कविता : नयनाभिराम धैर्य
– इन्द्रकुमार श्रेष्ठ सरित
प्रत्येक रातले दिन पर्खी बसेको हुन्छ
तर भन्न सकिन्न
यो पर्खाइ कति लामो हुन्छ
कति पल, कति घडा
कति दिन, कति रात
भन्न सकिन्न यो पर्खाइ
कति जुगको हुन्छ
तैपनि धारामा थापेर थुन्से
प्रत्येक बिहानीलाई पर्खिनु छ
बितोस जति बिहानी बिते पनि
बितोस जति युग नै बित्छ भने पनि
आशाको थुन्से समाउन
थुन्सेसँगै गाग्री राख्न
किन छाड्थ्यो र मनले
आशाले कति कति दिन्छ निराशा
माघकै पाहारिलो घाम छेकिदिन्छ
निर्दयी बादलुले
तैपनि मन आशालु न हो
बलैले चिसो सिरेटो सहेर बस्छ
बादललाई च्यातचुत पारेर घाम
फेरि कसो देखा नपर्ला ?
आशा चारैतिर गुन्जिन्छ आशा नै आशा
ध्वनि हो कि यो प्रतिध्वनि
तैपनि लाग्छ–
मुर्चुङ्गा र खैंजडीसँगै सहनई बजिरहेछ
वनमा कतै प्वाँख फिँजाएर मयूर छमछमी नाचिरहेछ
आम्मै ! कति जब्बर छ यो रातको कालो दाग
हट्न मान्दैन, पटक्कै घोटिँदैन
तर धैर्यको अघिल्तिर
अधैर्य कहाँ र कहिले टिकेको छ र !
आशा छ, आशाले विश्वासको
गुराँस सिउरेर एक दिन भन्नेछ–
ए श्रुतिमधूर आशा ! ए नयनाभिराम धैर्य !
लु म आएँ, अब आइ नै सकेँ है
अब मलाई न्यानो अँगालोमा बाँध
चुँडाएर स्नेहको बन्धन
म कतै जान लागे पनि
विश्वासको हर्पेमा मलाई बन्द गरेर राख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै