडले बलियो होला घर ?

कवाडी कथा बुझ्नका लागि हामीले काठमाडौंबाट थोत्रा फलाम अर्थात् कवाडी बोकेर गएको एउटा ट्रकको सहचालक बनेर हामी सिमरामा रहेको जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र प्रवेश गरेका थियौं । त्यहाँ पत्रकार बनेर वा क्यामेरा लिएर वा सामान्य व्यक्ति बनेर जगदम्बाको फ्याक्ट्रीमा प्रवेश गर्न सम्भव नै छैन । फ्याक्ट्रीभित्र हामीले देख्यौंः देशको मेरुदण्ड भनेर प्रचार गरिएको र उच्च गुणस्तरको दाबी गरिएको जगदम्बाको फलामे डन्डी अर्थात् छड बनाउन त थोत्रा फलाम अर्थात् कवाडी फलाम पगालेर बनाइएको कच्चा पदार्थ चाहिँ अत्यधिक मात्रामा प्रयोग हुँदो रहेछ । केही मात्रामा भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट उच्च गुणस्तरको छड बनाए पनि सस्तो मूल्यमा बजारमा बिक्री वितरण गरिएको जगदम्बाको छड बनाउन त अधिकांश कवाडी फलामहरुको पो प्रयोग हुँदो रहेछ । 

तस्बिरमा देख्नुभएको यो दृश्य जगदम्बा स्टिलको उद्योगभित्रको दृश्य हो । जगदम्बा स्टिलको उद्योगभित्र यस्ता धेरै कवाडी अर्थात् थोत्रा फलामको स्टोर देख्न सक्नुहुनेछ । देशका विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएका थोत्रा फलामहरू पगाल्नका लागि यहाँ यसरी राखिएको हो । विभिन्न प्रकार र प्रकृतिका यी थोत्रा फलामलाई अत्यधिक तापक्रममा पगालेर जगदम्बाले फलामे डन्डी अर्थात् छड बनाउने गरेको रहेछ । 
जगदम्बाको फ्याक्ट्रीभित्र मोबाइलबाट तस्बिर लिनसमेत निषेध गरिएको छ । अझ मुख्यतः कवाडी अर्थात् थोत्रा फलाम राख्ने स्थान, त्यो पगाल्ने स्थानमा मोबाइल चलाउन नै प्रतिबन्ध लगाइएको छ । त्यसकारण हामीले स्पाई क्यामेरा (गोप्य क्यामेरा) प्रयोग गरेर थोत्रा फलाम पगालेर जगदम्बाले कसरी फलामे छड बनाउँछ भनेर त्यसको तस्बिर र भिडियो लिएका छौँ । 

यसरी बनाइन्छ थोत्रा फलामबाट फलामे छड

मुख्य मुख्य सहरबाट कवाडी सङ्कलन केन्द्रले निश्चित रकम दिएर थोत्रा फलामका टुक्राहरू किनेका हुन्छन् । यस्तो कवाडी किन्दा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने भएका फलाम वा फलामको कराईसम्म लिएका हुन्छन् । 

यी फलामका टुक्राहरू सङ्कलनकर्ताहरू व्यक्तिका घरघरमा पुगेर सङ्कलन गर्छन् । व्यक्तिका घर घरबाट सङ्कलन गरिएको उक्त कवाडी अर्थात् फलामको टुक्रा सङ्कलन केन्द्रले एजेन्टमार्फत् विभिन्न छड उत्पादक कम्पनीहरूलाई बिक्री वितरण गर्छन् । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर यस्ता फ्याक्ट्रीमा लगिन्छ । 

यो दृश्य यस्तै सहरबाट ल्याएर जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र राखिएको दृश्य हो । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान देख्न पाइन्छ । 

थोत्रा फलामका यी टुक्रालाई पहिले भाँचेर सानो बनाइन्छ । यसका लागि जगदम्बाले विद्युत्बाट चल्ने क्रेनको प्रयोग गर्ने गरेको छ । 

थोत्रा फलामका सामानहरूलाई भाँचेर सानो बनाइसकेपछि फ्याक्ट्रीको भट्टीतर्फ लगिन्छ । जगदम्बाले थोत्रा फलाम पगाल्नका लागि ४ वटाभन्दा बढी भट्टी बनाएको छ । यिनै भट्टीमा यी थोत्रा सामान राखेर जगदम्बाले पगाल्ने गरेको छ । 

विद्युत्बाट सञ्चालन हुने यस्तो भट्टीको तापक्रम ४ हजार डिग्री सेन्टिग्रेटभन्दा बढी हुन्छ । यही भट्टीमा फलामका थोत्रा सामान राखेर पगालिन्छ र ती सामान लिक्युड आइरन अर्थात् फलामको झोल बन्छ । त्यो झोललाई बिस्तारै तापक्रम घटाइन्छ र फलामको ब्लेड बनाइन्छ ।

माथिको यो तस्बिर यस्तै कवाडी पगालेर बनाइएको फलामको अंश हो । यही फलामलाई पछि मेसिनमा राखेर आफूलाई आवश्यकता अनुसारको साइजमा छड बनाइन्छ र त्यो बजारमा आइपुग्छ । जगदम्बाले उत्पादन गर्ने अधिकांश छड यस्तै थोत्रा फलाम पगालेर बनाउने गरेको छ । 

थोत्रा फलामको फिल्टर नै गरिँदैन

हुन त कवाडी अर्थात् थोत्रा फलाम पगालेर छड बनाउँदा त्यहाँ फिल्टरेसन अर्थात् फलामको प्रकृतिअनुसार छान्नुपर्ने हो । फलामको छनोट गर्दा खिया लागेको वा नलागेको, कुन प्रकृति वा गुणस्तरको फलाम भनी पहिले नै छान्नुपर्ने हो । 

तर जगदम्बाको फ्याक्ट्रीभित्र फलामको प्रकृति छुट्याई छनोट गर्ने विधि वा प्रक्रिया अवलम्बन गरिन्छ कि गरिँदैन ? मुख्य प्रश्न यो हो । एउटा ठूलो म्याग्नेट अर्थात् चुम्बकले तानेको सबै वस्तुलाई फलामका रूपमा भट्टीमा हालिन्छ र पगालिन्छ । जसका कारण पहिले नै कार्बन, फस्फोरस, सल्फर र सल्फर फोस्फरस कम्बाइन्डको मात्रा कम्पोजिसनमा फरक पार्छ । ग्याँस सिलिन्डरदेखि फलामका कराई वा कडाभन्दा कडा फलामका सामान र नरम फलामलाई पनि एकै स्थानमा राखेर पगालिन्छ । कडा फलामका सामानमा पहिले नै कार्बन, फोस्फरस र सल्फरको मात्रा बढी हुन्छ । तर छड बनाउन फेरि पनि केही न केही मात्रामा कार्बन, फोस्फरस र सल्फर राखिन्छ, जसका कारण यस्ता छडहरूमा कार्बन र सल्फर तथा फोस्फरसको मात्रा बढी भई फलाम हुनुपर्नेभन्दा कडा बन्छ र आवश्यक मात्रामा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) नहुँदा उक्त छडलाई बङ्ग्याउँदा भाँचिन्छ । यस्ता फलामको डक्टिलिटी मात्रै कम हुँदैन, ब्रिटलनेस अर्थात् कडापन बढी हुन्छ । अनि अलिकति बढी दबाब पर्नेबित्तिकै त्यो भाँचिन्छ । यस्ता छड प्राइम ब्लेडबाट बनेको छडभन्दा कमजोर हुन्छन् । त्यसकारण थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेडबाट बन्ने छडको तुलनामा स्वाभाविक रूपमा कमजोर नै हुन्छ । कवाडी पगालेर बनाइने अधिकांश फलाम छड निर्माणमै प्रयोग हुने गर्छ, जसका कारण छड मापदण्डभन्दा कमजोर बन्न पुग्छ । 

के फरक छ प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा ?

मुख्यतः फलामे छडमा ठूलो मात्रामा फलामकै हिस्सा रहन्छ । त्यसबाहेक फलामे छडमा कार्बन, फोस्फरस, सल्फर र सल्फर फोस्फरसको कम्बाइन्ड केमिकल रहेको हुन्छ । फलामे डन्डी अर्थात् छडमा कार्बनको मात्रा अधिकतम ३ प्रतिशत मात्रै राख्नुपर्छ भने सल्फरको मात्रा शून्य दशमलब शून्य ५५, फोस्फरसको मात्रा शून्य दशमलब शून्य ५५ र सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा शून्य दशमलब १ शून्य ५ प्रतिशत मात्रै हुनुपर्छ । यदि यसको मात्रामा वृद्धि भयो भने फलामे छडको डक्टिलिटी अर्थात् नरमपना कम हुने र ब्रिटलनेस अर्थात् कडापन बढी हुन्छ, जसका कारण जति मात्रामा जसरी छड बाङ्गिनुपर्ने हो, त्यसो हुन सक्दैन र बङ्ग्याउन खोज्दा भाँचिन्छ । त्यसकारण कवाडीबाट बनेका फलामे छड प्राइम ब्लेड अर्थात् पहिलो श्रेणीको फलामबाट बनेको छडभन्दा कमजोर हुन्छन् ।  

फलामको पुनः प्रयोग नै गलत कि गुणस्तरमा प्रश्न ?

हुन त संसारभर नै फलाम तथा यस्ता धातुको पुनः प्रयोग गरिन्छ । यसलाई पगालेर वा अन्य स्वरूपमा परिवर्तन गरी यसको प्रयोग हुन्छ । हाल विश्वभर रहेका यस्ता धातुको ३० प्रतिशत धातु पुनः प्रयोगमा गएका छन् भने अमेरिकामा मात्रै ४२ प्रतिशत स्टिल उद्योग यस्तै कवाडीबाट बन्छन् ।

तर सवाल के हो भने के नेपालमा थोत्रा फलामबाट बनाइएका यस्ता छडहरूले न्यूनतम मापदण्ड पूरा गरेका छन् त ? के थोत्रा फलाममा हुने कार्बन, सल्फर र फोस्फरसको मात्रा घटाउन कुनै विधि प्रयोग गरिएको छ त ? के बजारमा आएका फलामे छडमा कार्बन, सल्फर र फोस्फरसको मात्रा मापन गरिएको छ त ? मुख्य समस्या नै यहीँ हो । बजारमा बिक्रीमा आएका यस्ता अधिकांश फलामे छडहरूमा कार्बन, सल्फर र फोस्फरसको मात्रा बढी रहेको पाइएको छ । छड उत्पादक कम्पनीले क्वालिटी कन्ट्रोलमा ध्यान नदिँदा फलामे छडमा यी केमिकलको मात्रा बढी पाइन्छ । यो तथ्याङ्क नापतौल विभाग र पुल्चोकस्थित केन्द्रीय ल्याबको लग रेकर्डमा पनि पाउन सकिन्छ । 
 

असुरक्षित मजदुर

जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र जब हामी प्रवेश गर्यौँ, त्यहाँको अवस्था ज्यादै दयनीय देखियो । ४ हजार डिग्री तापक्रममा काम गर्ने मजदुरहरूको सुरक्षा व्यवस्थापनमा भयानक लापरवाही गरिएको देखिन्थ्यो । त्यहाँ कार्यरत मजदुरहरूले  सुरक्षित पोसाक लगाएका थिएनन्, केहीको त टाउकोमा हेल्मेटसमेत थिएन । उनीहरू अत्यधिक तापक्रम रहेको भट्टीमा थोत्रा फलामका टुक्रा हालेर पगाल्नमै व्यस्त थिए । 

भट्टी पड्कँदा ६ मजदुरको मृत्यु
केही समय अगाडि मात्रै जगदम्बाको भट्टीभित्र विस्फोट भएको थियो । कवाड फलाम पगाल्ने क्रममा कच्चा पदार्थको रूपमा कवाडीबाट बटुलिएको एलपी ग्याँसको थोत्रा सिलिन्डर हालेकै कारण त्यो पड्कँदा ४ जना मजदुरको घटनास्थलमै मृत्यु भयो भने २ जना मजदुरको उपचारका क्रममा मृत्यु भयो ।  जगदम्बामै काम गर्ने एक कर्मचारीका अनुसार भट्टीमा फलामका टुक्रा वा प्रकृतिअनुसार फलाम पगाल्न हाल्नुपर्ने हुन्छ । तर त्यो सामान्य कुरालाई समेत बेवास्ता गरिँदा भएको विस्फोटको कारण फलामको तातो झोल उछिट्टिएर शरीरमा पर्दा ६ जनाले ज्यान गुमाउनु पर्यो ।  भट्टीमा काम गर्ने मजदुर पनि भारतबाटै ल्याइएका कारण मर्नेहरू को थिए र कसरी मरे वा मारिए भन्ने विषयमा नेपाल सरकारले छानबिनसमेत गरेन । भट्टी अति संवेदनशील क्षेत्र भएकाले जगदम्बाले उक्त स्थानमा काम गर्न नेपाली नागरिकलाई निषेध गरेको छ र त्यसका लागि भारतबाटै मजदुर ल्याउने गरेको छ । यसका कारण भट्टी पड्किएर ६ जना मजदुरको मृत्यु हुँदा पनि जगदम्बाले त्यो घटनालाई गुपचुपमै राख्यो । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...