केन्द्रीय संस्करण

कवाडी फलामबाट बनेको छडले बलियो होला घर ?

person access_timeमंसिर १०, २०७५ chat_bubble_outline0

महाभूकम्पपछि देश पुनर्निर्माणको चरणमा छ । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि सरकारले प्रचारप्रसार र सहयोगसमेत गरिराखेको छ । पछिल्लो समय अधिकांश घरहरु रड, सिमेन्ट र कंक्रिट (आरसिसी ) ढलान गरेर बनाइन थालेको छ । बलियो घरका लागि मेरुदण्ड हो रड । तर, हाम्रो बजारमा पाइने रडको गुणस्तर कस्तो छ त ? के सबै फलामे डन्डी गुणस्तरीय छ त ? उस्तै स्तरको भए छडको मूल्यमा किन अन्तर ? यी प्रश्नको जवाफ खोज्न रातोपाटीले स्थलगत अध्ययन गरेको छ । र, उद्योगहरुले उपभोक्तालाई कसरी ठगिरहेका छन् भन्ने पत्ता लगाएको छ । अबको केही दिन रातोपाटीमा कवाडी रडको कथा, शृंखलाबद्ध रुपमा पढ्न र हेर्न सक्नुसहुनेछ ।

बिहान उज्यालो हुने बित्तिकैदेखि साँझसम्म पनि सहरका गल्लीगल्लीहरूमा फलामका टुक्रा खोज्न साइकलको घण्टी बजाउँदै आएका युवा त हामीले धेरै देखेका छौँ । तर खासमा यी फलामका भाँडा वा टुक्राहरू किन खोजिएको होला ? यी फलामको टुक्रा वा फलामको सामान कुन प्रयोजनका लागि किन यसरी जोडजाम गरिएको होला, धेरै मानिसहरूलाई थाहा नहुन सक्छ । 

हाम्रै घरतिर फुटेर वा भाँचिएर फाल्नुपर्ने अवस्थामा रहेका फलामका टुक्राहरू खोजी खोजी लगेर यसरी के कामका लागि प्रयोग गरिन्छ होला, यो धेरैको चासोको विषय हो । 

प्रतिकिलो ८ रूपैयाँका दरले किनेर लगिने यस्ता फलामका टुक्राहरू उनीहरूले कति रूपैयाँका दरले बिक्री वितरण गर्छन् होला ? अनि यसरी कवाडीका रूपमा उठाइएका यी फलामका टुक्राहरू के फेरि नयाँ स्वरूपमा प्रयोगमै आउलान् त ?

यसको वास्तविक अवस्था बुझ्न हामीले काठमाडौंको गल्लीदेखि फलो गर्दै यी फलामलाई नयाँ स्वरूपमा ढाल्ने उद्योगसम्म पुगेका छौँ ।

यी युवा कालीमाटीको एक कवाडी सङ्कलन केन्द्रमा काम गर्छन् । यिनको दैनिकी गल्लीगल्ली र टोलटोलमा गएर फलामका टुक्राहरू सङ्कलन गरी ल्याउनु हो । बिहान उठेपछि यिनी एक कप चिया पिउँछन् र कवाडी अर्थात् फलामका टुक्राहरू सङ्कलन गर्नका लागि साइकलको घण्टी बजाउँदै व्यक्तिका घर–घरमा पुग्छन् । 

जस जसका घरमा फलामका टुक्रा वा काम नलाग्ने फलामका सामानहरू हुन्छन्, यिनी निश्चित रकम दिएर ती सामानहरू खरिद गर्छन् र ती सामानहरू लिएर यिनी खाना खाने समयमा कवाडी सङ्कलन केन्द्रमा पुग्छन् । यिनको सामानको हिसाब राखिन्छ र पछि एकमुष्ठहरूपमा यिनलाई आफूले गरेको कामबापतको रकम दिइन्छ । 

यिनी जस्तै धेरै व्यक्तिहरूले गल्ली गल्ली र टोल टोलमा पुगेर फलामका टुक्रा वा थोत्रा फलामका सामानहरू सङ्कलन गरी ल्याउँछन् । जब सङ्कलन केन्द्रमा फलामको थुप्रो बन्छ । त्यसपछि यी फलामका टुक्राहरू सङ्कलन केन्द्रले बिक्री गर्छ । 

जब हामीले कवाडी सङ्कलन केन्द्रका मालिकलाई यी फलामका टुक्राहरू कहाँ पुग्छ भनेर सोध्यौँ । तिनले आफूहरूलाई थाहा नभएको भन्दै झुट बोले । हामीलाई के थाहा थियो भने यी फलामका टुक्राबाट फेरि नयाँ फलाम वा फलामका अन्य सामग्री बन्छन् । त्यसपछि हामीले कवाडी कथा खोतल्नका लागि कवाडी लिएर जाने ट्रकसँगै जाने निधो गर्यौँ । 

अर्को दिन हामी सहरका कवाडी सङ्कलन केन्द्रका अगाडितिर कवाडी कथा खोज्न लागिपर्यौँ ।

कवाडी कथा खोज्ने क्रममा हामीले बल्खुमा एउटा ट्रकमा फलामका टुक्रा अर्थात् कवाडीका सामान लोड गरिरहेको भेट्यौँ । ना ४ ख १५१२ नम्बरको ट्रकमा फलामका टुक्राहरू लोड गरिरहेको थियो । तर त्यस गाडीको चालक सिटमा कोही थिएनन् । कवाडी सङ्कलन केन्द्रका मजदुरहरूले त्यहाँ कवाडी लोड गरिरहेका थिए । 

हामी लामो समय यस ट्रकका चालकलाई कुरेर बस्यौँ । करिब १२ बजे मात्रै चालक र सहचालक आइपुगे । हामीले उनीहरूसँग परिचय गर्ने प्रयत्न गर्यौँ । तर उनीहरूले हामीलाई खासै वास्ता गरेनन् । यद्यपि हामीले आफूहरू पनि तराईं जानुपर्ने भएकाले ट्रकमै जाने र त्यसका लागि राम्रो भाडा दिने कुरा बतायौँ । त्यसपछि मात्रै उनीहरूले हामीलाई आफ्नो मोबाइल नम्बर उपलब्ध गराए । 

मोबाइल नम्बर दिएर उनीहरूले साँझ ४ बजे फोन गर्न भने । हामी कवाडी लोड भएको उक्त ट्रकबाटै यी कवाडी पुग्ने स्थानसम्म जान चाहन्थ्यौँ । निर्धारित समयअनुसार हामीले साँझ ४ बजे यस ट्रकका चालक राजु न्यौपानेलाई फोन गर्यौँ । हामीलाई बिहान भेटिएको स्थान अर्थात् बल्खुमा बोलाइयो । हामी समयमै उक्त स्थानमा पुग्यौँ । यद्यपि ट्रकका चालक न्यौपानेले गाडी ९ बजे मात्रै यहाँबाट गुड्ने बताए । हामी ९ बजेसम्मको समय कुरेर बस्यौँ ।

गाडीमा नगएर ट्रकमा अझ धेरै पैसा दिएर जान लागेको कारणबारे चालक आफै पनि सशङ्कित थिए । हामीले आफूहरू विदेशी संस्थाका लागि डकुमेन्ट्री निर्माण गर्ने व्यक्ति भएको र प्रि–रिसर्चका लागि तराई जान लागेको कुरा बतायौँ । यद्यपि उनीहरूले हामीलाई शङ्का गरिरहे र अप्ठ्यारो पर्ने हो कि भनेर सोधे । हामीले तपाईंहरूलाई कुनै अप्ठ्यारो नपार्ने र आफूहरू ट्रकको सहचालक (खलासी) बनेर कारखानाभित्र जाने कुरा बतायौँ । चालकले अप्ठ्यारो मान्दै स्वीकृति जनाए । 

राति ९ः३० बजे उक्त ट्रक सीतापाइलाबाट अगाडि बढ्यो । हामी पनि यही ट्रकमा बसेर यसको गन्तव्यतर्फ जान लाग्यौँ । 

ट्रक नागढुङ्गाबाट अगाडि बढेपछि हामीले कुराकानी सुरु गरयौँ । यो कवाडी कहाँ लैजान लागेको र किन लगेको भनेर ? चालक राजु न्यौपानेले यी कवाडी पगालेर फेरि फलाम वा फलामका सामान बनाउने र त्यो सामान पुनः बजारमै आउने जानकारी गराए । हामीले मोबाइलबाटै त्यसको केही फोटो र भिडियो लियौँ । हामीले ठूलो डीएसएलआर क्यामेरा बोकेका भए पनि शङ्का गर्ने भएकाले त्यो क्यामेराको प्रयोग नै गरेनौँ । यद्यपि मोबाइलबाट हामीलाई आवश्यक फोटो र भिडियो लिइरह्यौँ । 

थोत्रा फलाम अर्थात् कवाडीबाट बन्दो रहेछ फलामे डन्डी 

भूकम्पपछि अति प्रभावित १४ जिल्ला र बाँकी १८ जिल्ला गरी ३२ जिल्लामा पुनर्निर्माणको काम चलिरहेको छ । अबको संरचना भूकम्प प्रतिरोधी बनाउने भनेर सरकारले धेरै प्रचारप्रसार र कामसमेत गरिरहेको छ । गाउँघरमा पनि रिनफोर्सड, सिमेन्ट र कङ्क्रिट अर्थात् आरसीसी प्रयोग गरी घर बनाउँदै गरिएको छ । यस्तो अवस्थामा गुणस्तरीय फलामे छड, सिमेन्ट र कङ्क्रिट महत्त्वपूर्ण निर्माण सामग्री हुन् । 

घर वा भवन निर्माणका लागि महत्त्वपूर्ण हिस्सा लिने फलामे डन्डी अर्थात् छड गुणस्तरीय र बलियो हुनुपर्नेमा दुईमत छैन । तर यस्तो वस्तु नै कवाडी अर्थात् पटक पटक पुनः प्रयोग गरिएको फलाम र त्यसलाई फेरि पगालेर बनाइँदो रहेछ । देशभित्र सञ्चालनमा रहेका आधा दर्जन फलामे डन्डी उद्योगले यस्तो फलामे डन्डीको उत्पादन र बिक्रीवितरण गर्दा रहेछन् ।

कुराकानी गर्दै जाँदा हामी भोलिपल्ट बिहान १० बजे सिमारा पुग्यौँ । सिमारामा यस्तो फलामे छड अर्थात् रड बनाउने धेरै उद्योग सञ्चालनमा छन् । हामी गएको ट्रक सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको ठीक अगाडि गएर रोकियो । त्यहाँ काठमाडौंबाट गएको हाम्रो ट्रक मात्रै थिएन । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको ठीक बाहिर यस्ता २० वटाभन्दा बढी ट्रक रोकिइराखेको थियो । यी सबै ट्रकमा कवाडी सामान लोड गरिएको थियो र उनीहरू सबै पालो पर्खिएर बसेका थिए । 

सिमरामा रहेको जगदम्बा स्टिल उद्योग देशकै सबैभन्दा ठूलो स्टिल उद्योग रहेछ । यहाँ देशैभरबाट कवाडी सङ्कलन गरी लगिँदो रहेछ र देशैभरबाट सङ्कलित कवाडी अर्थात् थोत्रा फलामलाई पगालेर फलामे डन्डी अर्थात् छड बनाएर फेरि देशका विभिन्न स्थानमा पठाइँदो रहेछ ।

देशैभर सबैभन्दा बढी बिक्री हुने भनेर दाबी गरिएको जगदम्बाको फलामे डन्डी त पटक पटक प्रयोग गरिसकिएको थोत्रा फलामलाई पुनः पगालेर बनाइएको कमजोर छड पो रहेछ । 


 

मदन ढुङ्गाना

रातोपाटीमा स्थानीय निकाय र समसामयिक विषयमा लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ