शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा मोर्चाबन्दी : सुजातापछि शशांकको घरमा देउवाविरोधीको बैठक

बुधबार, १२ मङ्सिर २०७५, १३ : ३९
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौँ । आसन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको प्रस्तावित विधानबारे सभापति देउवा इतरका नेताहरुले चर्को विरोध गर्ने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल र गुटगत भेलालाई तीव्रता दिँदै एकजुट हुने प्रयास गरेका छन् । विधानमाथि छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । 

मङ्गलबार र बुधबार लगातार बैठक बसेर उनीहरुले विधान, महासमिति र त्यसपछि हुने महाधिवेशनका बारेमा समेत लबिङ गरेका छन् । बुधबार काँग्रेस नेता तथा महामन्त्री शशांक कोइरालाको निवास र मङ्गलबार सुजाता कोइरालाको निवासमा भेला भएका देउवा विरोधी खेमाका यी नेताहरुले काँग्रेसको विधान समयसापेक्ष हुन नसकेको तथा सभापति देउवाले आफू अनुकुलको विधान बनाउने षड्यन्त्र भएको भन्दै त्यस्तो विधान केन्द्रीय समितिबाट पास गर्नै नहुने निचोड निकालेका छन् ।  मङ्गलबारको बैठकमा युवापुस्ताका धेरै नेताहरु सहभागी भए पनि बुधबार महामन्त्री कोइरालाको टोखास्थित घरमा भएको भेलामा रामचन्द्र पौडेलसहित देउवाइतर पक्षका सबै नेता भेला भएका थिए । 
देउवा अनुकुल विधान बनाउने प्रयासको विरोध

‘विधान नै नेता अनुकुल बनाउने हो भने पार्टी किन चाहियो ? यसमा हाम्रो असहमति हो, त्यसबारे कुराकानी गर्न हामी छलफलमा जुटेका हौँ’ काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुधबार रातोपाटीलाई बताए । उनले नेताहरु स्वार्थी र आत्मकेन्द्रित बन्दा काँग्रेसको साख गिरेको भन्दै त्यस्तो विधान केन्द्रीय समितिबाट पास गर्न नहुने पक्षमा छलफल केन्द्रित भएको बताए । 

गत मङ्सिर ९ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा नेता पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले पेश गरेको विधान तीन दिनसम्म केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । 

तीन दिनको अध्ययनपछि बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा विधानबारे केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ ।

विधान मस्यौदामाथिको छलफलका क्रममा देउवा विरोधी समूहले खासगरी चारवटा विषयमा असहमति जनाउने तयारी गरेको छ ।

असहमतिका मुख्य चार बुँदा 

–सदस्य सङ्ख्या बढाउने तर पदाधिकारी नबढाउने ।

–सभापतिले २५ प्रतिशत सदस्य मनोनयन गर्न पाउने ।

–क्रियाशील सदस्यता खारेज गर्ने ।

–समानुपातिक प्रणालीमा एक व्यक्ति जतिपटक पनि उम्मेदवार बन्न पाउने ।

विधान मस्यौदामा सदस्य सङ्ख्या बढाएर एक सय ४१ बनाउने तर पदाधिकारी नबढाउने प्रस्ताव गरिएको छ, जसको सभापति देउवा पक्षबाहेकका अन्य नेताहरुले चर्को विरोध गर्दै आएका छन् । 

त्यति मात्रै होइन काँग्रेसको विधानमा प्रस्ताव गरिएकोे २५ प्रतिशत सदस्य सभापतिले मनोनयन गर्नसक्ने प्रस्तावमा पनि इतर पक्षले विरोध जनाएको छ । ‘सभापतिलाई कमजोर बनाउनुपर्छ भन्ने मान्यता होइन तर त्यति धेरै अधिकार केका लागि भन्ने मुख्य प्रश्न हो’, भण्डारीले भने । 

त्यस्तै विधानमा विकल्पसहित प्रस्ताव गरिएको सदस्यताको प्रकृयामा पनि धेरै काँग्रेस नेताहरुले असहमति जनाएका छन् । प्रस्तावित विधानमा क्रियाशील सदस्यता खारेज गर्ने विषयको पनि बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशममान सिंह र कृष्ण सिटौलालगायतका नेताहरुले विरोध गरेका छन् । त्योबाहेक समानुपातिक प्रणालीअन्तर्गत एक व्यक्ति जतिसुकै पटक उम्मेदवार बन्न पाउने प्रावधानले पनि अन्य व्यक्तिले अवसर नपाउने भएकाले त्यो बुँदा संशोधन गर्नुपर्ने पक्षमा असन्तुष्ट पक्षका नेताहरु रहेका छन् । 

नेतृ सुजाता कोइरालाको घरमा मङ्गलबार र बुधबार महामन्त्री शशांक कोइरालाको घरमा बसेको देउवाविरोधी खेमाको बैठकमा पनि यिनै विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् । विधान र महासमिति बैठकबारे छलफल भए पनि महाधिवेशनबारे कुनै चर्चा नभएको भेलामा सहभागी अर्का नेता प्रदीप पौडेलले दाबी गरे । 

सुजाताले के भनिन् ?

सुजाता निवासमा मङ्गलबार भएको बैठकमा नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायतका युवाहरु सहभागी थिए । 

सुजाताले युवा नेताहरुको धारणा बुझ्न बोलाइएको भनिएको उक्त भेलामा नेतृ सुजाताले आफैबाट कुरा सुरु गरेकी थिइन् । ‘मेरो त भन्नु केही छैन । पछिल्लो समय काँग्रेसमा गुटको द्वन्द्व चर्किएको छ । द्वन्द्व केन्द्रमा मात्रै छैन, गाउँ तहसम्मै पुगेको छ । नेता कार्यकर्ताहरु यो गुट र त्यो गुटको भनेर आफै भन्न थालेका छन्, यसले काँग्रेसलाई कुनै फाइदा हुँदैन’, नेतृ सुजाता कोइरालाको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘यसरी कुनै हालतमा पार्टी चल्दैन, अब तपाई हामी नयाँ पुस्ता र पुरानो पुस्ता होइन, एक हुनुपर्छ । म साथ दिन तयार छु ।’

कोइराला परिवारको सक्रियता 

पछिल्लो समय काँग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवाको आलोचना बढेसँगै कोइराला परिवारका सदस्यहरू सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइरालाहरुको सक्रियता ह्वात्तै बढेको छ । 

उनीहरुको सक्रियता आगामी १४औं महाधिवेशन लक्षित भएको धेरै काँग्रेस नेता कार्यकर्ताको विश्लेषण छ । यद्यपि उनीहरुले भने महाधिवेशनबारे अहिल्यै सोच्ने बेला नभएको बताउने गरेका छन् । ‘नेताहरुबीच भेटघाट गर्नु र कुराकानी र छलफल हुनु सामान्य हो । भेटघाट गर्दैमा यो वा त्यो भनेर अड्कल गर्नु उचित होइन’, काँग्रेस नेता शेखर कोइरालाको भनाइ छ । 

कोइराला परिवारलाई पौडेलको समर्थन 

रामचन्द्र पौडेल पार्टीमा बरिष्ठ नेता हुन् तर देउवा विरोधी समूहको बैठक या छलफल हुँदा सुजाता, शशांक या शेखरको घरमा मात्रै हुने गरेको छ । १३औं महाधिवेशनमा देउवालाई सहयोग गरेका नेताहरु पनि पछिल्लो चरणमा देउवा विरोधी खेमामा एकीकृत हुँदै आएका छन् । त्यसका एक उदाहरण हुन, नेता चन्द्र भण्डारी । भण्डारी १३औं महाधिवेशनमा देउवाको प्यानलमा थिए । त्यसका अलवा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतका असन्तुष्ट नेताहरु पनि कोइराला परिवारलाई साथ दिन थालेका हुन् । खासगरी गतवर्ष भएको निर्वाचनमा काँग्रेसले हार बेहोरेसँगै देउवाप्रति आक्रोशित बनेका यी नेताहरु पछिल्लो पटक विजयकुमार गच्छदारलाई पार्टी उपसभापति बनाएपछि थप चिढिएका छन् । यही समीकरण कायम रहे आगामी महाधिवेशनमा देउवाविरुद्ध शशांक वा शेखरमध्ये एक सभापतिमा उम्मेदवार बन्ने र पौडेलले समेत सहयोग गर्ने मनस्थिति बनाएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप